© 2026
भैरहवा । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका प्रज्जवल बोहराले आफ्नो मुख्य योजना सार्वजनिक गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका उनले आइतबार धकधइमा आयोजित एक कार्यक्रमका बीच आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिएका हुन्।
पार्टीको मूल दर्शन “भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो” भन्ने कुरालाई उनले दोहोर्याएका छन्। सरकारी सेवालाई डिजिटल बनाउने र बजेट खर्च गर्दा पूर्ण पारदर्शिता अपनाउने उनको योजना छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना पूरा गर्ने र स्कुलहरूमा हुने राजनीतिक हस्तक्षेप बन्द गर्ने उनले बताएका छन्। त्यस्तै, रामनरेश यादव विद्यालयलाई क्याम्पस बनाएर सस्तोमा गुणस्तरीय शिक्षा दिने उनको सोच छ।
धकधई स्वास्थ्य केन्द्रलाई विशेषज्ञ अस्पताल बनाउने र हरेक पालिकामा एम्बुलेन्स तथा दमकलको व्यवस्था गर्ने उनले वाचा गरेका छन्। पर्यटन र विकासका योजना तर्फ उनले रोहिणी नदीको संरक्षण गर्ने, मैनीहवामा पक्की पुल बनाउने, बुद्धको मावली क्षेत्र देवदहलाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीय स्थल बनाउने, किसानका लागि समयमै मल, बीउ र सिँचाइको प्रबन्ध गर्ने जनाएका छन ।
स्वर्गीय नेता दीपक बोहराका छोरा प्रज्जवलले आफ्नो पेशा-व्यवसाय छोडेर राजनीतिमा आएको बताउँदै अबको पुस्तालाई ‘चिल्ला नारा’ भन्दा पनि ‘परिणाम’ चाहिएको उल्लेख गरेका छन्। युवाहररुले देश छोड्नुपर्ने बाध्यता हटाउनु नै आफ्नो पहिलो काम हुने उनको भनाइ छ।
उनले भने “दशकौंदेखिको पुरानो शैलीबाट युवा पुस्ता आजित भइसकेको छ। अब हामीलाई ठोस काम र सुशासन चाहिन्छ।” उनले सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्ने र मुलुकको विकासका लागि नयाँ पुस्ता, दल र राजसंस्थाबीच सहमति हुनुपर्ने धारणा राख्दै ‘हलो’ चिह्नमा मतदान गर्न आग्रह समेत गरेका छन्।