Butwal Today

कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ?

८ पुष २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, ८ पुस ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँग भएको १० बुँदे सम्झौताको पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

मंगलबार पार्टी कार्यालय निरीक्षण तथा वार्ताका लागि सानेपा पुगेको सरकारी राजनीतिक वार्ता समितिसँगको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

जेनजीका अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्तामा निर्वाचन हुन नदिने बताएका थिए । यसले सरकार निर्वाचन गराउन लागेकोमा शंका उत्पन्न गरेको धनराज गुरुङले बताए ।

‘यहाँहरूको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन नदिने भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ ? केही न केही त छ । आशंका झन बलियो बनायो,’ उनले भने ।

धनराज गुरुङका अनुसार निषेधको राजनीति र डरको वातावरणले निर्वाचन हुन सक्दैन । उनले सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन तत्पर नभएको आरोप पनि लगाए ।

‘निर्वाचन फागुन २१ मा हुँदैछ भनिएको छ, यसलाई अर्जुनदृष्टिमा राख्नुपर्छ । सबै राजनीतिक दलहरू उपस्थित हुने र सहभागी बन्ने स्थिति सिर्जना गर्नुपर्छ । १० बुँदे सम्झौता गर्नेहरूले नै सम्झौतामा आधारित काम गर्न नदिई ‘निर्वाचन हुन दिँदैनौँ’ भनिरहेका छन् । सम्झौता यहाँहरूको अघि नै च्यातिएको छ । के भइरहेको छ, नच्यात्ने पक्षले चुनाव हुन नदिने भनेको छ । त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौं,’ उनले भने ।

सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै सक्दो प्रयास नगरेको र शान्ति, सुरक्षा र भयमुक्त वातावरणको अभाव रहेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?