Butwal Today

यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ?

५ माघ २०८२, सोमबार
अ+
अ-

भैरहवा। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मंगलबार मनोनयन दर्ता हुँदै छ ।

मनोनयनलाई व्यवस्थित र सभ्य बनाउन रुपन्देहीका ५ वटै निर्वाचन अधिकृतको कार्यालयहरूले आइतबार सर्वपक्षीय बैठक गरेका थिए । बैठकले राजनैतिक दलहरूलाई मनोनयनको लागि अलग अलग समय तोकेको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार स्वतन्त्र एवम् छुटफुट तथा साना राजनैतिक दलहरुको लागि १० बजेदेखि १२ बजेको समय निर्धारण भएको छ ।

निर्वाचन अधिकृत कपिल पौडेलका अनुसार नेकपा माओवादीलाई १२ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साढे १२ बजे, राष्ट्रिय स्वतन्त्र पार्टीलाई १ बजे, राष्ट्रिय जनमुक्ति पार्टीलाई साढे १ बजे, नेकपालाई १ः५० बजे र जनमत पार्टीलाई २ः१५ बजेको समय तोकिएको छ ।

यस्तै नेपाली काँग्रेसलाई साढे २ बजे, नेकपा एमालेलाई ३ बजे, राष्ट्रिय जनमोर्चालाई साढे ३ बजे, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीलाई ४ बजे र जसपा नेपाललाई साढे ४ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत पौड्यालले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर २ मा भने श्रम संस्कृति पार्टीलाई १० बजे, प्रगतिशील लोकतान्त्रिक पार्टीलाई ११ बजे, नेकपा संयुक्त १२ बजे, जनता समाजवादी पार्टी नेपाल १२ः१५ बजे, राष्ट्रिय जनमुक्ति पार्टी १२ः४५ बजे, नेकपा माओवादीलाई १ बजेको समय तोकिएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए ।

उज्यालो नेपाल पार्टीलाई १ः१५ बजे, नेपाली कम्युनिष्ट पार्टीलाई १ः३० बजे, नेपाली काँग्रेसलाई २ बजे, राष्ट्रिय जनमोर्चालाई २ः३० बजे, राप्रपालाई २ः४५ बजे, नेकपा एमालेलाई ३ बजे, रास्वपालाई ३ः३० बजेको समय तोकिएको न्यौपानेले बताए ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारलाई १० बजे, उज्यालो नेपाल पार्टीलाई ११ बजे, राष्ट्रिय जनमोर्चा पार्टीलाई १२ बजे, राष्ट्रिय स्वतन्त्र पार्टीलाई साढे १२ बजे, नेकपा एमाले १ बजे, लोकतान्त्रिक समाजवादी पार्टी साढे १ बजे, राष्ट्रिय जनमुक्ति पार्टीलाई २ बजेको समय तोकिएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीले साढे २ बजे, नेपाली काँग्रेसले ३ बजे, राप्रपाले ३ः२५ बजे, नेकपा माओवादीले ३ः४० बजे, जनमत पार्टीले ४ बजे नेपाल कम्युनिष्ट पार्टी संयुक्तले साढे ४ बजे र प्रगतिशील लोकतान्त्रिक पार्टीले ४ः४५ बजे समय लिएको बस्नेतले बुटवल टुडेलाई जानकारी दिए ।

रुपन्देही क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत टोप बहादुर विष्टले ४ नम्बर क्षेत्रमा बिहान १० बजे जनमत पार्टीले, १०ः४० बजे उज्यालो नेपाल पार्टीले समय लिएको जानकारी दिए । यस्तै गरि प्रगतिशील लोकतान्त्रिक पार्टीले ११ः२५ बजे, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ः०५ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ः४५ बजे, जनता समाजवादी पार्टीले १ः१५ बजे, राष्ट्रिय जनमुक्ति पार्टी नेपालले १ः४५ बजे,  नेकपा एमाले २ः१५ बजे, नागरिक उन्मुक्ति पार्टी २ः४५ बजे, नेकपाले ३ः१५ बजे, राष्ट्रिय जनमुक्ति पार्टीले ३ः४५ बजे, नेपाली काँग्रेसले ४ बजेको समय लिएको निर्वाचन अधिकृत विष्टले जानकारी दिए ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत गोपी कृष्ण रेग्मीका अनुसार क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारहरूलाई १० बजेको समय तोकिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीलाई ११ बजे, राप्रपालाई साढे ११ बजे, जनमत पार्टीलाई १२ बजे, जसपा नेपाललाई साढे १२ बजे, राष्ट्रिय जनमोर्चा पार्टीलाई १ बजेको समय तोकिएको रेग्मीले बुटवल टुडेलाई जानकारी दिए ।

नेकपालाई साढे १ बजे, नेपाली काँग्रेसलाई २ बजे, नेकपा एमालेलाई साढे २ बजे, रास्वपालाई ३ बजे, उज्यालो नेपाल पार्टीलाई साढे ३ बजे, नेकपा माओवादीलाई ४ बजे, श्रम संस्कृति पार्टीलाई साढे ४ बजे, मङ्गोल नेसनल अर्गानाईजेशनलाई साढे ४ बजेको समय तोकिएको छ ।

सर्वपक्षीय बैठकमा उपस्थित दलहरूले आफूलाई अनुकूल मिल्ने समय निर्धारण गरे पनि बैठकमा उपस्थित नभएको दलहरूले पनि निर्वाचन अधिकृतको कार्यालयहरूसँग सम्पर्क गरि समय लिन सक्ने मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए ।

यस बाहेक १० बजे देखि ५ बजेको समयमा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुग्ने स्वतन्त्र वा कुनै पनि राजनैतिक दलका उम्मेदवारहरूको पनि रितपूर्वक आएको उम्मेदवारी दर्ता गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?