© २०२३
बुटवल, ३ पुस ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले केन्द्रीय कार्यालयलाई उम्मेदवार सिफारिस गरेर पठाएको छ।
प्रदेशका ९ जिल्लाका १६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश समितिले केन्द्रमा उम्मेदवार सिफारिस गरेको हो।
१६ निर्वाचन क्षेत्रमा १ सय ३ जना चुनाव लड्नका लागि आकांक्षी देखिएका छन्। जसमा अधिकांश पुरानै अनुहार छन्। कोही अघिल्लो पटक चुनाव जितेका त कोही हारेकादेखि टिकट नपाएकासम्म छन्।
कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलाली ४ र डोटी गरी दुई ठाउँबाट सिफारिस भएका छन्।
प्रत्यक्षतर्फ चुनाव लड्न इच्छुकमा महिलाको संख्या न्यून छ। प्रदेशभरबाट प्रत्यक्ष चुनाव लड्न पूर्वपरराष्ट्रमन्त्री आरजू राणासहित ३ जना महिला मात्रै सिफारिस भएका छन्।
कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतका अनुसार जिल्ला समितिबाट सिफारिस भएर आएका उम्मेदवारका नामलाई प्रदेशले केन्द्रलाई पठाएको छ।
एक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित बढीमा तीन जनाको नाम मात्रै सिफारिस गर्नुपर्ने केन्द्रीय परिपत्र भएपनि केही क्षेत्रमा क्षेत्रीय समिति र जिल्ला समितिले दर्जन बढी उम्मेदवार सिफारिस गरेर पठाएको छ।
कैलालीः ५ क्षेत्रमा ३० आकांक्षी
प्रतिनिधिसभाको ५ निर्वाचन क्षेत्र रहेको कैलालीबाट ३० जनाको नाम सिफारिस भएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस भएको हो। जसमा ईश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा. रणबहादुर रावल र रामजनम चौधरी रहेका छन्।
समानुपातिका लागि ७ जनाको नाम सिफारिस भएको छ। उमाकुमारी बादी, केशरीकुमारी रावल, धिरजराज रेग्मी, बिर्खबहादुर रावल, राजेशकुमार टमटा, सुशीला स्वाँरको नाम सिफारिसमा परेको हो।
राष्ट्रियसभाका लागि जगन्नाथ रिमाल, नृपबहादुर खड्का र फकिरसिंह कठायतको नाम सिफारिस गरिएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ। कृष्णराज पाण्डे, घनश्याम जोशी, विजयबहादुर स्वाँर, हिमबहादुर रावल, गोपालबहादुर बम, वीरबहादुर थारु, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहनसिंह राठौरको नाम छ।
समानुपातिकतर्फ शिव थापा, टीका चौधरी, सुमन सञ्ज्याल, रीता मुडभरी, गोविन्द विष्ट, बलबहादुर बिष्ट, रवीन्द्रकुमार चौधरी, सुशीला जोशी, कर्णबहादुर चौधरी, नन्दराम बादी, जुगराम चौधरी र नृपबहादुर सुर्वणकारको नाम सिफारिस गरिएको छ।
राष्ट्रिय सभातर्फ जनकबहादुर बम, मोहन सिंह राठौर, रंगाकुमारी भट्टराई, शिवा थापा, बल बहादुर विष्ट, धर्मराज न्यौपाने र हुर्मत चलाउनेको नाम सिफारिस भएको छ।
यस्तै, क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएकोे छ। खेमराज थारु, भीम बडुवाल, अविनास चौधरी र अंकार शाहको नाम सिफारिस भएको छ।
समानुपातिकामा रीता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्री तथा राष्ट्रियसभाका लागि रामचरण चौधरी र कलावती शाहको नाम सिफारिस गरिएको छ।
