© २०२३
काठमाडौं, ७ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा लामिछानेलाई गुन लगाएको तर बिर्सिएको अभिव्यक्ति दिएका थिए ।
यसै विषयमा आज काठमाडौँ जिल्ला अदालतमा तारेख लिएर फर्किएका लामिछानेले ओलीमाथि व्यंग्य गरेका हुन् । उनले भने, ‘केपी ओलीले गुन लगाएको भन्नुभयो । त्यही गुन तिर्न अदालत धाइरहेको छु । सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्नेछ ।’
उनी थप्छन्, ‘जीउमा किला ठोकेजस्तो भएको छ । अन्य अदालतमा पनि हाजिर जानुपर्नेछ । म आज यहाँ आएँ, अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । शरीरभरि बिख बाँकी नै छ ।’