© 2026
बुटवल ।
विज्ञान विषयको प्रदेश सरकारले नमुना विद्यालयको रूपमा घोषणा गरेको बुटवलको कान्ति माध्यमिक विद्यालयमा गत वर्ष कक्षा १२ को परीक्षामा ७५ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण भए ।
३.९६ जिपिए ल्याएका प्रज्वल पन्थी नेपालकै सबैभन्दा बढी जिपिए ल्याएका विद्यार्थी हुन् । पूर्ण छात्रवृत्तिमा नाम निकालेका उनी स्नातक तहमा थापाथलीमा अध्ययन गर्दै छन् ।
कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार गत वर्ष मात्रै उक्त विद्यालयबाट ६८ जनाले नेपाल सरकारले तोकेका विभिन्न छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । एमबिबिएस, इन्जिनियरिङ, बिडिएस, बिबिएस लगायतका विभिन्न सङ्कायमा सफल भएका हुन् ।
उक्त विद्यालयमा हाल विज्ञान सङ्कायमा मात्रै एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा ५ सय जना, १२ मा ५ सय जना गरी एक हजार भन्दा बढी विज्ञान सङ्कायमा अध्ययनरत छन् भने विद्यालयमा बाल कक्षादेखि कक्षा १२ सम्म ५ हजार ९ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
कान्ति मावि बुटवल–४ मा २००८ मा स्थापित गणेश विद्या भवन प्राइमरी स्कुल र जनता विद्या भवन प्राइमरी स्कुलको एकीकरण गरी २ पुस २०१० देखि ‘गणेश जनता विद्या भवन’ प्राथमिक विद्यालयको नामबाट सुरु भएको कान्ति माविले २०१६ मा मिडिल स्कुल, २०२६ मा हाई स्कुल हुँदै २०६४ देखि कक्षा ११–१२ को कक्षा पनि सञ्चालन गर्दै आएको छ ।
विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाका विभिन्न विषयहरूको अध्यापन भइरहेको छ । विद्यालयमा ११५ शिक्षक, कर्मचारी रहेको प्रधानाध्यापक ज्ञवाली बताउँछन् । कान्तिले २०६५ बाट खुल्ला विद्यालय कार्यक्रम सञ्चालन गरेको छ ।
औपचारिक शिक्षा प्राप्तिको लागि दैनिक विद्यालय नै जना नपाउनेहरूको लागि जम्मा एक महिना ५ दिनको सम्पर्क कक्षा चल्छ । त्यसरी भर्ना भएका विद्यार्थी अन्तिम परीक्षामा सहभागी भई कक्षा बढोत्तरी हुने अवसर पाउँछन् ।
वि.सं. २०७५ सालदेखि बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कान्ति माविले खुल्ला विद्यालयको अवधारणा अनुसार अध्यापन गर्दै आएको हो । खास गरी नियमित विद्यालय जान नपाउने विद्यार्थीहरूको लागि विशेष कक्षा सञ्चालन गरी नियमित जस्तै शिक्षा प्रदान गर्दै आएको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको कान्ति मावि रुपन्देही जिल्लाको एक मात्र खुला विद्यालय हो । यसले विद्यालयको औपचारिक शिक्षा पूरा गर्न नसकेका विद्यार्थीलाई पढ्ने अवसर प्रदान गरेको छ ।
विद्यालयको पहुँचदेखि टाढा रहेका मानिसलाई ठुलो गुन लगाएको छ । यस विद्यालयबाट गृहिणी, मजदुर, सेना, प्रहरी, दलित जनजाति र सीमान्तकृत समुदायका व्यक्तिले अधुरो पढाइलाई पूरा गर्न पाएका छन् ।
