© २०२३
बुटवल, २३ पुस ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका २६ पालिकालाई खोरेतमुक्त पालिका बनाउने गरी अभियानको थालनी गरेको छ । गत वर्षदेखि गुल्मी र अर्घाखाँची जिल्लाका सबै पालिकामा यो अभियानको सुरुवात गरेकोमा थप अन्य ४ वटा जिल्लाका ८ वटा पालिकामा पनि यो वर्षदेखि अभियानको सुरुवात गरिएको हो ।
लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको मातहतमा रहेका कार्यालय मार्फत यो अभियानको सुरुवात गरिएको हो ।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका वरिष्ठ पशु चिकित्सक डा. नवीन बस्यालका अनुसार गत वर्षदेखि गुल्मी, अर्घाखाँची जिल्लामा अभियान सुरुवात भएको थियो ।
खोरेत रोगबाट पशु चौपायामा पर्ने नकारात्मक असर सँगै पशुजन्य र दुग्धजन्य उत्पादनमा समेत ह्रास आउन थालेपछि प्रदेश सरकारले अभियानकै रूपमा प्रदेशका २ जिल्लाका सबै पालिका र अन्य चार जिल्लाका ९ पालिकालाई खोरेत मुक्त बनाउने अभियानको सुरुवात गरेको हो ।
प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. नवीन बस्यालका अनुसार अहिले प्रदेशका ३ जिल्ला गुल्मीका सबै पालिका, अर्घाखाँचीका सबै पालिका र पाल्पाको तानसेन नगरपालिका, तिनाउ र रैनादेवी छहरा गाउँपालिकामा खोरेत मुक्त अभियान जारी छ ।
यस्तै प्युठान जिल्लाको प्युठान नगरपालिका, मल्लरानी, ऐरावती र सरुमारानी गाउँपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका र रुकुमपूर्व भुमे गाउँपालिकामा यो अभियान जारी रहेको डा. बस्यालले जानकारी दिए ।
खोरेत मुक्त अभियान अन्तर्गत प्रदेशका ९ लाख ५५ हजार भन्दा बढी पशु चौपायामा खोप कार्यक्रम सञ्चालन गरिने छ भने पूर्ण खोप अभियान अन्तर्गत ६ लाख ६८ हजार भन्दा बढी गाई, भैँसी, भेडा, बङ्गुरमा खोप अभियान चलाइने भएको छ ।
कुल पशु चौपायाहरू मध्ये ७० प्रतिशत भन्दा बढी पशु चौपायामा अभियान अनुसार खोप लगाइने छ । ६ लाख ६८ हजार ८ सय ५८ पशु चौपायामा खोप लगाएपछि २६ पालिका खोरेतमुक्त बनाइने छ ।
खोरेत रोगको लागि दुई पटक खोप लगाउनुपर्ने हुन्छ । वर्षमा दुई पटक खोरेत विरुद्धको खोप लगाउँदा आवश्यक पर्ने खोप १३ लाख ३७ हजार ७ सय १६ डोज खोप आवश्यक रहेको छ ।
यो अभियानको लागि प्रदेश सरकारले ६ करोड ७९ लाख २६ हजार रुपैयाँ विनियोजन गरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक श्रवण कुमार चौधरीले जानकारी दिए । गत वर्ष लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८१÷८२ मा २६ लाख १६ हजार ८० खोप लगाइएको थियो ।
लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सबैको साथ र सहयोगबाट पशु चौपायामा महामारीकै रूपमा आउने खोरेत रोगको उन्मुलन गर्न सकिने बताए । उनले प्रदेश, स्थानीय तह र संघीय सरकारले समेत हातेमालो गरेर अगाडि जानुको विकल्प नभएको बताए ।
पशुरोग अन्वेशषण प्रयोगशाला नवलपरासीका प्रमुख डा. भरत काफ्लेका अनुसार खोरेत रोग भनेको सीमाविहीन रोग हो । खोरेत रोग गाई, भैँसी, बङ्गुर लगायत अन्य खुरफट्टा जनावरहरूमा लाग्ने गर्छ ।
त्यसै गरी अति छिटो पिकोर्ना जातीको विषाणुबाट सर्ने सरुवा रोग पनि हो । खोरेत रोग लागेको जनावरसंग सम्पर्क भएमा वा दूषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रूपमा फैलने गर्दछ । रोगको असर लामो समयसम्म रहन सक्दछ । यो रोगबाट संक्रमण हुन सक्ने जनावरहरूको समूहमा रोगले असर गर्ने प्रतिशत झण्डै १०० हुन सक्दछ ।
जमिनमा ६० किलोमिटरसम्म टाढा फैलन सक्छ भने समुन्द्री क्षेत्रमा ३ सय किलोमिटर टाढासम्म प्रति घण्टा फैलन्छ । स्थानीय वयस्क गाई, भैसीहरूमा खोरेत रोग देखा परेतापनि यो रोगको कारण मृत्यु कमै हुने गर्दछ भने बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरू खोरेत रोग लागि अत्यधिक संख्यामा मर्ने गर्दछन् ।
१० देखि १५ प्रतिशत बाच्छाबाच्छी, पाडापाडीको मृत्यु हुने सम्भावना हुन्छ भने ठुला पशुहरूको मृत्यु हुने सम्भावना १ देखि ५ प्रतिशतसम्म रहेको छ । यसको अर्को मुख्य असर भने दुध उत्पादन घट्छ ।