Butwal Today

मुख्य याममा सौराहामा पर्यटक घटे

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

चितवन । 

विगतका वर्षमा यति बेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यति बेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् ।

मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निराशा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताए ।

गत वर्ष यति बेला होटलका ८० प्रतिशत कोठा भरिने गरेका उल्लेख गर्दै यस वर्ष ५० प्रतिशतभन्दा कम कोठा बुक भएका उनको भनाइ छ ।

अध्यक्ष पाण्डेले भने, “एकदमै राम्रो पर्यटकीय याममा पनि किन पर्यटक आएनन् हामी सोच मग्न छौँ ।” यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डी फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ ।

मौसमका हिसाबले पनि गर्मी र जाडो दुवै नहुने भएकाले सबैका लागि उपयुक्त यही समय हो । सबै हिसाबले राम्रो भए पनि विदेशी पर्यटक न्यून मात्र आउँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । सौराहामा मात्र नभएर देशभरको अवस्था उस्तै रहेको अध्यक्ष पाण्डेले बताए ।

उनले भने, “पर्यटक नआउनुको कारण खोज्नुपर्ने भएको छ ।”

सङ्घका उपाध्यक्ष गुणराज थपलिया निर्वाचनका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको सङ्ख्यामा कमी आएको बताउँछन् । निर्वाचनपछि पर्यटक बढ्ने उनले अपेक्षा गरे ।

होटल व्यवसायी सुमन घिमिरे निर्वाचनको मुखमै पर्यटकको आगमनमा कमी आएको बताउँछन् । विशेष अवस्थामा निर्वाचन हुन लागेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय जगतमा यहाँको अवस्था शान्तिपूर्ण छ भन्ने सन्देश पुग्न जरुरी भएको बताए।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा गत वर्ष यति बेला दैनिक चार खेप गर्ने हात्तीले अहिले एक खेप मात्र गर्ने गरेको बताए । पर्यटकको आगमनमा कमी आएपछि व्यावसायिक रूपमा पालिएका हात्तीका सञ्चालक प्रभावित भएका छन् ।

रेष्टुरेन्ट व्यवसायीसमेत रहनुभएका खतिवडाका अनुसार पर्यटक नआएपछि सौराहाका रेष्टुरेन्टमा प्रत्यक्ष प्रभाव परेको छ । मुख्य मौसममा पर्यटक घटेपछि पर्यटकीय गतिविधिमा काम गर्ने समग्र व्यवसाय प्रभावित भएको उनले बताए ।

बनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपाने सौराहामा यो मौसममा पर्याप्त पर्यटक आउने भए पनि यस वर्ष कमी आएको बताए । होटल क्षेत्रमा लामो अनुभव सँगाल्नु भएका उनले पर्यटक आउनेमा आशावादी छन् ।

सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रूपमा ६ हजार ४०० जनाले रोजगारी पाएको छ । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघ, घडीयाल गोहीलगायतका दुर्लभ  वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

यसका अतिरिक्त सौराहामा थारु संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछ । यसका साथै नेपालका विभिन्न सङ्घ संस्था कार्यक्रम गर्न सौराहा आउँछन् भने भारतीय नागरिक बढी मात्रामा यहाँ आउने गर्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?