© 2026
कास्की ।
पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बङ्गलादेशले २–० गोलले पराजित गरेको छ ।
बङ्गलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोल नै भारतलाई हराउन पर्याप्त रह्यो । खेलको २९ औँ मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले गोल गरेर अग्रता बनाएका थिए ।
यसै गरी खेलको ४० औँ मिनेटमा अल्पी अक्तरले बङ्गलादेशका लागि गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोलले पछि परेको भारतले खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन ।
दुई खेलमा जित हासिल गरेपछि बङ्गलादेश जारी प्रतियोगिताको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । बङ्गलादेशले ६ अङ्क जोड्दा समान खेल खेलको भारत तीन अङ्कसहित दोस्रो स्थानमा छ । लिग चरणको आजको अर्को खेल घरेलु टोली नेपाल र भुटानबिच हुँदै छ । यी दुवै टोलीले पहिलो खेलमा पराजित भएका थिए ।
नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।