© 2026
भैरहवा, ६ फागुन ।
रुपन्देही–३ बाट स्वतन्त्र उम्मेदवार बनेका गोपाल भण्डारी ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहरा लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
“शुद्ध स्वतन्त्र उम्मेदवार”का रूपमा प्रचारमा रहेका भण्डारीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी समर्थनको निर्णय सार्वजनिक गरेका हुन् । उनले बोहरालाई समर्थन गरे पनि आफू राप्रपा प्रवेश नगरेको स्पष्ट पारे । धार्मिक तथा सामाजिक सङ्घ संस्थासँगको आबद्धता, परिवार र शुभेच्छुकहरूको सल्लाहअनुसार यो कदम चालिएको उनको भनाइ छ ।
वैदिक सनातन हिन्दु राष्ट्र पुनः स्थापना, राजसंस्थाको आवश्यकता र सङ्घीयताको खारेजीजस्ता विषयमा समान दृष्टिकोण रहेकाले समर्थन गरेको उनले बताए । साथै, आफ्ना समर्थकलाई राप्रपाको चुनाव चिन्ह ‘हलो’मा मतदान गर्न अपिल गरेका छन् ।
यसैबिच राप्रपाका उम्मेदवार गौरव बोहराले आफू राजनीतिमा गफ गर्न नभई ठोस काम गर्न आएको बताएका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै उनले ‘सुशासनको पाइलट’ बनेर क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाए ।
पेसाले वरिष्ठ पाइलट रहेका बोहराले रुपन्देहीको विकासलाई प्राथमिकता दिने उल्लेख गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरी रोजगारी सिर्जना गर्ने योजना अघि सारे । साथै, भैरहवास्थित भीम अस्पताल लाई १०० शैयामा स्तरोन्नति, किसानका लागि सिँचाइ र बजार सुनिश्चित तथा पर्यटन पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता जनाए ।
“रहरले होइन, जिम्मेवारीबोधले राजनीतिमा आएको हुँ,” उनले भने, “स्वर्गीय पिता दीपक बोहरा को योगदानलाई सम्मान गर्दै आफ्नै कार्यक्षमता र इमानदारिताका आधारमा जनताको सेवा गर्नेछु ।”