© 2026
गुल्मी ।
आगामी फागुन २१ गते हुने गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हातहतियार प्रहरीमा बुझाउन आग्रह गरे पनि सबै हतियार प्रहरीमा आउन सकेका छैनन् ।
जिल्ला प्रशासनले निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्लाभित्र रहेको इजाजतप्राप्त हतियार तथा खरखजना माघ १५ गतेभित्र नजिकको प्रहरी एकाइमा बुझाउन आग्रह गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण अधिकारीका अनुसार यो समाचार तयार पार्दासम्म ५६ जनाले मात्र हतियार बुझाएको बताएका छन् । जिल्लामा पहिले र पछिल्लो समयमा गरी दर्ता भएका ७२ हतियार मध्ये सबै नआएकाले उनीहरूलाई फोन सम्पर्क गर्दै आएको उनको भनाइ छ । दर्ता भएका हतियार निर्वाचनलाई लक्षित गर्दै प्रहरी परिचालन गरेर भए पनि ल्याएरै छाड्ने उनले दाबी गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार यसरी बुझाइएका हतियारहरू निर्वाचन सम्पन्न भएपश्चात् फिर्ता गरिनेछ । प्रशासनले जारी गरेको सूचनालाई अवज्ञा गरे कानुन अनुसारको कारबाही गरेरै छाड्ने प्रशासनले चेतावनी दिएको छ ।