© २०२३
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल थापाको नाम पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेसको कोशी प्रदेश समिति बैठकले थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको कांग्रेस कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । ‘सुनील थापाको नाम प्रदेश कार्यसमिति बैठकले राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरेको छ,’ उपसभापति रायमाझीले भने ।
थापाले केही दिनअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्ने जानकारी राष्ट्रपति पौडेललाई गराएर सल्लाहकारबाट राजीनामा दिएका थिए ।
थापा २०७९ चैत १६ गते राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट धनकुटामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए ।