Butwal Today

सहकारीबाट जन्मियो ‘कृषक प्राङ्गारिक मल उद्योग’

अधिकांश सहकारी संस्थाहरू बचत अपचलन गरेर भागेको, सदस्य ठगेको अवस्थामा रुपन्देहीको सैनामैनाका ८० जना किसानले खोलेको सहकारीले भने करोड लागतमा प्राङ्गारिक मल उद्योग सञ्चालन गरेको छ ।
२९ पुष २०८२, मंगलवार
अ+
अ-

बुटवल, २९ पुस ।

रुपन्देहीको सैनामैनाका व्यावसायिक बाख्रा पालन किसानले वि.सं. २०७८ सालमा सैनामैना नगरपालिका वडा नम्बर १ लखन पारामा युवा व्यावसायिक किसान प्रेम सागर पौडेलको फार्ममा भेला भए ।

व्यावसायिक रूपमा पशुपालन, विशेष गरी बाख्रा पालन गर्दै आएका युवा व्यवसायीहरूको साझा भेलाले फार्ममा उत्पादन भएको बाख्राको बजारीकरणमा ठोस समस्या नभए पनि उत्पादन भएको मल व्यवस्थित रूपमा बजारीकरण गर्ने र खेर जान नदिने योजना बनायो । त्यसैबाट जन्मियो सहकारी रुपन्देहीमा पहिलो पटक ‘लुम्बिनी कृषि तथा पशुपक्षी विकास सहकारी संस्था लिमिटेड ।’

सहकारीको सुरुवाती अगुवाइ प्रेम सागर पौडेलले गरे । नाम मात्रैको सहकारीको अवस्थामा सहकारीले उत्पादनमा जोड दिने गरी मल उद्योग स्थापना गर्ने योजना बनायो ।

२० लाख रुपैयाँ पुँजी भएको सहकारीले करोडभन्दा बढी लागतको मल उद्योग स्थापना गर्ने योजना अघि बढायो । उद्योगमा बाख्राको जुतोबाट अर्ग्यानिक/जैविक मल उत्पादन गरिन्छ, जसमा मलमा पाइने सबै तत्त्व हुने गरी योजना बनाइएको थियो ।

सहकारीका संस्थापक अध्यक्ष प्रेम सागर पौडेलका अनुसार सहकारी संस्था सैनामैना–४ मुर्गियामा छ ।

सुरुवाती दिनमा कुल सेयर सदस्य ३५ जना, कुल पुँजी रु. ८ लाख ७५ हजारबाट सुरु भएको संस्था २०८२ असार मसान्तसम्म कुल सेयर सदस्य ७७ जना, कुल पुँजी रु. २२ लाख ९५ हजार ५ र कुल सम्पत्ति रु. १ करोड २३ लाख ९८ हजार ६८३ बनाउन सफल भएको छ ।

सहकारीका अध्यक्ष सुनिल अर्यालका अनुसार सदस्यहरूको मिहिनेत र सहयोगले यो सम्भव भएको हो । सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार कुशलतापूर्वक संस्था सञ्चालन गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने योजना रहेको उनले बताए ।

अल्पकालीन र दीर्घकालीन उद्देश्य सफल बनाउन विभिन्न नीति–कार्यविधि तयार गरी सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै समाधानतर्फ लैजाने योजना पनि बनाइएको छ ।

“उत्पादित मललाई बजारीकरणको लागि विभिन्न क्षेत्रका व्यवसायी किसानहरू, सरोकारवाला निकाय तथा स्थानीय निकायसँग सम्पर्क र समन्वय गरिएको छ”–अध्यक्ष अर्यालको भनाइ छ ।

सहकारी मार्फत स्थापना भएको मल उद्योगलाई थप व्यवस्थित बनाउँदै लैजानका लागि आर्थिक वर्षमा सञ्चालित दैनिक बचत कार्यक्रमलाई निरन्तरता दिँदै औद्योगिक बचत कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ ।

