Butwal Today

भारतका वित्त राज्यमन्त्रीसँग लुम्बिनी प्रेस क्लबद्वारा भेटघाट 

४ फाल्गुन २०८२, सोमबार
अ+
अ-

भैरहवा ४ फागुन |

लुम्बिनी प्रेस क्लबको टोली ले भारत सरकारका केन्द्रीय वित्त राज्यमन्त्री पङ्कज चौधरीलाई महराजगञ्जमा भेटघाट गरी नेपाल–भारत सीमा क्षेत्रको आर्थिक तथा संस्थागत सहकार्य सुदृढीकरणसम्बन्धी काम गर्न आग्रह गरेको छ।

महराजगञ्जस्थित पत्रकार भेटघाट कार्यक्रममा सीमा क्षेत्रको आर्थिक विकास, औद्योगिक लगानी, पर्यटन प्रवर्द्धन तथा पत्रकारिता क्षेत्रको सहकार्यका विषयमा काम गर्नका लागि सुझाव पत्र समेत  हस्तान्तरण गरेको प्रेस क्लबले जनाएको छ |

लुम्बिनी प्रेस क्लबका  अध्यक्ष कमल रायमाझीले सीमावर्ती क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न भारत सरकारको विशेष पहल आवश्यक रहेको धारणा राखेका थिए ।

प्रेस क्लबले हस्तान्तरण गरेको सुझाव पत्रमा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजमा भारतीय लगानीमा उद्योग स्थापना तथा सञ्चालनका लागि सहजीकरण गर्न आईसिपि लाई पूर्ण रूपमा सञ्चालनमा ल्याई रेल सेवा विस्तार गर्न, तथा सीमापार पर्यटन प्रवर्द्धनका लागि विशेष योजना ल्याउन आग्रह गरिएको छ।

त्यसै गरी, लुम्बिनी, बोधगया, सारनाथलाई समेटेर बौद्ध सर्किटको समग्र विकास गर्न विशेष पहल गर्नुपर्नेमा जोड दिइएको छ। साथै, पत्रकारिता क्षेत्रको पेसागत विकासका लागि ‘क्रस–बोर्डर जर्नालिज्म एकेडेमी’ स्थापना गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ।

भेटका क्रममा राज्यमन्त्री चौधरीले सीमा क्षेत्रको विकासका विषयमा सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। लुम्बिनी प्रेस क्लबले उक्त पहलले नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?