© 2026
गुल्मी ।
गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रवारसम्म जिल्ला प्रशासन कार्यालयबाट १०९ जनाले नयाँ नागरिकता लिँदा १३४ जनाले प्रतिलिपि लिएका छन् ।
नागरिकताको माया नगर्ने बढी जथाभाबी फाल्ने गरेका कारण पनि प्रतिलिपि लिनेको सङ्ख्या बढेको प्रशासनले जनाएको छ । यसका साथै राष्ट्रिय परिचयपत्र बनाउँदा पहिले भएका गल्तीहरू पनि देखिने भएकाले प्रतिलिपि लिनको सङ्ख्या बढेको हुन सक्ने गैरेले बताए ।
यस्तै सोही समय अवधिमा १ जनाले नागरिकता त्याग, नाबालक परिचयपत्र ९ , राहदानीको आवेदन सङ्कलन १४४, राहदानी वितरण १८०, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३९३, राष्ट्रिय परिचयपत्र वितरण २९२, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित २३ र दुई वटा संस्था नवीकरण भएको छ ।
एक हप्ताको समय अवधिमा राहदानीबाट सात लाख २५ हजार, संस्था दर्ता तथा नवीकरणबाट तीन हजार, राष्ट्रिय परिचयपत्रबाट ११ हजार पाँच सय गरी कुल सात लाख ३९ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।