Butwal Today

केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

४ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेका नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका पुरी केपी शर्मा ओली निकट मानिन्थे । उनले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन् । सोही दिन केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित भएका थिए ।

२०३९ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका पुरी पछिल्लो समय राजनीतिक नेतृत्वको आलोचना गर्दै आएका थिए । दलका नेताले राजनीतिलाई पेसा बनाउँदा भ्रष्टाचार मौलाएको दाबी गर्दै उनले राजनीतिमा लागेका व्यक्तिहरू उत्पादनमूलक पेसा तथा व्यवसायमा जोडिनुपर्ने बहस चलाइरहेका थिए ।

विराटनगर–५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन् । २०३९ सालमा तत्कालीन मालेमा आबद्ध भएका उनले २०४७ सालमा नेकपा एमालेको सक्रिय सदस्यता लिएका थिए ।

‘पार्टीमा धेरै वर्ष योगदान गरियो । तर, एमालेले अहिलेको अवस्थामा अहिलेकै शैली र ढंगबाट देशमा परिवर्तन गर्न सक्छ भन्ने विश्वास रहेन,’ उनले भने, ‘गुम्सिएर बस्न सकिनँ । पार्टी परित्याग गरेँ । अब नयाँ ढंगले अगाडि बढ्न सकिन्छ भन्ने लागेको छ ।’

पुरी निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । राजधानी बाहिरबाट पहिलो अध्यक्ष बनेका उनी विराटनगरस्थित एभरेष्ट स्कुलका सञ्चालकसमेत हुन् । उनका ‘खाली खुट्टा’ नामक पुस्तक पनि प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?