© २०२३
काठमाडौं, ९ पुस ।
ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् ।
फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर हाल काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
घटना गत १३ असोजको हो । मकवानपुर घर भई मनमैजुमा बस्दै आएका २५ वर्षीय युवकको ठमेलमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो । फरार कैदी मगरले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याइएका युवकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
लुटपाट तथा डकैतीसम्बन्धी कसुरमा कारागार चलान भएका मगर २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागारमा भएको तोडफोडपछि फरार भएका थिए । हत्या घटनापछि उनी लामो समयदेखि फरार रहेका थिए ।
घटनास्थल आसपासका सीसीटीभी फुटेज, प्राविधिक विश्लेषण तथा म्यानुअल अनुसन्धानका आधारमा हत्यामा मगरको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।