© २०२३
भैरहवा, ५ माघ ।
विश्वकै आस्थाको केन्द्र लुम्बिनी आउने पर्यटकहरू अब आधिकारिक जानकारी र पथ प्रदर्शनका लागि अन्योलमा पर्नु नपर्ने भएको छ ।
लामो समयको पर्खाइ र तयारीपछि लुम्बिनीको प्रवेशद्वार मानिने महिलवार चोक (गेट नम्बर ५) नजिकै अत्याधुनिक पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ ।
आइतबार आयोजित एक समारोहका बिच लुम्बिनी सांस्कृतिक नगरपालिका, पर्यटन बोर्ड, युएनडिपी र एसटीपीको संयुक्त लगानी तथा प्रयासमा निर्मित यस केन्द्रको विधिवत् सुरुवात गरिएको छ ।
लुम्बिनी होटल सङ्घ नेपालले सञ्चालनको जिम्मेवारी लिएको यस केन्द्रमा पर्यटकहरूले आफ्नो अनुकूल भाषामा जानकारी पाउनेछन् । सङ्घका अध्यक्ष लीलामणि शर्माका अनुसार केन्द्रमा नेपाली, अङ्ग्रेजी, हिन्दी र स्थानीय भाषामा दक्खल राख्ने सूचना अधिकृतहरू उपलब्ध हुनेछन् ।
“विगतमा सूचनाको अभावले पर्यटकहरू अलमलमा पर्ने गरेका थिए, अब अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिबाट बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा प्रवाह गरिनेछ,” शर्माले बताए सूचना केन्द्रको व्यवस्थापन र दिगोपनका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका र होटल सङ्घबिच सम्झौता भएको छ ।
नगरपालिकाले भवनको मर्मत सम्भार र रेखदेख गर्नेछ भने सङ्घले दैनिक सञ्चालनको भार वहन गर्नेछ । नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले निजी क्षेत्रलाई रचनात्मक बन्न आग्रह गर्दै भनिन्, “नगर विकासका लागि हामी सधैँ सहकार्य गर्न तयार छौँ, यो सूचना केन्द्र त्यसकै एउटा कडी हो ।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले विगतमा अव्यवस्थित रहेको संरचनालाई अहिले चिटिक्क पारेर सञ्चालनमा ल्याउनु ठुलो उपलब्धि भएको बताइन् ।
कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले २२ वर्षअघि आपको रुखमुनि टेबल राखेर सूचना बाँडेको दिन सम्झँदै अहिलेको सुधारप्रति खुसी व्यक्त गरे ।
यद्यपि, उद्घाटन समारोहमा बोल्दै भिक्षु सागर धम्मले लुम्बिनीको विकास बाह्य रूपमा मात्र नभई स्थानीयको जीवनस्तरसँग जोडिनुपर्नेमा जोड दिए । “सम्पदा स्थलमै बसेर पनि स्थानीय जनता गरिबीमा बाँच्नुपर्ने अवस्था अन्त्य गर्न नगरपालिका र विकास कोषले ठोस योजना ल्याउनुपर्छ,” उनले भने ।
पर्यटक सूचना केन्द्र बिहान ७ः०० देखि बेलुका ७ः०० बजेसम्म सञ्चालन हुनेछ । बहुभाषी सूचना अधिकृत, पर्यटकीय स्थलहरूको नक्सा र आधिकारिक जानकारी सहित लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको समन्वयमा सूचना अधिकृतहरूलाई तालिमको व्यवस्था समेत गरिएको लुम्बिनी होटल सङ्घका अध्यक्ष लिलामणि शर्माले जानकारी दिए ।
यो सूचना केन्द्र सञ्चालनमा आएसँगै लुम्बिनीको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने र पर्यटकको बसाई थप सहज हुने विश्वास गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालय लुम्बिनीले आर्थिक वर्ष २०८०/८१ मा पर्यटन सूचना केन्द्रको निर्माण सुरु गरेको थियो ।
१३ लाख ६३ हजार ७४४ रुपैयाँमा केन्द्र २०८० सालमै निर्माण सम्पन्न भए पनि विविध कारणले अहिले मात्र सञ्चालनमा आएको हो ।