© २०२३
काठमाडौँ ।
देशभर हाल १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् ।
सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका छन् ।
उनका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाल दर्ता भएका दलहरुको संख्या ११४ पुगेको छ ।
गत २०७९ सालको निर्वाचनमा ८७ दलहरुले भाग लिएका थिए । दलहरुको संख्या बढेसँगै निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारी उनले दिएका छन् ।
भट्टराईले निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान गरिएको बताए । तीमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट खरिद गरिने र बाँकी १४ वटा सामग्री आयोगले खरिद गरेर उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
उक्त सामग्रीमा पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड, स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्री समावेश छन् । आयोगले मौज्दात पर्याप्त रहेकाले नपुग सामग्री मात्रै खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
भट्टराईले भने, ‘स्रोतको बचत हुनेगरी मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गरिनेछ । मतदाता नामावलीको अन्तिम सूची पुस १५ मा तयार हुनेछ ।’
उनले थपे, ‘निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको संख्या ८७ बाट ११४ पुगेको छ । हामीले निर्वाचन पर्यवेक्षणको पहिलो चरणको अनुमति दिइसकेका छौँ । आयोगले मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय र सरकारसँग निरन्तर छलफल र परामर्श गरिरहेको छ ।’