औद्योगिक लगानी कोष निर्माण गरी कोषलाई औद्योगिक लगानीको रूपमा लगानी गर्ने समेत योजना बनाइएको छ । सहकारीले सैनामैनानगरपालिका वडा नम्बर १ लखन पारामा मल उद्योग स्थापना गरेको छ । उद्योगले अन्य रासायनिक मलको विकल्पका रूपमा प्रयोग गर्न सकिने मल उत्पादन गरिरहेको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा रहेका समस्याहरू दिगो र व्यवस्थित रूपमा समाधान गर्न, कृषि औद्योगीकरण, वित्तीय सबलता, सामाजिक सेवा उपलब्ध गराएर कृषिमा आत्मनिर्भर बनाउने कार्य अघि बढाइरहेको सहकारीका उपाध्यक्ष ईश्वरीप्रसाद भण्डारीले बताए ।

सहकारीले संस्थाको प्रभावकारिता बढाउन सञ्चालक समितिको बैठक नियमित बसेर कृषि व्यवसायमा उत्पन्न समस्याहरू समाधान गर्न विभिन्न निकाय, संघसंस्थासँग समन्वय गर्दै आएको छ । प्राङ्गारिक मल उद्योग अन्तर्गत उद्योग नियमित रूपमा उत्पादन र सञ्चालन भइरहेको छ ।

मुर्गिया कार्यालयबाट उद्योग क्षेत्र निर्माण तथा व्यवस्थापन गरी कार्यालय सारिएको छ । मल उद्योग सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन, कच्चा पदार्थ उत्पादन, सङ्कलन, प्रशोधन तथा आयात गरी उच्च गुणस्तरीय प्राङ्गारिक मल उत्पादन भइरहेको छ ।

उत्पादित मललाई बजारीकरणका लागि विभिन्न क्षेत्रका व्यवसायी, किसान, सरोकारवाला निकाय र स्थानीय निकायसँग समन्वय गरिएको छ ।
मलको गुणस्तर बढाउन विभिन्न मलका प्रकार उत्पादन गरी प्रयोगशालामा परीक्षण गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा गुणस्तर, बजार र लागत विश्लेषण समेत गरिएको छ ।

सहकारीले मल उद्योगलाई थप व्यवस्थित बनाउन दैनिक बचत कार्यक्रमलाई निरन्तरता दिँदै औद्योगिक बचत कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । औद्योगिक लगानी कोष निर्माण गरी कोषलाई औद्योगिक लगानीको रूपमा लगानी गर्ने योजना समेत बनाइएको छ ।

हाल सञ्चालित कृषक प्राङ्गारिक मल उद्योगलाई प्रभावकारी र क्षमतामुखी बनाउन, स्वचालित उत्पादन प्रक्रियामा सुधार, माटो र मलको गुणस्तर परीक्षण, जैविक जीवाणु, जैविक किटनाशक तथा ढुसीनाशक विषादीको परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना समेत बनाइएको छ ।

लुम्बिनी कृषि तथा पशुपक्षी विकास सहकारी संस्थाले पुँजीगत लगानी सुनिश्चित गरी कृषक प्राङ्गारिक मल उद्योगमा ५१ प्रतिशत सेयर रहने गरी लगानी गर्ने योजना बनाएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि न्यूनतम वार्षिक उत्पादन ३ लाख ७० हजार किलो तय गरिएको छ ।

सहकारीले आगामी दिनमा पशुपंक्षीपालन व्यवसायमा सबैभन्दा ठूलो समस्या भएको आहारा व्यवस्थापनका लागि फ्रेज प्यालेट दाना (सन्तुलित घाँसे पशुपक्षी आहारा) निर्माण, स्थापना तथा सञ्चालन गर्ने योजना समेत बनाएको छ ।

मल उद्योगका लागि लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत जिल्लाको भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रबाट करिब ३५ लाख रुपैयाँको उपकरण खरिद र संरचना निर्माणका लागि अनुदान समेत उपलब्ध गराइएको छ ।