कैलाली क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस गरिएको छ। कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरसहित ७ जनाको नाम सिफारिस भएको हो।
डोटीबाट चुनाव लड्दै आएका बलायर अघिल्लो चुनावमा कैलाली ४ मा झरेका थिए। अघिल्लो चुनावमा बलायर विजयी भएको कैलाली ४ बाट कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको नाम पनि सिफारिस भएको छ।
बलायर पहिलो नम्बरमा सिफारिस हुँदा महरको नाम छैठौं नम्बरमा छ। यस्तै, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डे(आगो), टेकराज जोशी र भुवन महराको नाम पनि क्षेत्रीय समितिले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरिएको छ।
समानुपातिकतर्फ यज्ञनिधी कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिसमा परेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्टको नाम सिफारिस गरिएको छ।
कैलाली क्षेत्र नम्बर ५मा प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री आरजू राणासहित ४ जनालाई उम्मेदवार सिफारिस गरेको छ।
राणा ०७४ मा कैलाली ५ मा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन्। ०७९ को चुनावमा पनि कैलाली ५ बाट लड्ने चर्चाबीच राणा पछि डडेल्धुराबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन्।
कैलाली ५ मा प्रत्यक्षतर्फ आरजुसहित पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम सिफारिस गरिएको छ।
समानुपातिकतर्फ जीवन राना, गौरी कुमारी लामा, मनिराम देवल, सुशिल मिश्र भट्ट, सुनिता कुमारी राना, पुष्पा जोशी भट्ट, नीपा चोखाल, जागृती बोगटी, टेक बहादुर रैका आउजी, प्रमिला लम्साल र नरबहादुर बमको नाम सिफारिस गरिएको छ।
यस्तै, राष्ट्रिय सभा सदस्यतर्फ रिता भण्डारी, हरिष खड्का र रामचन्द्र ओझाको नाम सिफारिस गरिएको कांग्रेस कैलालीले जनाएको छ।
कञ्चनपुर : ३ उम्मेदवारका लागि ९ जना सिफारिस
प्रतिनिधिसभाको ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रत्यक्षतर्फ ९ जना आकांक्षी देखिएका छन्।
कञ्चनपुर–१ मा प्रत्यक्षतर्फ गोपीप्रसाद उपाध्याय, भरतबहादुर बिष्ट र मिरा चन्दले चुनाव लड्ने इच्छा देखाएका छन्।
समानुपातिकतर्फ सगुना राना, खिना कुँवर भण्डारी, राष्ट्रियसभातर्फ हरेन्द्रसिंह बिष्ट र प्रकाशराज पन्तको नाम सिफारिस गरिएको छ।
कञ्चनपुर–२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वमन्त्री एनपी साउँद, हरिप्रसाद बोहरा र दलबहादुर बोहराको नाम सिफारिस गरिएको छ।
समानुपातिकतर्फ गणेश नेपाली (दमाई), तौला राना र घनश्याम विश्वकर्मा, राष्ट्रियसभा सदस्यतर्फ पुष्करराज ओझा, देवराज पाठक, ईश्वरबहादुर खाती र गणेशप्रसाद पन्त सिफारिस भएका छन्।
कञ्चनपुर–३ मा पूर्वगृहमन्त्री रमेश लेखकसहित तीन जनाको नाम प्रत्यक्षतर्फ चुनाव लड्नका लागि सिफारिस भएको छ। जसमा प्रेमबहादुर बिष्ट र शंकरबहादुर चन्द पनि छन्।
