Butwal Today

घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु

९ माघ २०८२, शुक्रबार
अ+
अ-

भैरहवा, ०९ माघ । नेपालमा सङ्घीयता कार्यान्वयनमा आएपछि जिल्ला समन्वय समितिको भूमिकालाई लिएर धेरै प्रश्नहरू उठे, कतिपयले यसलाई काम नभएको निकाय समेत भने ।

तर, रुपन्देही जिल्ला समन्वय समितिले यस्ता प्रश्नहरूको जवाफ बोलीबाट होइन, ‘घुम्ती बैठक’ को एउटा नव प्रवर्तनात्मक अभ्यासबाट दिएको छ । २०७९ माघ १० गते देवदह नगरपालिकाबाट सुरु भएको यो अभियान अहिले नेपालकै नमूना विकास मोडलका रूपमा स्थापित हुँदै छ ।

रूपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूलाई एउटै टेबुलमा राखेर साझा समस्या सुल्झाउने यो अभियानका सूत्रधार हुन् जिल्ला समन्वय समिति, रूपन्देहीका प्रमुख उमाकान्त चपाईं ।

चपाई २०७९ जेठ २ गते पदस्थापन भए देखि नै घुम्ती बैठकको पक्षमा रहे पनि मात्रबाट मात्रै बैठक सुरु भयो । हालसम्म २८ वटा बैठकहरू सम्पन्न भइसकेका छन् । जिसस प्रमुख चपाईका अनुसार देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका, गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा २/२ पटक बैठक बसेको छ ।

यस्तै सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, बुटवल उपमहानगरपालिका र जिल्ला समन्वय समितिको हलमा १ पटक बैठक सम्पन्न भएको छ ।

प्रमुख चपाईं भन्छन् “हामीले निर्वाचनपछि सबै जनप्रतिनिधिबीच परिचय मात्र होइन, प्रत्येक पालिकाका असल अभ्यास र समस्याहरू साटासाट गर्ने उद्देश्यले यो अभियान थालेका हौँ । अहिले यो बैठक साझा एजेन्डा तय गर्ने बलियो थलो बनेको छ ।”

यस अभियानले केवल छलफल मात्रै गर्दैन, परिणाम पनि देखाउँछ । जिल्लाको मुख्य टाउको दुखाइ बनेको छाडा पशु चौपाया व्यवस्थापनका लागि यो टोलीले बर्दिया, बाँके र दाङसम्म पुगेर अनुगमन ग¥यो । फलस्वरूप, अहिले सियारी र बुटवल लगायतका पालिकामा व्यवस्थापनको काम सुरु भई खेतीपातीको क्षति कम भएको छ ।

मर्चवारी गाउँपालिकाका अध्यक्ष गया बरईले अहिले रूपन्देहीमा मलखादको वितरण सुधारोन्मुख बन्दै गएको बताउँछन् । घुम्ती बैठकमा यसबारे छलफल भई वितरणलाई प्रभावकारी बनाउन सहयोग मिलेको उनको भनाइ छ ।

“घुम्ती बैठकमा साझा छलफल मात्र हैन एउटा पालिकाको अनुकरणीय कामको प्रशंसा साथै सिकाई पनि हुन्छ”, बरईले भने, “नेपालमै हामीले पहिलो पटक सुरु गरेको यो बैठक अहिले अन्य जिल्लामा पनि सुरु हुँदै गरेको सकारात्मक खबरहरू आइरहेका छन् ।”

फोहोरमैला व्यवस्थापनमा पनि घुम्ती बैठकले ठोस पहल गरेको छ । लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगरमा ठेक्का प्रक्रिया अघि बढेको छ भने सैनामैनामा जग्गा प्राप्तिको समस्या हल भई ३–४ वटा पालिकाको फोहोर व्यवस्थापन हुने निश्चित भएको छ ।

घुम्ती बैठकले असारे विकासको रोगलाई पनि निको पार्दै लगेको छ । चपाईंका अनुसार, वार्षिक कार्ययोजना बनाएर समयमै काम सक्ने दबाब र प्रोत्साहन दुवै यो बैठकले दिन्छ । “गत वर्ष देवदह र कञ्चनले जेठ मसान्तभित्रै सबै योजनाका चेक काटेर असारमा शून्य भुक्तानी गरे, यो हाम्रो ठूलो सफलता हो,” उनी उत्साहका साथ सुनाउँछन्, “यो वर्ष पनि पुस मसान्तभित्रै उपभोक्ता समिति सम्झौता र तालिम सक्ने लक्ष्यका साथ सबै पालिकाहरू क्रियाशील थिए, तर निर्वाचनले केही असर गरेको छ ।”

बैठकले एउटा अर्को लोभलाग्दो संस्कारको सुरुवात गरेको छ । “हाम्रो कार्यालय, हाम्रो सरसफाई, हाम्रो जिम्मेवारी” अभियान अन्तर्गत महिनाको एक दिन (५ गते) कार्यालय प्रमुखदेखि सहयोगीसम्म मिलेर सरसफाई गर्ने गरिन्छ । जिसस कार्यालयबाट सुरु भएको यो अभियान अहिले जिल्ला प्रशासन र विद्यालयहरूमा समेत सकारात्मक बनेको छ ।

कृषि प्रधान जिल्ला भएकोले किसानका समस्यालाई विशेष प्राथमिकता दिइएको छ । पारीबाट महँगोमा मल ल्याउनुपर्ने र बिचौलियाको मारमा पर्ने किसानलाई राहत दिन किसान सेवा कार्ड लागू गरिएको छ । कञ्चन र सियारीले यो काम पूरा गरिसकेका छन् भने बुटवल बाहेकका अन्य पालिका असारसम्म कार्ड वितरण गरिसक्ने प्रणमा छन् ।

बैठकमा अधिकांश पालिकाका प्रमुख र उपप्रमुखहरूको उत्साहजनक उपस्थिति रहने गरेको छ । यद्यपि, कार्य व्यस्तताका कारण बुटवल र तिलोत्तमाका प्रमुखहरूको उपस्थिति भने न्यून रहने गरेको चपाई बताउँछन् । तर, ती पालिकाबाट उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिताले समन्वयलाई भने निरन्तरता दिएको उनको भनाइ छ ।

मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले रूपन्देहीको यो घुम्ती बैठक केवल औपचारिक भेटघाट मात्र नभई स्थानीय सरकारहरूबीचको प्रतिस्पर्धा, सहकार्य र सद्भावको सेतु बनेको बताए ।

“एउटा कार्यालयले राम्रो गर्दा अर्कोले पनि सिक्नुपर्छ भन्ने भावना यसले विकास गरेको छ”, उनले भने, “जिसस प्रमुख उमाकान्त चपाईंको यो पहलले संघियतामा समन्वयकारी निकाय कति शक्तिशाली र सहयोगी हुन सक्छ भन्ने बलियो उदाहरण पेश गरेको छ ।”

जिल्ला समन्वय समितिको अगुवाईमा रूपन्देहीमा प्रत्येक महिनाको १० गते घुम्ती बैठकको आयोजना हुने गरेको छ । रूपन्देहीका जनप्रतिनिधिहरूका साझा एजेण्डा बुझ्न तथा प्रत्येक पालिकामा असल प्रयास र त्यहाका राम्रा कामका अनुशरण गर्ने गरि घुम्ती बैठकको आयोजना गर्ने गरिएको छ ।

यस्तो प्रकारको घम्ती बैठक नेपालमै पहिलो पटक रूपन्देहीमा गरिएको जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईको दावी छ ।