© 2026
रुपन्देही जिल्लाले नेपालको राजनैतिक वृत्तमा सधैँ चर्चा पाउने गरेको छ ।
लुम्बिनी प्रदेशकै राजनीतिक केन्द्र भएकोले यस जिल्लाले छिमेकी जिल्लाको राजनीतिलाई समेत प्रभावमा राख्न सक्ने भएकोले यस जिल्लामा सबै तहका चुनावहरू विशेष चर्चामा रहेका हुन्छन् । पाँच वटा निर्वाचन क्षेत्र, पहाडी र मधेसी मूलका मतदाताहरूको समान उपस्थिति अनि केन्द्रीय सरकार चलाएका व्यक्तिहरू समेत उम्मेदवार भएकोले रुपन्देहीको चुनावले राष्ट्रिय चुनावमै विशेष अर्थ राख्ने गरेको छ ।
औपचारिक रूपमा चुनावी अभियान सुरु गर्ने समय सुरु नभए पनि दलहरूले आफ्ना उम्मेदवारलाई रुपन्देहीका गाउँवस्तीमा पठाएर प्रत्यक्ष रूपमा सुरु गरिसकेका छन् । विगतमा दलहरूले पाएको मतसंख्याको हिसाब गरेर दलहरूले आफुले पाउन सक्ने भोटको हिसाब किताब गरिरहेका छन् ।
केहि दलले विगतमा आफुले गरेका राम्रा कामहरूको प्रचार गरेर र केहि दलहरूले विगतमा अरू दलले नगरेका कामहरूको कुरा उठाएर मतदातालाई प्रभावमा पार्ने प्रयास गरिरहेका छन् । दलहरूले उठाएका मुद्धाहरूले मात्र मतदातालाई आकर्षित गरेको हुदैन, मतदाताहरूको जनसाङ्ख्यिक अवस्थाले पनि कसलाई भोट दिने भन्ने कुराको निर्धारण गरिरहेको हुन्छ । यस लेखमा दलहरूले वास्ता नगरेकोले जनसाङ्ख्यिक पक्षको बारेमा विश्लेषण गरिएको छ ।
निर्वाचन क्षेत्र अनुसार जनसंख्या र मतदाता संख्या
२०७८ को जनगणना अनुसार रुपन्देही जिल्लाको जनसंख्या ११२१९५७ रहेको छ, यी मध्ये ५५०४७८ जना पुरुष र ५७१४७९ जना महिला रहेका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार यस जिल्लामा फाल्गुन २१ मा मतदान गर्न पाउने जनसंख्या ( मतदाता सुचिमा नाम भएका) ६ लाख ७२ हजार ५२३ मात्र रहेको छ ।
निर्वाचन क्षेत्र अनुसार हेर्दा सबैभन्दा बढी जनसंख्या निर्वाचन क्षेत्र नम्बर २ मा (२६५२०३ जना) र सबैभन्दा कम क्षेत्र न. ४ (२०११२२ जना) रहेको छ भने सबैभन्दा धेरै मतदाता संख्या क्षेत्र न. १ मा ( १४६८२४ मतदाता) र सबैभन्दा कम क्षेत्र न. ४ मा (११६१७२ मतदाता रहेका छन् . । यसैगरी क्षेत्र न. २ मा १३५०५० जना, क्षेत्र ३ मा १४००३५ जना र क्षेत्र ५ मा १३४४४२ जना मतदाता रहेका छन् । जिल्लाको कूल जनसंख्यामा ५०.९३ प्रतिशत महिला भएपनि मतदाताहरूमा ४८.५२ प्रतिशत मात्र महिला मतदाता रहेका छन् ।
पारिवारिक संरचनाः
परिवारको संरचना मतदानमा निर्णायक हुने गरेको छ । संयुक्त परिवार हुँदा त्यस परिवारमा मतदाता संख्या पनि धेरै हुन्छ । यस्तो परिवारमा घरमुलीले जुन उम्मेदवारलाई भोट दिन्छ, अन्य सदस्यले पनि सोहिलाई नै भोट दिने सम्भावना बढी रहन्छ ।
संयुक्त परिवारमा उम्मेदवारले परिवारको एकजनालाई मात्र मनाउन सक्ने हो भने बाँकी सदस्यको मत पाउने सम्भावना धेरै हुने भएकोले उम्मेदवारलाई आफुले पाउने मतको अनुमान गर्न सहज हुन्छ । रुपन्देही जिल्लामा २ लाख ३८ हजार १७१ परिवार बसोबास गर्दछन् ।