समानुपातिकतर्फ कल्पना केसी, मायादेवी भट्ट र रामसोगारथ ठाकुर हजाम, राष्ट्रियसभा सदस्यतर्फ खगेश्वर बोहरा, वीरबहादुर सुनार, गोपाल सिंह भण्डारी, दुर्गाप्रसाद जोशी, यज्ञराज चटौत, मोहन बिष्ट, गौराजबहादुर लिम्बू र रमिता शाही देउवा सिफारिस भएका छन्।
डडेल्धुरामा ८ औं पटक चुनाव लड्दै देउवा
०४८ यताका चुनावमा डडेल्धुरामा अपराजित पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा यसपटक पनि सर्वसम्मत सिफारिस भएका छन्।
देउवालाई आगामी चुनावको निर्विकल्प उम्मेदवार अघि सारेको कांग्रेसले समानुपातिकमा नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरेको छ।
यस्तै, तारक बुढाऐर, बसन्तीदेवी भण्डारी र ईश्वर चन्दलाई पनि समानुपातिकका लागि सिफारिस गरिएको छ।
राष्ट्रियसभाको लागि भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस भएको छ।
बहुदल आएपछि ०४८ सालदेखि डडेल्धुराबाट चुनाव लड्दै आएका देउवा अपराजित छन्। डडेल्धुराका जनताले ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा विजयी गराएका देउवा ५ पटक प्रधानमन्त्री बनेका छन्।
०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार सागर ढकाल १२ हजार ४९२ मतान्तरले देउवासँग हारेका थिए।
०४८ मा देउवासँग एमालेका गोविन्दबहादुर कलौनी १७ हजार ९४५ मतान्तरले पराजित भएका थिए।
०५१ को मध्यावधि चुनावमा नेपाल जनवादी मोर्चाका खेमराज भट्ट, ०५६ मा एमालेका बागेश्वरीदत्त चटौत, ०६४, ०७० र ०७४ मा माओवादीका खगराज भट्ट देउवासँग चुनाव हारेका थिए।
डोटीः १७ जना आकांक्षी
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा कांग्रेस सुदूरपश्चिम सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरसहित १७ जनाको नाम सिफारिस गरिएको छ।
जसमा गोरखबहादुर बिष्ट (आनन्द), जितेन्द्रविक्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज ओझा र हर्कबहादुर देउवाको नाम छ।
समानुपातिकतर्फ दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह (शाही), प्रशिष महरा, हिम्मतसिंह चोपरा, मायादेवी कुँवर र लालबहादुर बिक, राष्ट्रियसभातर्फ दिपककुमार बिष्ट र . यज्ञराज पाठक सिफारिस भएका छन्।
अछाम: २ सीटमा २७ को दाबी
२ निर्वाचन क्षेत्र रहेको अछाममा चुनाव लड्नका लािग २७ जनाले दाबी गरेका छन्।
अछाम– १ प्रतिनिधिसभा प्रत्यक्षतर्फ भरतकुमार स्वाँर, राजन कुँवर, भक्तबहादुर ठकुल्ला, राजेन्द्रबहादुर शाह, भगवती खनाल, टीकाराम खनाल, डम्बरबहादुर सुनार, गोविन्दबहादुर शाह र दुर्गाप्रसाद तिमिल्सेना सिफारिस भएका छन्।
समानुपातिकतर्फ अर्जुन ताम्राकार, टक्कर ताम्राकार, अनुराधाकुमारी स्वाँर, रुपा आउजी, नवराज साउँद, भुवनेश्वरी शर्मा, लक्ष्मीकुमारी शाह, टक्करबहादुर कडायत, धर्मराज न्यौपाने र प्रतिभा ताम्राकारलाई सिफारिस गरिएको छ।
राष्ट्रियसभा सदस्यतर्फ हर्कबहादुर स्वाँर र नयनसिंह कडायत सिफारिस भएका छन्।
