Butwal Today

विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी

११ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

महाधिवेशन अनिश्चित बन्दै गएपछि आक्रोशित बनेका विशेष महाधिवेशन पक्षधर कांग्रेस नेता शंकर तिवारीले कार्यकर्तालाई काठमाडौं आएर केन्द्रीय कार्यालय घेर्न आह्वान गरेका छन् ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका पार्टीका कार्यकर्ताले पार्टीको अकर्मण्य चरित्र र पार्टीलाई यथास्थितिमा राख्ने प्रपञ्च सहन नसक्ने तिवारीले प्रेस नोटमार्फत बताएका छन् । उनले भने, “रकेट गतिको महाधिवेशन कार्यकतालिकामा विश्वास गर्नु कार्यकर्ताको महाभुल थियो ।

अब त्यो भूलभुलैयाबाट बाहिर निस्कनु पर्छ । कार्यकर्ता, विशेष गरी महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय घेर्न काठमाडौं आउनुपर्छ ।”

भदौ २३ र २४ को जेनजी विद्रोहपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२८ का लागि केन्द्रीय महाधिवेशनको मिति तय गरेको थियो । त्यही क्रममा महामन्त्री गगन थापाको आह्वानमा विशेष महाधिवेशन माग गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

नियमित महाधिवेशन नभए ५५ प्रतिशत विशेष महाधिवेशन पक्षधरको माग के हुन्छ भन्ने विषयमा पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले पूर्व घोषित समयमा महाधिवेशन नहुने प्रस्ट पारिसकेका छन् । यही सन्दर्भमा शुक्रबार नेता एवं लेखक तिवारीको प्रेस नोट आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?