© 2026
अर्घाखाँची, १८ माघ ।
पछिल्लो समय शेयर शिक्षा लिने र कारोबार गर्नेको सङ्ख्या बढ्दो छ ।
शेयर बजारबाट नै ज्ञान भएमा घरमै बसेर पैसा कमाउन सकिने देखिएपछि शेयर शिक्षा लिने बढेको पाइन्छ । बुटवलमा शाखा रहेको कलश स्टक मार्केट ब्रोकर नं. ७४ ले अर्घाखाँचीको सन्धिखर्क र गुल्मीको तम्घासमा गरेको शेयर शिक्षा कार्यक्रममा उत्साहपूर्वक उपस्थिति देखियो ।
शेयर शिक्षा तालिमको उद्घाटन गरेका सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले देशको समग्र आर्थिक गतिविधि चलायमान बनाउन शेयर बजार अनिवार्य रहेको बताए । उनले भने ‘अब मोबाइलमा टिकटक चलाउने होइन, घरघरमा बसेर पैसा कमाउन शेयर कारोबार गर्नुहोस्, नगरपालिकाले चाहिने तालिम उपलब्ध गराउँछ ।’ बुटवलको ब्रोकर नं. ७४ कलश स्टक मार्केटले सुरु गरेको तालिम सुरु भएको बताउँदै हजारौँको सङ्ख्यामा सबैलाई शेयर शिक्षा दिने प्रतिबद्धता पनि जनाए ।’
अर्घाखाँचीमा साथी सहकारी संस्था अर्घाखाँचीको आयोजना, जिल्ला सहकारी सङ्घ लिमिटेड अर्घाखाँचीको समन्वय तथा कलश स्टक मार्केट ब्रोकर नम्बर ७४ को प्राविधिक सहयोगमा सन्धिखर्कमा आयोजित वित्तीय साक्षरता तथा शेयर शिक्षा तालिम सहभागीहरूले सेयर बजारलाई ग्रामीण तहसम्म विस्तार गर्न सकेर ज्ञान हासिल गरेमा घरमै बसेर आम्दानी गर्न सकिने बताए ।’
तालिममा सहभागी गोविन्द भट्टराईले भने ‘शेयर बजारबारे धेरै ज्ञान थिएन, तालिमपछि धेरै कुरा सिक्न पाइयो, लगानी गर्न सकेमा युवाहरूलाई समयको सदुपयोग सँगै आम्दानीको बाटो शेयर बजार रहेको बताए ।’
जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रकाश भुसालले अहिलेको समयमा शेयर बजार अपरिहार्य रहेको बताउँदै सदस्यहरूलाई शिक्षा दिनका लागी शेयर तालिम सञ्चालन गरेको बताए ।
कलश स्टक मार्केटका बुटवल शाखा प्रमुख कमल पौडेल, शेयर विश्लेषक राजन सुवेधी र चिरञ्जीवी पौडेलले शेयर बजारका प्राविधिक ज्ञानहरूबारे जानकारी गराएका थिए ।
शाखा प्रमुख पौडेलका अनुसार कलश स्टक मार्केटले विभिन्न माध्यमबाट विश्वभरका लगानीकर्तालाई लक्षित गरी वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
सहकारीका अध्यक्ष रुद्रप्रसाद श्रेष्ठको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, संस्थाका उपाध्यक्ष डिलाराम भुसाल र सचिव विष्णु बन्जाडेले विचार व्यक्त गरेका थिए । तालिममा सन्धिखर्कमा ३०० र गुल्मीको तम्घासमा १०० जनाको उपस्थिति रहेको थियो ।