© २०२३
भैरहवा, ५ पुस ।
गौतम बुद्धको जीवनचक्रलाई पछ्याउने हो भने, सुरुवात लुम्बिनीबाट हुन्छ ।
जहाँ उनले जन्म लिए, जहाँ (कपिलवस्तु) उनले २९ वर्षको जवानी बिताए । त्यसपछि मात्र आउँछन् बोधगया (ज्ञान प्राप्ति), सारनाथ (प्रथम उपदेश) र कुशीनगर (महापरिनिर्वाण) ।
तर, विडम्बना नै भन्नुपर्छ— अहिले बौद्ध मार्गी पर्यटकहरूको यात्रा तालिका ठिक उल्टो चलिरहेको छ । बुद्धको जीवनको ‘पहिलो अध्याय’ मानिने लुम्बिनी, पर्यटकका लागि भने यात्राको ‘अन्तिम बिसौनी’ बन्न पुगेको छ ।
बौद्ध परिपथको यो उल्टो बहावको सीधा असर नेपाली पर्यटन बजार र व्यवसायीको खल्तीमा परेको छ । बौद्ध परिपथ अन्तर्गत लुम्बिनी, कपिलवस्तु, बोधगया र कुशीनगर मूल क्षेत्र हुन् । यसबाहेक राजगीर र श्रावस्तीजस्ता बुद्धले ज्ञान आर्जनका क्रममा भ्रमण गरेका भारतीय स्थलहरू पनि महत्त्वपूर्ण मानिन्छन् ।
क्रमअनुसार पर्यटकले पहिले लुम्बिनी र कपिलवस्तु भ्रमण गरी भारततर्फ लाग्नुपर्ने हो । तर, अहिलेको प्याकेज यस्तो बनेको छ कि पर्यटकहरू पहिले भारतका विभिन्न तीर्थस्थलहरू (बोधगया, सारनाथ, राजगीर, नालान्दा बैशाली आदि) घुम्छन् र अन्त्यमा मात्र नेपाल छिर्छन् । यसले गर्दा लुम्बिनी ‘गेट वे’ (प्रवेशद्वार) नभई ‘एग्जिट पोइन्ट’ (बहिर्गमन बिन्दु) जस्तो मात्र बन्न पुगेको छ ।
भारतीय टुर अपरेटरहरूले बौद्ध परिपथ संग सम्बन्धित नेपालको स्थलहरूबारे पनि लुकाउने गरेको केही नेपाली पक्षको आरोप छ । पर्यटकले सोधखोज गरेको समय मात्र उनिहरूले नेपालमा रहेको स्थलहरू बारे संक्षिप्त जानकारी दिने र विभिन्न बाधा देखाएर उनीहरूलाई भारतमै रोक्ने नियत रहेको उनीहरूको आरोप रहेको छ ।
तर भारतीय टुर अपरेटरहरूले भने पर्यटकलाई नेपाल नजान भनेको हल्ला मात्र भएको बताउँछन् । एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) का महासचिव कौलेश कुमार बुद्धिज्ममा कहिले पनि भारत र नेपाल भनेर भेदभाव नगरेको बताउँछन् ।
भ्रमणको लागि आउने पर्यटकले बौद्ध सर्किटको बारेमा सोध्ने गरेको र सोही अनुसार भ्रमणको व्यवस्था मिलाउने गरेको उनको भनाइ छ ।
पर्यटन व्यवसायीहरूका अनुसार जब पर्यटकहरू भारतको लामो भ्रमण सकेर नेपाल आइपुग्छन्, उनीहरूसँग न समय बाँकी हुन्छ, न त खर्च गर्ने उत्साह नै ।
“भारत भ्रमणकै क्रममा प्रायः पर्यटकको खर्च गर्ने क्षमता सकिएको हुन्छ । समयको समेत अभाव हुने भएकाले धेरै पर्यटक नेपाल आउनै खोज्दैनन् । जो आउँछन्, उनीहरू पनि हतार–हतार लुम्बिनी दर्शन गरेर फर्कने मानसिकतामा हुन्छन्,” लुम्बिनी होटल सङ्घका उपाध्यक्ष भूपेन्द्र गुरुङ बताउँछन् । गुरुङका अनुसार नेपाल आइपुग्दा पर्यटकहरू थकित भइसकेका हुन्छन् ।
जसका कारण उनीहरू नेपालमा रात बिताउने भन्दा पनि ‘डे टुर’ गरेर फर्कने वा बसाइँ छोट्टाउने गर्छन् । यसले होटल, रेस्टुरेन्ट र स्थानीय बजारले जति लाभ लिनुपर्ने हो, त्यति लिन सकेका छैनन् । भारतले आफ्ना पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा ठुलो लगानी गरेको छ ।
बुद्धिस्ट सर्किट भन्नासाथ भारतका गन्तव्यहरू नै पहिले ब्रान्डिङ भएका छन् । यता, लुम्बिनीलाई बौद्ध परिपथको ‘सुरुवाती बिन्दु’ को रूपमा स्थापित गर्न नेपाल चुकेको सरोकारवालाको विश्लेषण छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ का अध्यक्ष समेत रहेका नगरपालिकाका प्रवक्ता ईनामुल्लाह फकिरले भारतबाट पनि धेरै कुराहरू सिक्न बाँकी रहेको बताउँछन् ।
