© २०२३
काठमाडौँ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पाँच प्रदेशसभा सदस्य र आठ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
विज्ञप्तिमा अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी पाँच जना प्रदेशसभा सदस्य, तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी आठ जना स्थानीय तहका पदाधिकारीले मतदान गर्न नपाउने उल्लेख छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी कुल २ हजार ४३ जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखको मतभार १९ रहेको आयोगले जनाएको छ ।