अछाम– २ प्रतिनिधिसभा प्रत्यक्षतर्फ ०७९ मा विजयी भएका पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर बिष्ट, पदकराज अधिकारी, रामबहादुर बिष्ट, अक्कलबहादुर बिष्ट, रामबहादुर शाही, मानबहादुर शाही, देवराज देवकोटा, वेदप्रकाश तिमिल्सेना, जनकबहादुर धामी, सुशील भण्डारी, सन्तोष उपाध्याय, बलराम विष्ट, पुष्पराज शर्मा, अम्बिका चलाउने र भूमिशरण ढकाल बजगाई सिफारिस भएका छन्।
समानुपातिकमा ओमप्रकाश बिष्ट, कमलबहादुर बिक, टेकबहादुर बिक, रमेशबहादुर रावत, जनकबहादुर रावल, पूर्णप्रसाद उपाध्याय, गगन सार्की, अम्बिकुमारी थापा, पूर्णा शाह, गौरी भण्डारी, अमृता बुढा, कृष्णा शाही, द्रोपति शाही, लक्ष्मी बोगटी र लक्ष्मी साउँद छन्।
राष्ट्रियसभातर्फ सुरतबहादुर बिष्ट, टोप बहादुर रावल र बिपी रेग्मी छन्।
बाजुरामा बद्रीले मैदान छोडे, ६ को दाबी
०७९ को आम चुनावमा एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पूर्वमन्त्री एवम् कांग्रेस सहमहामन्त्री बद्री पाण्डे यसपटक चुनाव नलड्ने भएका छन्।
उनले मैदान छोडेपछि बाजुरामा आसन्न चुनाव लड्न ६ जनाले इच्छा देखाएका छन्। प्रतिनिधिसभा प्रत्यक्षतर्फ रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजंग बम, गुरुदेव केसी र योगेन्द्र रावल उम्मेदवारका लागि सिफारिसमा परेका छन्।
समानुपातिकतर्फ निर्मलाकुमारी रावल, विद्या तिमिल्सेना, महा नेपाली, सुनिता गुरुङ्ग र राधिकाकुमारी सिंह, राष्ट्रियसभातर्फ देवराज जोशी र खम्मबहादुर खातीलाई सिफारिस गरिएको छ।
दार्चुलामा पूर्वमन्त्री बडू सर्वसम्मत
०७९ को चुनावमा एमालेका गणेश ठगुन्नालाई पराजित गरेका पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू दार्चुलाबाट एकल सिफारिस भएका छन्।
समानुपातिकतर्फ करबिरसिंह कार्की र आनन्दी पन्त भट्ट, राष्ट्रियसभामा महादेव बडू, चन्द्रसिंह सामन्त, गणेशराज भट्ट, द्रोपती डाँगा, शान्ति कार्की, देवमा लोथ्याल र बिसन्ता सिनाल छन्।
बैतडीमा ३ जना आकांक्षी
बैतडीमा प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ।
कांग्रेस जिल्ला सभापति समेत रहेका नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, विष्णुदत्त जोशी र जानकी भट्ट उम्मेदवार सिफारिस भएका छन्।
समानुपातिकतर्फ कान्ता चन्द र दिपेन्द्रबहादुर बम, राष्ट्रियसभामा लोकराज अवस्थी, प्रताप ठगुन्ना र सुरेन्द्रबहादुर चन्द छन्।
बझाङमा १० जना आकांक्षी
प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरिएको छ। जसमा डा. सुरेश मल्ल, नरेशबहादुर सिंह, सत्यराज भण्डारी, जगतप्रसाद जोशी, प्रकाश स्नेही रसाईली, अभिषेकबहादुर सिंह, दिपेन्द्रराज जोशी, डा. खगेन्द्रराज जोशी, केशवराज जोशी र नारायणप्रसाद हमाल छन्।
समानुपातिकमा मुकेश धामी, चन्द्रादेवी जोशी, शान्तीकुमारी बोहरा, शान्तीकुमारी महत, मन्जित ताम्राकार, रमेश बिसी, सुन्दरबहादुर स्नेही, प्रेमबहादुर धामी र सम्शेरकुमार बम, राष्ट्रियसभामा अर्जुनजंङ्गबहादुर सिंह, नन्दकृष्ण जोशी र चन्द्रविक्रम मल्लको नाम सिफारिस भएको छ।