© २०२३
बुटवल, ३ पुष ।
सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीसम्बन्धी मुद्दामा बहस सम्पन्न भएको छ ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सकिएको हो । उनले बहस सुन्ने सम्पूर्ण प्रक्रिया समाप्त भएको जानकारी दिए ।
यसअघि मङ्सिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि स्थगित भएको थियो । त्यस्तै, मङ्सिर ११ गते तय गरिएको पेसी लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले अपचलन गरेको भनिएको भाग बराबरको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।