Butwal Today

मर्चवारीमाई मन्दिर भित्र नपसी बाहिरै घण्टी बजाएर फर्किए बालेन

२ फाल्गुन २०८२, शनिबार
अ+
अ-

भैरहवा । कुनै पनि सार्वजनिक व्यक्तित्वको गरिमा उसलाई हेर्न र सुन्न आतुर जनताको उपस्थितिले झल्काउँछ। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शनिबार रुपन्देहीको मर्चवारीमाईमा जुन व्यवहार प्रदर्शन गरे, त्यसले उनीप्रतिको ’क्रेज’ माथि मात्र होइन, उनको संवेदनशीलतामाथि पनि गम्भीर प्रश्न उठाएको छ।

मर्चवारीमाई गाउँपालिका वडा नम्बर ६ मा रहेको प्रसिद्ध मर्चवारी देवी मन्दिरको दर्शनका लागि बालेन आउने खबरले बिहानैदेखि स्थानीय समर्थक र कार्यकर्तामा उत्साह थियो। फागुनको गर्मी र आफ्नो दैनिक कामकाज छोडेर करिब ३ घण्टादेखि सयौँको संख्यामा शुभचिन्तकहरु बालेनको स्वागतका लागि मन्दिर परिसरमा कुरिरहेका थिए।

विडम्बना, जब बालेन मन्दिर पुगे, उनले न त मन्दिर भित्र प्रवेश गरेर दर्शन गरे, न त बाहिर कुरिरहेका आफ्ना समर्थकहरूसँग संवाद नै गरे। मन्दिरको गेटसम्म पुगेर ’घण्टी’ मात्र बजाई उनी त्यहाँबाट सरासर फर्किए।

“हामी केवल भीड मात्र हौं?” बालेनको यो रहस्यमयी र रुखो व्यवहारले त्यहाँ उपस्थित कार्यकर्ताहरुलाई स्तब्ध बनाएको छ। घण्टौं कुरेर पनि आफ्नो नेतालाई नजिकबाट देख्न वा दुई शब्द सुन्न नपाउँदा समर्थकहरुले अपमानित महसुस गरेका छन्।

“हामी उहाँको दर्शन गर्न र समर्थन जनाउन आएका थियौँ, तर उहाँले त सामान्य शिष्टाचार समेत देखाउनुभएन। जनतालाई सडकमा कुराएर ढोकाबाटै फर्किनु कस्तो खालको नेतृत्व हो?“ – एक स्थानीय आक्रोशित समर्थकले भने।

३ घण्टासम्म धैर्यतापूर्वक पर्खने जनतालाई एक शब्द पनि नभनी फर्किनुले बालेनको पपुलिस्ट छविको अर्को पाटो देखाएको छ। मन्दिरको हातासम्म पुगेर दर्शन नगरी फर्कनुलाई कतिपयले धार्मिक आस्थामाथिको हल्कापनका रुपमा समेत अर्थ्याएका छन्। मन्दिरका पुजारी शम्भुशरण दास लगायत बालेनलाइ दर्शन र पूजा गराउन लामो समयदेखि प्रतिक्षारत थिए । “ यो मन्दिरको मात्र अपमान हैन यहाँ उपस्थित सयौ श्रद्दालुहरुको भावना माथिको खेलवाड भएको”-उनको प्रतिकृया थियो ।

नयाँ भनिएको पार्टीका वरिष्ठ नेताको यस्तो व्यवहारले पुराना दलका नेताहरू र उनीहरूबीच के भिन्नता छ त भन्ने प्रश्न उब्जाएको छ। राजनीतिमा जनता नै जनार्दन हुन्।

मर्चवारीका जनताले बालेनलाई देखाएको मायाको बदलामा उनले देखाएको उपेक्षाले आगामी दिनमा उनको र उनी समर्थित उम्मेदवारको राजनीतिक यात्रालाई कस्तो असर पार्छ, त्यो हेर्न बाँकी छ। तर, शनिबारको घटनाले बालेन शाहको ’अहंकारी’ शैलीको एउटा नमिठो तस्विर पक्कै प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?