यसले शिक्षाको पहुँचमा नभएका व्यक्तिलाई शैक्षिक अवसर दिएको छ । खास गरी कुनै तह वृद्धि गरेर जागिर बढुवा हुन चाहनेहरूको लागि समेत यो विद्यालयले ठुलो भूमिका निवाह गर्दै आएको छ ।
प्रधानाध्यापक ज्ञवालीका अनुसार खुला विद्यालय अवधारणा अनुसार कक्षा ६ देखि १० सम्मको अनुमति विद्यालयले पाएको भएता पनि अहिले भने कक्षा ८ र १० मा मात्रै विद्यार्थी भर्ना गरेर कार्यक्रम चलाउँदै आएको छ ।
प्रधानाध्यापक ज्ञवालीका अनुसार वि.सं. २०६५ सालबाट सुरुवात भएको खुला विद्यालय अवधारणा अनुसार कुनै वर्ष ६ सय ६० जना विद्यार्थीले भर्ना भएर एसएलसी दिएका थिए । गत वर्ष सोही अवधारणा अनुसार ८५ जना विद्यार्थीले एसइई दिएकोमा ३० जना पास भएका थिए ।
अहिले कक्षा ८ मा १० जना र कक्षा १० मा २५ जना भन्दा बढी विद्यार्थी भर्ना भैसकेका छन् । खास गरी गृहिणी वा नियमित विद्यालय आउन नसक्ने कुनै पेसा वा व्यवसायमा लागेका व्यक्तिहरूले खुला विद्यालय अवधारणा अनुसार भर्ना भएर परीक्षा दिने र उत्तीर्ण हुन पाउने व्यवस्था गरिएको छ ।
कान्ति माविले २०६५ सालबाट खुला विद्यालयतर्फ कक्षा १० सञ्चालन गर्ने अनुमति प्राप्त गरेको थियो ।
कान्ति खुला विद्यालयमा वर्षमा ३५ दिन (१७५ घण्टा) सम्पर्क कक्षा सञ्चालन गरिन्छ । जसमा विद्यालयले एक पुष्ठ रूपमा विद्यालयको पाठ्यक्रम अनुसार शिक्षण गरिन्छ । यसरी शिक्षण कार्यक्रममा सहभागी भएका विद्यार्थीहरू अन्य नियमित विद्यार्थीहरूले जस्तै परीक्षामा सहभागी हुन पाउँछन् ।
विद्यार्थीको लागि स्वअध्ययन सामग्री उपलब्ध गराइन्छ र सम्पर्क कक्षामा छलफल गरिन्छ । उपस्थिति, गृहकार्य, परियोजना कार्य, आन्तरिक परीक्षा आदिका आधारमा आन्तरिक मूल्याङ्कन गरिन्छ । यस विद्यालयमा चौध वर्ष पूरा भएका कक्षा ६ मा, पन्ध्र वर्ष पूरा भएका कक्षा ८ मा र सोह्र वर्ष पूरा भएका कक्षा १० मा भर्ना हुन पाउँछन् ।
कान्ति माविले ‘२०७१ को एसइई परीक्षामा साबिक पश्चिमाञ्चल प्रथम र २०७३ को एसइईमा लुम्बिनी प्रदेश प्रथम तथा २०७६ को कक्षा ११ को नतिजामा सामुदायिक विद्यालयतर्फ नेपाल प्रथम बन्न सफल भएको हो । कक्षा ११ र १२ मा कानुन र विज्ञान विषयमा आकर्षण रहेको विद्यालयमा २२ जिल्लाका विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
बुटवलको कालिकानगरस्थित कालिका मानव ज्ञान मावि शिक्षण सिकाइको असल अभ्यास र सञ्चालनको तौरतरिकामा निरन्तर अब्बल बन्दै देशकै उत्कृष्ट सामुदायिक विद्यालयको उपमा पाएको छ ।
कालिका मान ज्ञानले अवलम्बन गरेको असल अभ्यास देशका धेरै सामुदायिक विद्यालयको सिकाइका लागि पनि राम्रो उदाहरण बनिरहेको छ । कालिका मानव ज्ञान गरिब वर्गदेखि सम्भ्रान्त वर्गसम्म र कमजोरदेखि प्रतिभाशाली विद्यार्थीसम्मको रोजाइको केन्द्र पनि बन्दै आएको छ ।
२०७१ देखि निरन्तर उत्कृष्ट बन्दै आइरहेको यस विद्यालयको नेतृत्व, सामूहिकतामा विश्वास गर्ने शिक्षक, विद्यालयको नेतृत्वलाई सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक र समुदायबिचको प्रभावकारी समन्वयले नै उत्कृष्टताको मानक हो ।
