© २०२३
गुल्मी, १२ पुस ।
वर्षौँदेखि बाँझिएर रहेको जग्गा अहिले किवीमय बनेको छ । गुल्मीको कालीगण्डकी १ सिरकोटमा वर्षौँदेखी वनमाराले ढाकेको बाँझो जग्गामा अहिले किवीले हराभरा बनेको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर एक सिरकोटमा वर्षौ देखि बाँझिएको जग्गालाई सदुपयोग गर्दै २३ जना युवा मिलेर छ सय रोपनी क्षेत्रफलमा ब्यवसायीक रुपमा किवी खेती गरेका हुन् । अहिले करिव चार सय बिरुवाले उत्पादन दिएकाले ६० क्विन्टल किवी बिक्री गरेको युवा ब्यवसायी लक्ष्मीपति न्यौपानेले बताए ।
औसतमा प्रति किलो दुई सय पचास रुपियाँका दरले किवी बिक्री गरेको उनको भनाइ छ । किवी गाउँबाटै पनि बिक्री भएको र गाउँबाट बिक्री हुन नसकेको किवी बुटवलमा लगेर बिक्री गरेको उनले बताए । यस वर्ष किवी बिक्रीबाट १५ लाख आम्दानी गरेको न्यौपानेले बताए ।
वर्षौँदेखि बाँझिएर खेर गइरहेको सिरकोट, तोलादी, देउराली र अर्वेनी कोटको जग्गालाई सदुपयोग गरिएको र गाउँलाई नै किवीमय बनाउने योजना रहेको अर्का कृषक गगन तरामुले बताए । उन्नतिशिल कृषि फलफूल तथा पशुपंक्षी कृषक समूहमार्फत छ सय रोपनी क्षेत्रफलमा करिव आठ हजार बिरुवा रोपण गरी ब्यावसायिक रुपमा किवी खेती गरिएको छ ।
पहिले सुरुमा किवी खेतीको बारेमा सुनेको मात्रै भएपनि पछि यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरुले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको समूहले जनाएको छ ।
आफूहरुले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि संभावना देखेर किवी खेती गर्ने आँट लिएको न्यौपानेको भनाइ छ । आफूहरुले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरुबाट कृषक समूह, सहकारीहरु आउने गरेको र आफूहरुले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदान प्रदान गर्दै आएको न्यौपानेले बताए ।
२०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटर भन्दा माथिको भूभागमा किवी खेती हुने गर्दछ । जिल्लामा एक हजार दुई सय मिटर माथिका भू–भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लाको कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीयतहमा खेती गर्न योग्य स्थान रहेका छन् ।