© २०२३
गुल्मी, ११ पुस ।
गुल्मीमा शान्ती सुरक्षा र अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि अन्तरजिल्लास्तरीय सुरक्षा समन्वय बैठक रुरक्षेत्रमा गरिएको छ ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार विपद्का घटनाहरुसँग समन्वय, सुरक्षा, लागुऔषध ओसारपसार र निर्वाचन केन्द्रित रहेर सूचनाहरु आदान प्रदान गर्नका लागि अन्तरजिल्लास्तरीय सुरक्षा समन्वय बैठक गरिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि केन्द्रित रहेर गुल्मी, बाग्लुङ र पर्वत जिल्लाका सुरक्षा निकायका प्रमुखबिच रुरुक्षेत्रको वडा नम्वर एक रिडीमा समन्वय बैठक बसेको उनले बताए ।
समन्वय बैठकले अन्तर जिल्ला स्तरीय सुरक्षा, विपदका घटनाहरुमा समन्वय र अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि पनि ठूलो भूमिका निर्वाह गर्ने उनकोे दाबी छ ।
अन्तर जिल्ला स्तरीय सुरक्षा बैठकले तीन जिल्लाका सुरक्षा प्रमुखहरुबिच समन्वय र अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नुका साथै सीमा जोडिएका जिल्लाहरु भएकाले निर्वाचन केन्द्रित सूचनाहरु आदानप्रदान गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ ।
पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सम्भावित विपदका घटनाहरुमा सहयोग, चोरी पौठारी र तस्करीहरुलाई नियन्त्रण, महिला बेचबिखन र फरार अपराधीहरुलाई पक्राउ गर्नका लागि समन्वय बैठकको उपलब्धी हुने विश्वास ब्यक्त गरे । यसका साथै अन्तर जिल्ला स्तरीय सुरक्षा बैठकले एक आपसमा मेलमिलाप र सम्भावित अपराधहरुलाई नियन्त्रण गर्नुका साथै भावी रणनीति निर्माण गर्नमा पनि टेवा पुग्ने उनको दाबी छ ।
गुल्मी जिल्लासँग सीमा जोडिएका छिमेकी जिल्लाहरुका सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय बैठकलाई निरन्तरता दिदै जाने गैह्रेले बताए । अघिल्लो महिना गुल्मी,प्युठान र अर्घाखाँचीका सुरक्षा प्रमुखहरुको बैठक प्युठानमा बसेको थियो ।