नगरपालिकाको टोली भारतमा रहेका बुद्ध सर्किटको भ्रमणबाट फर्किएपछि फकिरले भारतले आफ्नो देशमा रहेका गन्तव्यहरूलाई ब्राण्डिङ्ग गरेको विषय लुम्बिनीमा लागु गर्नु पर्ने औँल्याए ।
उनी भन्छन् “लुम्बिनीबाटै यात्रा सुरु गराउन नेपालले नीतिगत रूपमै अगुवाइ गर्नुपर्छ । प्रचारप्रसारमा नेपालको अभाव स्पष्ट देखिन्छ । जबसम्म लुम्बिनीलाई यात्राको प्रस्थान बिन्दु बनाइँदैन, तबसम्म यहाँको पर्यटनले अपेक्षित गति लिन सक्दैन ।”
भारतको राजगिरमा आयोजित अन्तर्राष्ट्रिय बुद्ध सर्किट सम्मेलनमा बुद्धका विभिन्न स्तुपाहरू, धार्मिक स्थलहरू, पुरातात्त्विक स्थलहरू र अन्य सम्पदाहरूलाई कसरी संरक्षण र प्रवर्द्धन गर्ने भन्ने विषयमा छलफल भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपसचिव हरि प्रसाल ज्ञवालीले जानकारी दिए ।
यी सम्पदाहरूको संरक्षण गर्दै बढीभन्दा बढी पर्यटनलाई आकर्षित गरी देशको आर्थिक आर्जन मा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने नै सम्मेलनको मूल लक्ष्य रहेको उनको भनाइ छ ।
ज्ञवालीले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा रहेको र यो विश्व सम्पदामा सूचीकृत भएको कुरा उल्लेख गर्दै नेपालमा पनि बुद्ध सर्किटसँग सम्बन्धित अन्य थुप्रै महत्त्वपूर्ण स्थानहरू बारे सम्मेलनमा चर्चा गरिएको बताए ।
यो सम्मेलनबाट प्राप्त ज्ञान र सिकाइलाई आत्मसात् गर्दै नेपाल फर्केपछि पनि आफ्नो क्षेत्रबाट बुद्ध सर्किटलाई सोही ढङ्गले प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत जनाए । गौतम बुद्धको जन्मस्थल हुनुको नाताले बौद्ध परिपथको स्वामित्व र नेतृत्व नेपालले लिनुपर्ने आवाज उठ्न थालेको छ ।
यदि लुम्बिनीलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय बजारमा यसलाई ‘फर्स्ट डेस्टिनेसन’ को रूपमा ब्रान्डिङ गर्न सकिए मात्र नेपाली पर्यटन क्षेत्रले बौद्ध परिपथको वास्तविक लाभ लिन सक्नेछ । अन्यथा, लुम्बिनी केवल एक औपचारिक भ्रमणको थलो मात्र बनिरहने जोखिम कायमै छ ।
सम्मेलनमा यसै विषयमा गहन चर्चा गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका पर्यटन तथा समन्वय शाखा प्रमुख फणीन्द्र पालले बताए । यसको लागि लुम्बिनीमा उच्चस्तरीय पूर्वाधार, आवास, र अनुभवहरू विकास गर्ने, अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी ’लुम्बिनी–फर्स्ट’ प्याकेजहरूको विकास र प्रवर्द्धन गर्न उत्प्रेरित गर्न सकिने उनको भनाई छ ।
कपिलवस्तु, रामग्राम, देवदह जस्ता अन्य नेपाली बुद्ध स्थलहरू र यस आसपास रहेका अन्य पर्यटकीय स्थलहरूलाई आकर्षक तरिकाले लुम्बिनीसँग जोडेर पर्यटकको बसाइ लम्ब्याउन सकिने उनको धारणा छ ।
यसको लागि भारत लगायत बुद्ध सर्किटका अन्य राष्ट्रहरूसँग समन्वय गरी लुम्बिनीको नेतृत्वलाई स्वीकार गराउने कूटनीतिक पहल आवश्यक रहेको उनले औँल्याए ।
बौद्ध पर्यटनसँग सम्बन्धित विश्वव्यापी मञ्च एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटरस्द्वारा भारतको बिहारस्थित नालन्दामा आयोजित ८ औँ एबीटीओ अन्तर्राष्ट्रिय बुद्ध ट्राभल मार्ट –२०२५ मा सहभागिताका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाको अगुवाइमा एक प्रतिनिधिमण्डल भारत गएको थियो ।