© २०२३
काठमाडौं ४ पुस ।
सरकारले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता दिने भएको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधिअनुसार मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ, गम्भीर घाइतेलाई मासिक ९ हजार रुपैयाँ र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ प्रदान गरिनेछ । सामान्य घाइतेलाई भने नगद राहतको व्यवस्था गरिएको छैन ।
कार्यविधिको उपदफा (१०) बमोजिम महँगीको अवस्थाका आधारमा भत्ता पुनरावलोकन गर्न सकिने प्रावधान पनि राखिएको छ । जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको सिफारिस गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण अन्तर्गत २९ मंसिरसम्म काठमाडौं, कास्की र चितवन जिल्लाका १८३ जनाको वर्गीकरण सम्पन्न भएको छ । वर्गीकरण अनुसार कुल १८ जना अति गम्भीर, ५५ जना गम्भीर, ४० जना मध्यम र ७० जना सामान्य घाइते रहेका छन् ।
काठमाडौंमा कुल १६० जना घाइतेको वर्गीकरण भएको छ । जसमध्ये १६ जना अति गम्भीर, ५२ जना गम्भीर, ३७ जना मध्यम र ५५ जना सामान्य घाइते छन् । यस्तै, कास्की जिल्लामा हालसम्म ७ जना घाइते वर्गीकृत भएका छन् । तीमध्ये अति गम्भीर २ जना, गम्भीर ३ जना र सामान्य २ जना रहेका छन् ।
यसैगरी, चितवनमा कुल ७ जना घाइतेको वर्गीकरण भएकोमा अति गम्भीर र गम्भीर कोही पनि छैनन् । त्यहाँ मध्यम ३ जना र सामान्य ४ जना घाइते रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ७४ स्वास्थ्य संस्थाबाट प्राप्त विवरणअनुसार जेनजी आन्दोलनका क्रममा कुल २ हजार ५२२ जना घाइते भएका थिए ।