© 2026
भैरहवा, १२ माघ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले रुपन्देही जिल्लालाई फेरि एक पटक राजनीतिक ध्यानको केन्द्रमा ल्याएको छ । यस पटकका मुख्य प्रतिस्पर्धीहरू फरक पृष्ठभूमि, अनुभव र नेतृत्व शैलीको प्रतिनिधित्व गर्छन् ।
चिकित्सक, विद्यार्थी नेता, स्थानीय प्रशासनिक नेतृत्व र राजनीतिक विरासत बोकेका उम्मेदवारहरू अहिले क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धामा रहेका छन् । सबैको आफ्नै दाबी छ, आधार छ ।
जेनजी आन्दोलनपछि बदलिँदो परिस्थितिको कारण मतदाताहरू पनि अन्योलमा रहेका छन् । बर्षौंदेखि आबद्ध रहेको पार्टीका उम्मेदवारलाई मत दिने कि उठिरहेको परिवर्तनको आवाजलाई मजबुत बनाउने विषयमा मतदाताहरूको भिन्न भिन्न प्रतिक्रिया रहेको छ ।
रुपन्देही–३ मा मुख्य प्रतिस्पर्धीहरू डा. लेखजंग थापा (रास्वपा), सुशील गुरुङ (नेपाली काँग्रेस), पाइलट गौरव बोहोरा (राप्रपा) र वासुदेव घिमिरे (नेकपा एमाले) रहेका छन् ।
यी सबै यस क्षेत्रको लागि नयाँ अनुहार हुन् । उनीहरूका फरक दृष्टिकोण र रणनीतिले पनि निर्वाचनलाई रोचक र चुनौतीपूर्ण बनाएको छ ।
डा. लेखजंग थापा: विशेषज्ञता र सेवामुखी नेतृत्व
सिद्धार्थनगर–९, अञ्चलपुरका डा. लेखजंग थापा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही–३ का उम्मेदवार बनेका छन् । उनी वरिष्ठ न्युरोलोजिस्ट, समाजसेवी र स्वास्थ्य क्षेत्रका विद्वानका रूपमा परिचित छन् ।
“स्वास्थ्य र सुशासनमा सुधार ल्याउनु मेरो पहिलो प्राथमिकता हो । चिकित्सकको अनुभवले जनताको सेवा र नीति निर्माणमा स्पष्ट दृष्टिकोण दिन्छ,” डा. थापा भन्छन् ।
भैरहवामा नियमित रूपमा सातामा दुई दिन बिरामीको सेवा दिँदै आएका थापाले स्थानीय समुदायमा विश्वासिलो छवि बनाएका छन् । “डा. थापाले यहाँको स्वास्थ्य सेवा सुधार्न सधैँ सक्रिय रहे ।
उनी अब संसद्मा पनि त्यही सेवा मनसाय लिएर जान्छन्”, एक स्थानीय मतदाता भन्छन्, “अहिले रास्वपा परिवर्तनको संवाहक बनेको छ, यस कारण थापाको उपस्थिति बलियो बनेको छ ।”
डा. थापाको चुनावी रणनीति सेवामुखी र विज्ञतामा आधारित छ । उनी जनताको भरोसा र स्वास्थ्य क्षेत्रमा देखिएको योगदानलाई मतदानको केन्द्रबिन्दु बनाउने योजना बनाएका छन् । तर थापाको लागि यात्रा भने त्यति सहज छैन ।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचन परिणाम हेर्ने हो भने समानुपातिकतर्फ रास्वपाले क्षेत्र नम्बर ३ बाट १४ हजार १५४ मत पाउँदा प्रत्यक्ष तर्फ ५७९६ मत मात्र प्राप्त गरेको थियो ।
अहिले अवस्था भने केही फेरिएको छ, नयाँ मतदाता थपिएका छन् । रास्वपाको रुझान पनि पहिला भन्दा बढी देखिएको छ ।
वासुदेव घिमिरे: स्थानीय नेतृत्वबाट सङ्घीय अनुभवसम्म
रुपन्देही–५ बाट सांसद रहिसकेका नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरे स्थानीय प्रशासनमा अनुभव लिएर सङ्घीय तहमा आएका नेता हुन् । “सांसदभन्दा पहिले म जनप्रतिनिधि हुँ ।
जनताको आवश्यकता र विकास मैले बुझेको छु र यही मेरो मुख्य प्राथमिकता हो,” घिमिरे भन्छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख हुँदा उनले देखाएको प्रशासनिक क्षमता र सेवा प्रवाह सुधारले स्थानीय मतदातामा सकारात्मक प्रभाव पारेको छ ।
एक स्थानीय शिक्षक भन्छन्, “घिमिरेको काम गर्ने शैलीले हामीलाई भरोसा दिएको छ । उनले समस्या व्यक्तिगत रूपमा होइन, समाधानको रूपमा हेर्छन् ।”
उसो त रुपन्देही क्षेत्र नम्बर ३ नेपाली काँग्रेस र नेकपा एमालेको बराबर पकड रहेको क्षेत्रमा परिचित छ । २०७९ सालको निर्वाचनमा दीपक बोहराले तत्कालीन गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणलाई हराउँदा उनलाई एमालेको सहारा चाहिएको थियो ।
२०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ एमालेको सहकार्यमा बोहराले ३६ हजार ७१७ मत पाउँदा बालकृष्ण खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ एमालेले क्षेत्र नम्बर ३ मा ९६ हजार ९ सय ८६ मत प्राप्त गरेको थियो ।
सुशील गुरुङ: विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वको आकाङ्क्षी