रुपन्देहीको क्षेत्र नम्बर २ मा एकल परिवारमा बस्ने जनसंख्या धेरै (५१.७ प्रतिशत) छ भने बाँकी सबै क्षेत्रमा संयुक्त परिवारमा बस्ने जनसंख्या धेरै रहेको छ । संयुक्त परिवारमा बस्ने जनसंख्या क्षेत्र नम्बर १ मा ५७.७ प्रतिशत, ३ मा ५८.४ प्रतिशत, ४ मा ६३.५ प्रतिशत र ५ मा ६०.४ प्रतिशत रहेको छ । पारिवारिक संरचना मात्र नभएर परिवारको नेतृत्वकर्ताको लैंगिक अवस्थाले पनि मतदानमा प्रभाव पर्छ ।
राष्ट्रिय औशत भन्दा महिला परिवारमुली भएका परिवारको अनुपात रूपन्देहीमा बढी छ । निर्वाचन क्षेत्र अनुसार हेर्दा १ मा ३३.२ प्रतिशत, क्षेत्र नम्बर २ मा ४३.९ प्रतिशत, क्षेत्र नम्बर ३ मा २९.६ प्रतिशत, क्षेत्र नम्बर ४ मा १८ प्रतिशत र क्षेत्र नं. क्षेत्र नम्बर ५ मा ३१.५ प्रतिशत परिवारको नेतृत्व महिलाले गरिरहेका छन् । महिला परिवारमुली भएका निर्वाचन क्षेत्रमा महिलाको भोट निर्णायक बन्ने भएकोले यो पारिवारिक अवस्थालाई उम्मेदवारले बुझ्न सक्ने हो उसले धेरै मत हात पार्ने सम्भावना हुन्छ ।
वसोबासको प्रकृतिः
रुपन्देही जिल्ला तीव्र सहरीकरण भैरहेको जिल्लामा पर्छ । यहाँ ६ वटा नगरपालिका र १० वटा गाउँपालिकाहरू रहेका छन् ।
जिल्लाका अधिकांश भूभाग शहरी र अर्ध शहरी क्षेत्रमा बदलिएका छन् । क्षेत्र नम्बर २ मा ७७.३ प्रतिशत र क्षेत्र नम्बर ३ मा ३२.५ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा रहेको छ । क्षेत्र ४ र ५ का क्रमश ९६.५ र ९१.९ प्रतिशत जनसंख्या अर्ध सहरी क्षेत्र भनि वर्गीकरण गरिएको वस्तीमा रहेको छ ।
अर्ध सहरी क्षेत्रमा बस्ने जनसंख्या क्षेत्र १, क्षेत्र २ र क्षेत्र ३ मा क्रमश ८७.२ प्रतिशत, २२.७ प्रतिशत र ६७.५ प्रतिशत रहेको छ । शहरी जनसंख्याले हरेक चुनावमा आफ्नो छनौट परिवर्तन गर्ने प्रवृति भएकोले क्षेत्र नम्बर २ र ३ को मत कता जाला भन्ने कुराको सहज अनुमान गर्न सकिदैन ।
जातीय समुहको प्रभावः
नेपालको कुनैपनि निर्वाचनमा जातीय जनसंख्याको प्रभाव पर्ने गरेको छ । जातीय र क्षेत्रीय पहिचान बोकेर खुलेका दलहरूले चुनाव जित्न खोज्ने आधार भनेकै जातीय जनसंख्या हुन्छ । यी बाहेक ठुला दलहरूले उठाएका उम्मेदवारको जातीय समुहसंग भएको सम्बन्ध र दृष्टिकोणले पनि मतदानमा प्रभाव पर्छ । २०७८ को जनगणना हेर्दा क्षेत्र नम्बर १ र २ मा पहाडी बहुल जनसंख्या रहेको देखिन्छ ।
यो क्षेत्रमा क्रमश ५२ प्रतिशत र ८१ प्रतिशत जनासंल्ख्य पहाडी मुलको छ । क्षेत्र नं. ३ मा ४९.५ प्रतिशत र ४ मा ७२.९ प्रतिशत जनसंख्या मधेसी मुलको छ । क्षेत्र नम्बर ४ र ५ मा धार्मिक समुह ( मुस्लिम र अन्य) को जनसंख्या क्रमश १०.७ प्रतिशत र १२.२ प्रतिशत रहेको छ । क्षेत्र न. २ मा २७.७ प्रतिशत, १ मा २१ प्रतिशत र ३ मा १४ प्रतिशत जनसंख्या पहाडी जनजातिहरूको छ ।
रूपन्देहीमा दलित जनसंख्याको उपस्थिति राम्रो छ । क्षेत्र नं. ४ मा १५.७ प्रतिशत, १ मा १२.८ प्रतिशत र ५ मा १२.७ प्रतिशत जनसंख्या दलितको छ । जनसंख्याको यो आयामलाई बुझ्न सक्ने र त्यसै अनुसार चुनावी रणनीति बनाउन सक्ने दलले धेरै मत तान्न सक्ने निश्चित छ ।
आर्थिक स्तर/सम्पन्नता स्तरः
