© २०२३
बुटवल, २५ पुस ।
एउटा उक्ति छ– ‘सुत्यो भने निद्रा मात्रै पूरा हुन्छ, तर सपना पूरा गर्नका लागि त ब्युँझिनु पर्छ ।’
सोही भनाइलाई चरितार्थ गर्दै अर्घाखाँची जिल्लाको भूमिका स्थान नगरपालिका वडा नम्बर २ ढाकावाङका सुरज खनालले लोक सेवा आयोग र शिक्षक सेवा आयोगले लिएको दुवै परीक्षामा एकै पटक, एकै दिन नाम निकाल्न सफल भएका छन् ।
हालसम्म ८ वटा परीक्षामा सफलता प्राप्त गरेका उनले कतिपय समयमा भने वैकल्पिक र करारमा पर्दै आएका थिए । तर हालै मात्रै प्रकाशित भएको बागमती प्रदेश लोक सेवा आयोगको शिक्षा प्राविधिक सहायक (सहायक स्तर पाँचौँ, सुब्बा सरह) तर्फ तेस्रो नम्बरमा सिफारिस भएका छन् भने सोही दिन नै शिक्षक सेवा आयोगले लिएको परीक्षामा लुम्बिनी प्रदेशबाट अङ्ग्रेजी विषयमा तेस्रो नम्बरमा सिफारिस भएका हुन् ।
वि.सं. २०४९ सालमा जन्मिएका उनले २२ वर्षको उमेरमै शिक्षक सेवा आयोगबाट लिएको परीक्षा उत्तीर्ण गरी प्राविमा नाम निकाल्न सफल भएका थिए ।
वि.सं. २०७१ सालमा प्रावि स्थायीमा नाम निकालेका खनालले २०७५ सालमा मावि तर्फ सामाजिक विषयमा सबै चरण पार गरी करार सूचीमा नाम निकाल्न सफल भएका थिए । यसै गरी २०७९ मा प्रावि द्वितीय (बढुवा) सिफारिसमा परेका उनी २०७९ मै निमावि करार अङ्ग्रेजीमा समेत नाम निकाल्न सफल भएका थिए ।
वि.सं. २०८१ मा कर्णाली प्रदेश शिक्षा अधिकृत अस्थायी योग्यता क्रममा रहेका उनी २०८२ मा मावि अङ्ग्रेजी करारमा नाम निकाल्न सफल भएका थिए । यसै गरी २०८२ मा बागमती प्रदेश लोक सेवा आयोगबाट शिक्षा तर्फ प्रास सिफारिस भएका छन् भने सोही दिन नै लुम्बिनी प्रदेशबाट निमावि अङ्ग्रेजीमा सिफारिस भएका हुन् ।
सुरुमा वि.सं. २०७१ साल श्रावण महिनामा पोस्टिङ भएका उनी जन्मस्थान नजिकैको भगवती माविमा कार्यरत थिए । सानो उमेरमै उनले सो विद्यालयमा ८ महिनासम्म प्रधानाध्यापकको जिम्मेवारी समेत पूरा गरेका थिए ।
त्यसपछि उनी सन्धिखर्क नगरपालिका वडा नम्बर २ संखेटारीमा रहेको भगवती माविमा सरुवा भई अध्यापन गर्दै आएका थिए । एकै दिन दुई/दुई वटा सफलता प्राप्त गर्दा आफूले गरेको निरन्तर मिहिनेतकै परिणाम भएको खनालको भनाइ छ ।
उनी भन्छन्, “निरन्तरको मिहिनेतले थप उत्साह दिएको थियो । अहिले आएर एकै दिन, एकै पटक दुई÷दुई वटा आयोगको परीक्षामा नाम निस्किँदा असाध्यै खुसी छु ।” खनालकी श्रीमती सुनिता भुसाल पनि स्थायी शिक्षिका हुन् ।
उनी अन्नपूर्ण निमाविमा अध्यापन गराउँदै आएकी छन् ।