कालिका मानव ज्ञानको सफलताको मुख्य शक्ति शिक्षकको ‘टिम वर्क’ अनि मेहनत र विद्यार्थीमा भविष्यप्रतिको लगाव नै हो । प्रधानाध्यापक दिनेश थापा पनि यसमा स्पष्ट छन् । विद्यालयको आफ्नो शैक्षिक दैनिकी, विद्यार्थीप्रति समर्पित प्रशासन, पेसाप्रति लगनशील शिक्षक, अनुशासित र मेहनती विद्यार्थीको कसिलो सम्बन्धका कारण यो मावि निरन्तर सफल बनिरहेको उनले बताए ।
‘जहाँ शिक्षक सकारात्मक ऊर्जाका साथ कक्षाकोठा प्रवेश गर्छन् र विद्यार्थी रमाउँछन्, त्यही नै विद्यालयको सफलता हो,’ प्रधानाध्यापक थापाले भने ।
कलिका मानव ज्ञान माध्यमिक विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । सामुदायिक विद्यालयमा देशकै उत्कृष्ट विद्यालयको रूपमा नाम कमाउन सफल भएको छ ।
सामान्य शिक्षामा नर्सरीदेखि कक्षा १२ सम्मको शिक्षा कालिकामा छ । कक्षा १–५ पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा र कक्षा ६–१२ अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा पढाइन्छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र कम्प्युटर इन्जिनियरिङ सङ्कायमा अध्यापन हुँदै आएका छन् । प्राविधिक शिक्षामा कक्षा ९–१२ सम्म कम्प्युटर इन्जिनियरिङ अध्यापन हुँदै आएको हो ।
कलिका मानव ज्ञान माध्यमिक विद्यालयलाई नेपाल सरकारबाट मोडेल सामुदायिक विद्यालयको रूपमा मान्यता प्राप्त छ । हामीलाई गर्व छ कि कलिका मानव ज्ञानलाई अन्तर्राष्ट्रिय विद्यालयको रूपमा स्थापित गर्न सफल भएका छौँ, किनभने यसले ब्रिटिस काउन्सिलबाट “इन्टरनेशनल स्कुल अवार्ड २०१६–१९” प्राप्त गरेको छ ।
प्राविधिक एसएलसी २०७१ र एसइई २०७४ मा लगातार नेपाल प्रथम हुँदै राष्ट्रिय ध्वजा समेत विद्यालयले प्राप्त गरेको छ । सामान्य शिक्षा क्षेत्रतर्फ २०७३ मा नेपाल प्रथम, वि.सं. २०७४ मा राष्ट्रिय तेस्रो स्थान प्राप्त गरेको छ ।
कलिका मानव ज्ञान माध्यमिक विद्यालयले धेरै पुरस्कारहरू प्राप्त गरेको छ । यसले लगातार चार्टड रिपोर्ट अनुसार नेपालमा शीर्ष विद्यालयको रूपमा ९३.५ अङ्क प्राप्त गरेको छ । हालै, २०८२ मा तेस्रो केन्द्रबिन्दु शिक्षा उत्कृष्टता पुरस्कारको रूपमा कालिका पुरस्कृत भएको हो ।
बुटवल–१० कालिकानगरमा रहेको कालिका मानव ज्ञान माविमा लुम्बिनी प्रदेशका १२ सहित देशका झन्डै ७० जिल्लाका ७ हजार ९ सय ३५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भौतिक पूर्वाधार विकास पनि उत्तिकै लोभलाग्दो छ ।
प्राविधिकतर्फ २०७० देखि २०७५ सम्म निरन्तर देशकै पहिलो भएको विद्यालयले २०७३ मा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय स्कुल अवार्ड पाएको थियो । यहाँ साधारणतर्फ ७ हजार ७ सय ४३ र प्राविधिक धारतर्फ १ सय ९२ जना अध्ययनरत छन् ।