नेपालमा चुनावमा सबैभन्दा बढी बिक्ने मुद्दा भनेको गरिबी हो । विपन्न जनसंख्या जहाँ बढी छ त्यहा प्रभावित मत बढी हुन्छ भने जहाँ सम्पन्न वर्ग छ त्यहाँ न्यून मतदान हुने सम्भावना रहन्छ । राष्ट्रिय जनगणना अनुसार क्षेत्र नं. २ मा सम्पन्न र अति सम्पन्न समुहमा पर्ने जनसंख्या ९१.९ प्रतिशत छ , यस्तो जनसंख्या क्षेत्र नं. १ मा ७०.८ प्रतिशत, क्षेत्र नं. ३ मा ७६.९ प्रतिशत र क्षेत्र नं. ५ मा ५१.१ प्रतिशत रहेको छ ।
क्षेत्र नं. ४ मा मध्यम र विपन्न स्तरका जनसंख्या ७०.१ प्रतिशत रहेको छ । क्षेत्र १ , क्षेत्र ४ र ५ मा मध्यम सम्पन्नता स्तरमा रहेको जनसंख्या उल्लेख्य भएकोले यस्तो जनसंख्यालाई प्रभावित पार्न सक्नेको पोल्टामा नै धेरै भोट खस्न सक्छ ।
साक्षरताः
साक्षर जनसंख्याले आफ्ना समस्याहरू केलाउन र उम्मेदवारका स्वार्थहरू विश्लेषण गर्न र बुझ्न सक्छ । जहा साक्षरता धेरै हुन्छ त्यस्तो क्षेत्रमा मतदाताहरू बढी अपेक्षामुखी हुन्छन र आफ्नो अपेक्षा पुरा नभएपछी तत्कालै आफ्नो मत दिने धारणा परिवर्तन गर्न सक्छन् ।
साक्षरता दर बढी भएको जिल्लामा विजेता परिवर्तन हुने एउटा कारण यो पनि हो । २०७८ को जनगणनाको आधारमा रुपन्देहीको १५ वर्ष माथिको जनसंख्यालाई हेर्दा क्षेत्र नं. २ र ३ को साक्षरता दर क्रमश ८९.९ प्रतिशत र ८०.४ प्रतिशत छ ।
साक्षरताको पुछारमा क्षेत्र ४ र ५ रहेका छन्, जहाँको साक्षरता दर क्रमशः ६२.२ प्रतिशत र ७१.६ प्रतिशत रहेको छ । रुपन्देहीको क्षेत्र नं. २ र ३ मा मतदाता चलायमान हुने र बाँकी क्षेत्रमा मतदाता परम्परागत प्रकृतिको रहने साक्षरताको अवस्थाले सङ्केत गर्दछ ।
जन्मस्थानको आधारमा जनसंख्याः
रुपन्देही जिल्ला उच्च आप्रवासन हुने जिल्लाहरू मध्येमा पर्छ । जिल्लाको उत्तरी क्षेत्रमा पहाडबाट बसाई सरेर आउने प्रवृति २००७ पछि नै सुरु भएको थियो, जुन अहिले अझ तीव्र छ । खासगरी शहरी र सहरोन्मुख क्षेत्रमा बसाईसराई उच्च छ ।
२०७८ को जनगणना प्रतिवेदन विश्लेषण गर्दा रुपन्देहीको मुख्य शहर बुटवल रहेको निर्वाचन क्षेत्र नं. २ मा ५४.९ प्रतिशत जनसंख्या बाहिरि जिल्लामा जन्मिएर आएको देखिन्छ । यस्तो जनसंख्या क्षेत्र नं. १ , ३ र ५ मा क्रमश २८.५ प्रतिशत, २२.७ र १९.३ प्रतिशत मात्र छ ।
क्षेत्र नं. ४ को ८८.१ प्रतिशत र क्षेत्र नं ५ को ७६ प्रतिशत जनसंख्या यहि जिल्लामा नै जन्मिएको जनगणनाले देखाएको छ । शहरी क्षेत्रमा जनसंख्या धेरै देखिने प्रचार प्रसारमा पनि धेरै देखिने तर मतदान गर्न भने आफ्नै जन्मस्थानमा जाने प्रवृति कायमै छ ।
यसले प्रचार प्रसारको बेलामा आफ्नो वरिपरी भिड देखेर उत्साहित हुने उम्मेदवारलाई ढोका हुन सक्छ । रुपन्देही जिल्लाका सबैं निर्वाचन क्षेत्रहरू जनसाङ्ख्यिक रूपमा विविधतापूर्ण छन् । जनसंख्याका विभिन्न आयामहरूले कसलाई भोट दिने भन्ने कुराको निर्णयमा प्रत्यक्ष प्रभाव पर्छ । दलहरूले मतदाताका विविधताहरू अध्ययन गरि उनीहरूका मुद्धालाई बोक्न सके भने मात्र मत परिणाम आफ्नो अनुकूल आउन सक्छ ।
सबै क्षेत्रमा सबै मतदातालाई समान रूपमा हेरियो भने दलका प्रतिवद्धताले मतदातालाई नछुने सम्भावना धेरै हुन्छ । रुपन्देहीका निर्वाचनमा होमिएका दल र उम्मेदवारहरू बेलैमा जनसंख्याको संरचनाहरू बुझेर आफ्नो चुनावी र राजनैतिक अभियान थालुन्– अहिलेलाई यत्ति मात्र भन्न सकियो ।