© २०२३
गुल्मी १० पुस ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकलार्ई उद्यमी बनाउन च्याउ खेती सम्बन्धी तालिम प्रदान गरेको छ ।
पालिकाका कृषि अधिकृत शुशिल पाण्डेका अनुसार पालिका भित्रका १८० जनालाई उद्यमी बनाउने उद्येश्यले नै तालिम प्रदान गरिएको हो । पालिका भित्र रहेका ७ वटा वडामा गई तालिम सञ्चालन गरिएको हो । पहिले चुलो चौकोमा मात्र सीमित रहने महिला दिदीबहिनाहरुलाई विशेष गरी आत्म निर्भर बनाउँदै उनीरुलाई उद्यमी बनाउने गरी पालिका लागेको पाण्डेको भनाइ छ ।
तालिममा महिलाहरुको बाहुल्यता रहे पनि केही पुरुषहरु पनि तालिममा सहभागि थिए ।
तालिम पश्चात कन्य च्याउको बिउँ र प्लाष्टिक पनि तालिम लिएकाहरुलाई प्रदान गरिएको छ । कालीगण्डकी गाउँपालिका वडा नम्वर एक हर्मिचौरका सीता पाण्डेले तालिम प्रभावकारी भएको र यसले आफूहरु स्वरोजगार बन्दै उद्यमी बन्नका लागि सहज हुने बताइन् ।
तालिम प्राविधिक ज्ञानसहित च्याउ खेती सम्बन्धी प्रयोगात्मक तरिका नै प्रदान गरिएको पाण्डेले बताए ।
यस्तै कालीगण्डकी गाउँपालिकाले रुपन्दहीमा चलेको औधोगिक ब्यापार मेलामा पालिकाको उत्पादन सुन्तला, सिमीको दाल र गुन्द्रुक प्रदर्शनीमा राखेको छ । जसले कालीगण्डकीमा उत्पादन भएका स्थानीय उत्पादनको प्रचार हुने उद्देश्य गाउँपालिकाले लिएको छ ।