© २०२३
भैरहवाको पर्यटकीय गतिविधिमा नयाँ ऊर्जा थप्ने उद्देश्यका साथ भैरहवा स्थित होटेल गौतम बुद्ध इन्टरनेशनलमा बिहीबारदेखि ‘क्यासिनो रोयल कलिंगा’ विधिवत् रूपमा सञ्चालनमा आएको छ ।
करिब १५ करोड रुपैयाँको प्रारम्भिक लगानीमा सुरु गरिएको यो क्यासिनोले यस क्षेत्रको पर्यटनमा एउटा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।
क्यासिनोका व्यवस्थापक लक्ष्मण बोहराका अनुसार क्यासिनोले स्थानीय अर्थतन्त्रमा ठुलो योगदान पु-याउने लक्ष्य राखेको छ । क्यासिनो सञ्चालनसँगै प्रत्यक्ष रूपमा १५० जनाले रोजगारी पाएका छन् ।
“हाम्रो मुख्य उद्देश्य विदेशी पाहुनाहरूलाई आकर्षित गर्ने र भैरहवालाई एउटा प्रमुख पर्यटकीय हबको रूपमा स्थापित गर्नु हो,” बोहराले भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निकटतालाई ध्यानमा राख्दै होटलको गुणस्तर र क्षमता अभिवृद्धिमा समेत ठुलो लगानी थपिएको छ ।
मौरी सोलुसनका देव खड्काका अनुसार, पछिल्लो समय होटलको सेवा र सुविधालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन थप ३० करोड रुपैयाँ लगानी गरिएको छ । होटल गौतम बुद्ध ईन्टरनेशनललाई ४ तारे होटलको रूपमा स्तर वृद्धि गरिएको छ ।
यो लगानीसँगै होटलले आफ्ना पाहुनाहरूलाई अझ परिष्कृत र अत्याधुनिक सुविधाहरू प्रदान गर्नेछ । सिद्धार्थनगरको लुम्बिनी रोडमा अवस्थित ४ तारे होटल पर्यटक र व्यवसायीहरूका लागि उत्कृष्ट रोजाइ बनेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै नजिक रहेको छ ।
होटलमा अहिले ६० भन्दा बढी सुविधाजनक कोटाहरूसँगै आकर्षक हल, स्पा, स्विमिङ पुल लगायतका सुविधा रहेको होटलका व्यवस्थापक गुणराज मगरले जनाए ।
भैरहवामा पछिल्लो समय क्यासिनो र स्तरीय होटलहरुको विस्तारले विशेष गरी भारतीय र अन्य तेस्रो मुलुकका पर्यटकहरूको बसाइ लम्ब्याउन मद्दत पुगिरहेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएसँगै यस्ता पूर्वाधारहरूले लुम्बिनी क्षेत्रको समग्र आर्थिक विकासमा मेरुदण्डको काम गर्ने होटलका निर्देशक देव खडकाको भनाई छ ।