© २०२३
भैरहवा, ४ माघ ।
असार २१ गते राति करिब साढे १२ बजेको समयमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ बस्ने आमाछोरीको अज्ञात समूहले बलात्कार गरी सुनचाँदीका गरगहना, मोबाइल समेत लुटपाट गरी फरार भएको प्रहरीमा उजुरी प¥यो ।
तर प्रहरीले तत्काल उक्त घटनाका आरोपी पत्ता लगाउन सकेन । यसैबिच कार्तिक २३ गते अन्दाजी साढे १२ बजे लुम्बिनी सांस्कृतिक नगरपालिकाकै वडा नम्बर ७ बस्ने ३९ वर्षीय एक महिलालाई लुटेराहरूको एउटा समूहले जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी प-यो ।
लुट्नको लागि आएका लुटेराहरूको समूहले करणी त गरे नै, उक्त घरबाट नगद, सुनचाँदीको गहना, मोबाइल समेत लुटेर लगे । पीडितहरूले तत्काल सो घटनाबारे प्रहरीमा उजुरी गरे पनि संलग्न व्यक्तिहरूको पहिचान गर्न सकेन ।
लुम्बिनी क्षेत्रमा लगातार जबरजस्ती करणी गरी लुटपाट समेतको घटना हुन थालेपछि प्रहरीको बदनामी हुन थाल्यो र यस्ता घटना नियन्त्रण गर्न दबाब पनि बढ्दै गएको थियो ।
यसैबिच मङ्सिर ८ गते फेरि अन्दाजी १२ बजे मायादेवी गाउँपालिका वडा नम्बर ४ झुलनीपुरमा ४६ वर्षीय अनिल कुमार सोनारले सञ्चालन गरेको खुदाबगर सुनचाँदी पसलमा एक जना महिला सहित ५/६ जनाको समूहले लुटपाट ग-यो ।

हातहतियार (पेस्तोल, खुकुरी) सहित आएका व्यक्तिहरूले पसल सञ्चालक अनिल कुमार सोनार र उनको श्रीमती बिन्द्रावती सोनारलाई हतियार देखाएर हातखुट्टा बाँधेर पसलमा रहेको ५३ लाख ७३ हजार ३४३ रूपैयाँ बराबरको सुनचाँदीको गरगहना, मोबाइलहरू समेत चोरी गरी फरार भए ।
मङ्सिर १२ गते फेरि साँझको करिब साढे ७ बजेको समयमा गैडहवा गाउँपालिका वडा नम्बर ३ मङ्गलपुरबाट मतिलाल भट्टराई पसल बन्द गरी घर जाने क्रममा हातहतियार देखाई उनीसँग रहेको मोबाइल, सुनका गहना, नगद समेत चोरी भयो ।
रुपन्देहीमा शृङ्खलाबद्ध डकैती र बलात्कार हुँदै गएपछि प्रहरीले त्यस क्षेत्रमा सक्रियता बढायो । अन्ततः प्रहरीले लुम्बिनी क्षेत्रमा भएको घटनाको ब्रेकथ्रु ग¥यो । अनुसन्धान गर्दै जाँदा प्रहरीले भारत सिद्धार्थनगर जिल्लाको डिहवा बस्ने ५२ वर्षीय रमजान खान सहित ३ जनालाई हतियार र चोरीका सामान सहित फेला पा-यो ।
अनि मात्र लुम्बिनीमा भइरहेको रुपन्देहीमा शृङ्खलाबद्ध डकैती र बलात्कारको घटनाको पर्दाफास भयो । रमजानसँगै भारत सिद्धार्थनगरकै ४२ वर्षीय सञ्जय पासी र गैंडहवा गाउँपालिका वडा नम्बर २ बिचौवापुर बस्ने ३७ वर्षीय दिपु भन्ने दिपेन्द्र कुमार लोहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार उनीहरूबाट २ थान कटुवा पेस्तोल, “स्पेशल लङ्ग रेन्ज कार्टेज” नामक २ राउण्ड, गोली ५ राउण्ड, मोबाइल ११ थान लगायत खुकुरी, डिजिटल तराजु, सुन गलाउन प्रयोग गरिने लाइटर लगायतका समान बरामद गरेको छ ।
पक्राउ परेका रमजान खान लुम्बिनी र यस आसपास भएका सबै घटनामा संलग्न रहेको प्रहरीको दाबी छ । रमजानको समूह घरभित्र लुटपाट गर्न पसे पछि हतियार देखाएर पहिला घरमा भएका महिलाहरूलाई जबरजस्ती करणी गर्ने र पछि लुटपाट गरेर फरार हुने गरेको अभियोग लगाएको छ ।
“रमजान खाँन लगायत ३ जना पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा सबै घटना यही समूहका व्यक्तिहरूले गरेको देखियो”, कार्कीले भने “हामीले विभिन्न प्राविधिक पक्षहरूबाट प्रमाण संलग्न गरी यिनीहरू विरुद्ध जबरजस्ती करणी, सङ्गठित अपराध, डकैती लगायतको मुद्दा दायर गरिएको छ ।”
मङ्सिर ८ गते खुदाबगर सुनचाँदी पसलमा ५३ लाख ७३ हजार ३ सय ४३ रूपैयाँ बराबरका गहना लुटिएको घटनामा रमजान खान सहित राजेश कुमार कहाँर, जहरूल कमर फकिर, सञ्जय पासी, सकिल खान र हिना धोवीसहित ६ जनाको समूह संलग्न रहेको कार्कीले बताए । उनीहरू सबैलाई पक्राउ गरिएको कार्कीले जानकारी दिए ।
यस्तै असार २१ गते महिला र उनकी १४ वर्षीय छोरीलाई हतियार देखाई जबरजस्ती करणी गरी लुटपाट गरिएको घटनामा मुख्य योजनाकारका रूपमा पनि रमजान खानको संलग्नता पुष्टि भएको छ । पीडितले उनलाई सनाखत समेत गरेर किटानी जाहेरी दिएका छन् ।
कार्तिक २३ गते ३९ वर्षीय महिलालाई हतियार देखाई करणी तथा लुटपाट गरिएको घटनामा रमजान खान र सकिल खानविरुद्ध किटानी जाहेरी परेको छ । प्रहरीले अभियुक्तहरूको साथबाट ठुलो परिमाणमा हातहतियार र लुटिएका धनमाल बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूविरुद्ध सङ्गठित चोरी तथा डाँका, जबरजस्ती करणी र हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।
यो समूह गैडहवा गाउँपालिकाको एक घरमा डेरा गरी बसेर सङ्गठित रूपमै विभिन्न वारदातहरू गरिरहेको थियो । लुटिएका धेरैजसो सामानहरू भारतमा बेचिएको र त्यसको पनि खोज बिन जारी रहेको कार्कीले बताए ।
लुकिछिपी बसेर सङ्गठित रूपमा अपराध गर्दै आएको गिरोह पक्राउ परेपछि स्थानीय सुरक्षा व्यवस्थामा ठुलो सफलता मिलेको प्रहरीले जनाएको छ ।