© २०२३
भैरहवा, ६ माघ ।
रुपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. लेखजंग थापा पछिल्ला वर्षहरूमा चिकित्सा क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका एक फरक र प्रभावशाली व्यक्तित्वका रूपमा चिनिँदै आएका छन् ।
वरिष्ठ न्युरोलोजिस्टका रूपमा स्थापित नाम बनाइसकेका थापाले सुशासन, सामाजिक न्याय र विज्ञतामा आधारित राजनीतिको पक्षमा उभिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका लिएका हुन् ।
डा. थापाको शैक्षिक पृष्ठभूमि अत्यन्तै सुदृढ छ । उनले पोखराको मनिपाल कलेज अफ मेडिकल साइन्सेसबाट एमबिबियस, चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट एमडी पूरा गरेका छन् । साथै, अटिजमसम्बन्धी अध्ययनमा उनले साउथ एसियन युनिभर्सिटीबाट पिएचडी हासिल गरेका छन् ।
हालै सन् २०२४ मा उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट सेफ्टी क्वालिटी लिडरशिप एन्ड इन्फोरमेटिभ विषयमा स्नातक अध्ययन पूरा गरेर आफ्नो अन्तर्राष्ट्रिय शैक्षिक पहिचानलाई थप मजबुत बनाएका छन् ।
व्यावसायिक श्रपमा डा. थापा हाल काठमाडौँको महाराजगन्जस्थित नेसनल न्युरो सेन्टरमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत छन् । उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन् । स्ट्रोक (पक्ष घात) जस्तो गम्भीर स्वास्थ्य समस्याबारे जनचेतना फैलाउने र उपचार प्रणाली सुधार गर्ने अभियानमा उनी विगत लामो समयदेखि सक्रिय छन् ।
काठमाडौँमा व्यस्त कार्य तालिका हुँदाहुँदै पनि उनले विगत डेढ दशकदेखि हप्ताको दुई दिन आफ्नै गृह जिल्ला रुपन्देही (भैरहवा) पुगेर बिरामीको सेवा गर्दै आएका छन्, जसले स्थानीय स्तरमा उनको सेवामूलक छविलाई अझ बलियो बनाएको छ ।
२०८० साल असारमा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएसँगै डा. थापाको राजनीतिक यात्रा औपचारिक रूपमा सुरु भयो ।
सफल चिकित्सा पेसालाई थाती राखेर राजनीतिमा आउनु उनको लागि सजिलो निर्णय थिएन, तर देशको शासन प्रणाली सुधार्न विज्ञ र इमानदार व्यक्तिहरू राजनीतिमा आउनुपर्छ भन्ने विश्वासले उनलाई यो बाटोमा डो¥याएको उनी बताउँछन् ।
रास्वपा भित्र भएको ‘प्राइमरी इलेक्सन’ मा ९ जना आकाङ्क्षीलाई पछि पार्दै उनले सर्वाधिक मत ल्याएर रुपन्देही–३ बाट प्रतिनिधि सभा उम्मेदवार बन्ने अवसर पाए ।
२०८२ सालमा हुने भनिएको उपनिर्वाचन विभिन्न राजनीतिक घटनाक्रमका कारण स्थगित भए पनि रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट डा. थापालाई उम्मेदवारका रूपमा निरन्तरता दिएको छ ।
पार्टीभित्र उनी ‘विज्ञ उम्मेदवार’ को छविमा परिचित छन् । उम्मेदवारी घोषणासँगै उनको व्यक्तिगत जीवनलाई लिएर केही विवाद पनि सार्वजनिक भए । बहुविवाहसम्बन्धी प्रश्न उठेपछि उनले कानुनी डिभोर्स कागजात सार्वजनिक गर्दै स्पष्टीकरण दिएका थिए । यस विषयमा उनले पारदर्शितालाई नै आफ्नो राजनीतिक मूल्य ठान्ने बताएका छन् ।
स्वास्थ्य क्षेत्रको सुधार, सुशासन, सामाजिक न्याय र विशेषज्ञताको सम्मान गर्ने राजनीति डा. लेखजंग थापाका मुख्य एजेन्डा हुन् । चिकित्सकका रूपमा आर्जेको अनुभव र स्थानीय स्तरमा गरेको निरन्तर सेवाले उनलाई रुपन्देहीको राजनीतिमा एक भरोसायोग्य अनुहार बनाउँदै लगेको छ । चिकित्सा क्षेत्रबाट सांसदसम्मको उनको यात्रा नेपाली राजनीतिमा नयाँ प्रकारको नेतृत्वको सङ्केतका रूपमा हेरिएको छ ।