© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनका लागि ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् ।
केन्द्रीय कार्यसमितिको मङ्सिर १५ गतेको निर्णय अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बन्न मातहतका समितिहरूलाई नाम सिफारिस गर्न निर्देशन दिइएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले त्यही निर्णय बमोजिम मातहतका कार्यालयलाई परिपत्र जारी गरेका थिए । परिपत्र अनुसार थापाको नाम काठमाडौँ–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रत्यक्षतर्फ सिफारिस भएको हो । तेह्रथुम र काठमाडौँ–४ बाट उनी एकल उम्मेदवारको रूपमा सिफारिस भएका छन् भने बाँकी क्षेत्रहरूमा अन्य नेतासँग प्रतिस्पर्धा हुनेछ ।
थापा यसअघि ४ कार्यकाल प्रतिनिधिसभा सदस्य रहिसकेका छन् । उनी २०६४ सालमा समानुपातिक प्रणालीबाट संविधानसभामा सांसद बनेका थिए भने २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ बाट प्रत्यक्षतर्फ जितेका थिए । थापाले पुरानै निर्वाचन क्षेत्र काठमाडौँ–४ बाट प्रतिस्पर्धा जारी राख्ने तयारीमा रहेका छन् ।