विद्यार्थीका लागि १२ वटा भवन ब्लक, १ सय ५७ कक्षाकोठा, ६ वटा अतिरिक्त कक्षाकोठा, २ वटा खेलमैदान, एक बाल उद्यान, ८ वटा विज्ञान प्रयोगशाला, ६ वटा कम्प्युटर ल्याब, ललितकला ल्याब, डिजिटल ल्याब र इलेक्ट्रिक ल्याब, २ वटा पुस्तकालय, वाचनालय, एक कार्यक्रम र सभा हल, शौचालय ८२ वटा, ५१ वटा प्रोजेक्टर र आवश्यकताअनुसारका स्मार्ट बोर्डको व्यवस्था गरेको छ ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार एमबिबिएसमा मात्र २० जना, इन्जिनियरिङमा २४ जनासहित अहिले ९५ जनाले पूर्ण छात्रवृत्तिमा पढिरहेका छन् ।
२०१८ मा बुटवलको योगीकुटीमा विश्वशान्ति नेपाल राष्ट्रिय प्राविका नाममा स्थापित विद्यालय २०२९ मा कालिका स्कुलमा परिणत भयो । २०३२ मा माविको स्वीकृति, २०६५ मा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ को स्वीकृति, २०६७ मा सोही तहमा विज्ञान विषय थप, २०७० मा कम्प्युटर इन्जिनियरिङ र २०७३ मा कानुन विषय थप गरेको थियो ।
कालिका मावि र २०४१ मा बुटवलकै रामनगरमा स्थापित मानव ज्ञान मावि २०७५ मा एक आपसमा गाभिएपछि कालिका मानव ज्ञान माविमा रूपान्तरित भएको छ ।
‘सामूहिक योजना: सामूहिक कार्यान्वयन’ भन्ने मूल मन्त्रका साथ अघि बढेको विद्यालयमा अहिले ३५० शिक्षक–कर्मचारी छन् । असल अभ्यास र शैक्षिक उपलब्धिको लागि विद्यालयमा २ सहायक प्रधानाध्यापक, १२ जना इन्चार्ज, ३८ जनाको अनुगमन समिति समेत छ ।
प्राविधिक क्षेत्रको पढाइलाई प्राथमिकतामा राखेर अध्यापन गराइरहेको बुटवलकै नवीन औद्योगिक कदरबहादुर रिता माविमा ५ हजार ६४ विद्यार्थी छन् ।
विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ सिभिल इन्जिनियरिङको पढाइ हुन्छ । कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा पनि अध्यापन हुँदै आएको छ ।
गत वर्ष कक्षा १२ को नतिजामा विद्यालयबाट कुल ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । जसमा व्यवस्थापन संकायका विद्यार्थी माधव खनाल र राजीव यादवले ३.९४ समान जिपिए ल्याएका थिए । माधव खनाल व्यवस्थापन सङ्कायमा स्नातक तह पढिरहेका छन् भने राजीव यादव एमबिबिएसतर्फ उत्कृष्ट ५५ नम्बर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए ।
वि.सं. २०३३ मा बुटवल–११ देवीनगरमा स्थापना भएको विद्यालयमा ५८ जिल्लाका विद्यार्थी छन् । विद्यालयमा १ सय ८४ शिक्षक–कर्मचारी छन् । यहाँ कक्षा ११ र १२ मा व्यवस्थापन, सिभिल इन्जिनियरिङ, विज्ञान, होटेल म्यानेजमेन्ट, कानुन र शिक्षा समूहमा अध्यापन हुन्छ । विद्यालयले ब्रिटिस काउन्सिलद्वारा इन्टरनेशनल स्कुल अवार्ड २०१७–२०२० र २०२१–२०२४ प्राप्त गरेको थियो ।
विद्यालयबाट कक्षा १२ को परीक्षामा वि.सं. २०७६ मा सहभागी विद्यार्थी अपेक्षा चौधरीले ४ जिपिए ल्याएकी थिइन् । वि.सं. २०६७ सालमा कक्षा १० को नतिजामा लगातार ३ वर्षसम्म ८० प्रतिशत भन्दा बढी नतिजा ल्याउन सफल भएकोमा नेपाल सरकारबाट ८ लाख रुपैयाँ विद्यालयले प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत बताउँछन् ।