रुपन्देही–३ बाट नेपाली काँग्रेसका उम्मेदवार सुशील गुरुङ लामो राजनीतिक र सामाजिक अनुभव लिएर आएका नेता हुन् । स्थानीय मतदाताले उनको सङ्गठनात्मक क्षमता र समाजसेवी छविलाई उच्च मूल्याङ्कन गरेका छन् ।
स्थानीय व्यापारी वसन्त कुमार लाल कर्ण भन्छन्, “गुरुङले विद्यार्थी राजनीतिदेखि लिएर सामाजिक सेवा र पार्टी नेतृत्वसम्म निरन्तर योगदान दिएका छन् । उनी विश्वास योग्य उम्मेदवार हुन् ।”
विकास, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकता दिनु आफ्नो लक्ष्य रहेको बताउँदै जनताको आवाज सुन्नु र सङ्गठन सुदृढ गर्ने अभियान सहित मैदानमा उत्रेको गुरुङको भनाइ छ ।
गुरुङलाई क्षेत्र नम्बर ४ का सङ्गठित नेपाली काँग्रेसका मतदाताहरूको ठुलो अपेक्षा रहेको छ । गएको निर्वाचनमा पनि समानुपातिकतर्फ काँग्रेस क्षेत्रको ठुलो पार्टी रहेको कारण अहिले त्यसको फाइदा आफूलाई हुने उनको तर्क रहेको छ ।
गत प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनमा समानुपातिक तर्फ नेपाली काँग्रेस २० हजार २७९ मत पाएर सबै भन्दा ठुलो पार्टी बनेको थियो ।
पाइलट गौरव बोहोराः राजनीतिक विरासत र नयाँ अनुहार
रुपन्देही–३ बाट राप्रपा उम्मेदवार पाइलट गौरव बोहोरा स्व. दीपक बोहोराका जेठा छोरा हुन् । गौरवले राजनीतिक विरासत र युवा प्रतिनिधित्वलाई चुनावी बलको रूपमा प्रयोग गर्ने योजना बनाएका छन् ।
तर, उनी पहिलो पटक चुनावी मैदानमा आएको हुँदा अनुभवी प्रतिस्पर्धी र बदलिँदो मतदाताको अपेक्षाले चुनौती दिनेछ । स्थानीय मतदाता भन्छन्, “गौरवले बुवाको काम जारी राख्ने कि नयाँ दृष्टिकोण दिने भन्ने हाम्रा लागि निर्णायक छ ।”
उनको बढ्दो उत्साह र युवा मतदाताको समर्थन रहेको कारण राप्रपा एक्लै पनि यस क्षेत्रमा बलियो रहेको आङ्कलन यसका कार्यकर्ताको छ ।
स्वयम गौरव पनि आफू युवा भएको कारण युवाहरूको आवश्यकता महसुस रहेको बताउँछन् । “हवाई यात्रुको सुरक्षा जस्तै, अब जनताको भविष्यको सुरक्षा मेरो जिम्मेवारी हो । म यो विश्वास र जिम्मेवारी निभाउन चाहन्छु,” गौरव भन्छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ अन्य क्षेत्रहरूको तुलनामा राप्रपाको राम्रो पकड भएको क्षेत्रको रूपमा चिनिएको छ । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट भएको प्रतिनिधित्वले पनि राप्रपाको पकडलाई पुष्टि गरेको छ ।
२०७९ सालको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ क्षेत्र नम्बर ३ बाट ९ हजार १८३ मत प्राप्त गरेको थियो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा ३६ जनाले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार अनुसार १७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने राजनैतिक दलका १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बाँकी उम्मेदवारहरूलाई पनि कम आङ्कलन गर्न नमिल्ने मतदाताहरूको भनाइ छ । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका फैज अहमद खाँन पनि बलियो प्रतिस्पर्धीको रूपमा देखिएका छन् ।
जातीय मत तान्न सक्ने आङ्कलन फैजको सबैभन्दा बलियो आधार हो । २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादीले समानुपातिकतर्फ २ हजार ६३७ मत मात्र प्राप्त गरेको गरेको थियो ।
क्षेत्र नम्बर ३ मा यी ५ जना मुख्य प्रतिस्पर्धीहरूको बिचको भिडन्तले निर्वाचनलाई रोचक बनाएको छ । चार जना नै नयाँ अनुहार भएको कारण कोहीलाई कसैभन्दा कम आङ्कलन गर्न मिल्दैन ।
मतदाताको प्राथमिकता केवल उम्मेदवारको व्यक्तित्वमा नभई, पार्टी समर्थन, स्थानीय सेवा र विश्वासमा पनि निर्भर रहेको कारण परिणाम भने कसको पक्षमा आउने छ त्यो भने निर्वाचन पछि मात्र थाहा हुनेछ ।
यो निर्वाचन केवल प्रतिनिधित्वको परीक्षा नभई नेतृत्वको चरित्र, नीति प्राथमिकता र अनुभवको मूल्याङ्कन पनि रहेको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा २०७९ सालमा १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा अहिले बढेर १ लाख ४० हजार ३५ जना पुगेको छ ।
क्षेत्रमा ४६ वटा मतदान स्थल अन्तर्गत १५७ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्यालले जानकारी दिइन् ।