© २०२३
काठमाडौँ ।
भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्दप्रसाद काफ्लेले जानकारी दिए अनुसार तिवारीलाई मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको छ ।
मन्त्रालयको कर्मचारी शाखाले जानकारी दिएको छ कि तिवारीको स्थानमा म्याग्दीको सीडीओ पदमा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुख र सूचना अधिकारी उपसचिव रवीन्द्र आचार्य पठाइएको छ ।
तिवारीमाथि भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । तिवारी निवर्तमान गृहमन्त्री रमेश लेखकका निजी सचिव थिए । आचार्यले यसअघि मोरङ र काठमाडौँमा सहायक सीडीओको रूपमा काम गरेका छन् भने मनाङ र ताप्लेजुङको सीडीओ पनि भइसकेका छन् ।
भिजिट भिसा प्रकरण सतहमा आएपछि तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव रहेकै बेला तिवारी म्याग्दीको सीडीओको रूपमा नियुक्त भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर २५ गते विशेष अदालतमा दायर गरेको आरोपपत्रमा तिवारीमाथि अनुसन्धान भइरहेको उल्लेख छ ।
त्यसै प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।