© 2026
गुल्मी ।
कालीगण्डकी १ चिउरेका खिमानन्द पाण्डेको बगैचाका सुन्तला बजारमा बेच्नै नगई बिक्री भए। घरमै सुन्तला किन्न आएपछि उनले करीब ३० क्वीन्टल सुन्तला बिक्री गरे।
किसानले उत्पादन गरेका सुन्तला बिक्री नभएर बजारमा आफै पुर्याउनुपर्ने बाध्यता अब छैन। प्रतिकिलो ५० रुपैयाँका दरले करीब ३० क्वीन्टल सुन्तला बिक्री गरेपछि उनी खुशी छन्।
पाण्डेले सुन्तला ब्यापारी बगैँचामै आएर सुन्तला खरिद गरिदिएकोमा आफूलाई बजारको चिन्ता नभएको बताए । बगैँचामा भएका सुन्तला सबै ब्यापारीले खरिद गरिदिएपछि आफूलाई कुनै चिन्ता नभएको उनको भनाइ छ। बगैँचामै आएर सुन्तला खरिद हुँदा पेसाप्रति थप उत्साहित भएको उनले बताए।
यस्तै सोही स्थानका जीवलाल पाण्डेको बगैँचाबाट रुपन्देहीका व्यापारीले १२ क्वीन्टल सुन्तला उही भाउमा खरिद गरिदिए। सुन्तला बिक्रीका लागि कुनै समस्या नभएको उनी बताउँछन्।
गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसानले उत्पादन गरेका सुन्तला किन्न रुपन्देहीका व्यापारीहरु किसानका घरघरै पुग्न थालेपछि किसानलाई बजार पुर्याउनुपर्ने चिन्ता र बजार नपाउने हो कि भन्ने डर छैन।
कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापा गाउँपालिकालाई सुन्तला जातका फलफूलको पकेट क्षेत्र बनाउने गरी लागेको बताउँछन्।
फलफूलका बिरुवा रोप्नका लागि खाडल खन्ने किसानलाई पालिकाले प्रति खाडल चार सय रुपैयाँ अनुदान स्वरुप दिएको उनले बताए। यस वर्ष कालीगण्डकी गाउँपालिका भित्र करिव ७५ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको उनको अनुमान छ।
सुन्तला बिक्रीमा कालीगण्डकीका घरघरै व्यापारी पुगेपनि उत्पादनका हिसाबले भने गत वर्षको तुलनामा गुल्मीमा कम सुन्तला फलेका छन् ।
कृषि ज्ञानकेन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार गत वर्ष गुल्मीमा २५ करोड ७८ लाख ६९ हजार पाँच सय रुपैयाँको सुन्तला उत्पादन भएकोमा यस वर्ष २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएकोे छ। न्यौपानेका अनुसार यस वर्ष ३२ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको हो।
गुल्मीमा ६०३ हेक्टर क्षेत्रफलमा लगाइएका सुन्तलाका बिरुवाले पाँच हजार १७ मेट्रिक टन उत्पादन दिएका छन् भने प्रतिकिलो सुन्तलाको मूल्य सरदर ४० रुपैयाँ कायम गरिएको छ।
यस वर्ष सुन्तला उत्पादनमा कमी आउनुको कारण फूल तथा फल लाग्ने समयमा बेमौसमी वर्षा हुनु, फल झर्ने समस्या, किसानहरुले बगैचा ब्यबस्थापनमा ध्यान नदिनु, रोग कीराको प्रकोप, गाउँघरमा बगैचा व्यवस्थापन गर्न र काँटछाँट गर्नका लागि जनशक्तिको अभाव रहेको उनको भनाइ छ।
गुल्मीमा उत्पादित सुन्तला केही जिल्लामै खपत हुने गरेको छ भने अन्य बुटवल, नारायणगढ र पोखरा निर्यात हुने गरेको छ। गुल्मीका नयाँगाउँ, पिपलधारा, लुम्छा, भाडगाँउ, बिरबास, राजा, बलेटक्सार र लम्सराङमा बढी सुन्तला उत्पादन हुने गरेका छन्।