© २०२३
भैरहवा, २९ मङ्सिर ।
जिल्लाको रोहिणी गाउँपालिकामा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले पेस्की रकमलाई व्यक्तिगत हितमा प्रयोग गर्दै मनोमानी किसिमले खर्च गर्ने गरेको तथ्य उजागर भएको छ ।
गाउँपालिकाका विभिन्न कार्यक्रम तथा शीर्षकका नाममा ठुलो रकम पेस्कीको रूपमा निकासा गरिएको र त्यसको सदुपयोग तथा फर्छ्यौटमा चरम लापरबाही गरेको देखिएको छ ।
यसले एकातिर पालिकाको आर्थिक सुशासनमाथि प्रश्न खडा गरेको छ भने अर्कोतिर सोझा र साना कर्मचारीहरूलाई अन्यायमा पारेको छ ।
महालेखा परीक्षकको कार्यालयले रोहिणी गाउँपालिकामा गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनमा रोहिणी गाउँपालिकाले म्याद नाघेको ३४ लाख रुपैयाँ पेस्की नियमानुसार पछर्यौट गर्न औँल्याएको छ ।
जस अनुसार धर्म संस्कृति सहायता, धर्म, संस्कृति संरक्षण, प्रवर्द्धन तथा सामाजिक सहायता भनेर ठुलो रकम पेस्की लगेको देखिन्छ । कार्यालय सहयोगी अनिल चौधरीको नाममा धर्म संस्कृति सहायताको शीर्षकमा ६ लाख, कार्यालय सहयोगी सत्य नारायण प्रजापतिको नाममा धर्म, संस्कृति संरक्षण, प्रवर्द्धन तथा सामाजिक सहायता शीर्षकमा १ लाख, कार्यालय सहयोगी मनोज यादवको नाममा एकै दिनमा विपन्न नागरिक औषधि उपचार लगायत र विपन्न नागरिक औषधी उपचार / मृतक नागरिकको जिन्सी सहायता गरि १ लाख ५४ हजार २१७ रुपैयाँ, र १ लाख ४५ हजार ७८३ रुपैयाँ पेस्की म्याद नाघेको देखाइएको छ ।
कार्यालय सहयोगी नै रहेका श्याम बलि धवललाई २०८० कार्तिक २२ गते एकै दिन ३ वटा शीर्षकमा गाउँपालिकाले पेस्की प्रदान गरेको छ ।
धवललाई धर्म संस्कृति प्रवर्द्धन सहयोग कार्यक्रमको लागि ५० हजार रुपैयाँ, विपन्न नागरिक औषधि उपचार सहायतामा २ लाख ३० हजार र विपन्न नागरिक औषधि उपचार/मृतक नागरिकको जिन्सी सहायतामा २० हजार रुपैयाँ गरि ३ लाख पेस्की गएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । पेस्की लिएको व्यक्तिले पेस्की फर्छ्यौट नगरे सम्म थप पेस्की दिन नमिल्ने प्रावधान विरुद्ध धवललाई फेरी पनि कार्तिक २३ गते धर्म संस्कृति सहायता भनेर ५ लाख रुपैयाँ पेस्की प्रदान गरिएको छ ।
धर्म संस्कृति सहायता भनेर नै अर्का कर्मचारी शिव कुमार यादवलाई ५ लाख, अनिल कुमार यादवलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ । हैण्डपाईप जडान भनेर कार्यालय सहयोगी गंगा प्रसाद लोनियाले लिएको ६ लाख ५० हजार रुपैयाँ पनि अझै फर्छ्यौट भएको छैन भने महालेखाको प्रतिवेदनले अर्का कार्यालय सहयोगी पवन कुमार गौड कहारको पनि ५ लाख रुपैयाँ पेस्कीको म्याद नाघेको जनाएको छ ।
यस बाहेक स्थानीय तहतर्फ मातृ तथा नवशिशु कार्यक्रममा संगीता शर्माले ३ लाख, स्थानीय तहतर्फ मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षाको लागि मनिषा थापाको नाममा १ लाख ५० हजार, स्वास्थ्य सेवा सञ्चालन सबै वडा शीर्षकमा स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद कुर्मि चौधरीको नाममा ४ लाख र पूर्व वडा सचिव खगराज उपाध्यायको नाममा कार्यक्रम खर्च २ लाख ६३ हजार ८१४ रुपैयाँ गरि कुल ३४ लाखको पेस्कीको म्याद नाघेको महालेखाको प्रतिवेदनले औँल्याएको छ ।
सबैभन्दा चिन्ताजनक पक्ष के छ भने, यो पेस्की रकमको ठुलो हिस्सा गाउँपालिका अध्यक्ष यादव आफैँले आफ्नो स्वार्थअनुरूप परिचालन गरेको आरोप लागेको छ । पेस्की लिँदा कागजपत्रमा अरू कर्मचारी, विशेष गरी कार्यालय सहयोगी जस्ता साना पदमा कार्यरत व्यक्तिको नाम प्रयोग गरिए पनि खर्च भने अध्यक्षको निर्देशन वा मनोमानीमा हुने गरेको स्रोतको दाबी छ ।
पेस्कीको बाँकी रहेको रकमको सूची हेर्दा पनि गत वर्षको समेत गरी ठुलो रकम फर्छ्यौट हुन बाँकी रहेको स्पष्ट देखिन्छ । यसरी पेस्की लिने तर फर्छ्यौट नगर्ने प्रवृत्तिले रोहिणी गाउँपालिकामा “पेस्की आतङ्क” नै सिर्जना भएको छ ।
कतिपय तल्ला तहका कर्मचारीहरू अध्यक्षको पेस्की आतङ्कबाट यति त्रस्त छन् कि दशैं तिहार लगायतका पर्व नजिकिँदै जादा उनिहरू सम्पर्क विहिन भए बस्छन भने कतिपय त साना रकमको पेस्की लिई आर्थिक वर्षको अन्तिममा मात्र फर्छ्यौट गर्ने गरेका छन् ।
पेस्की रकमको यो बेथितिबाट गाउँपालिका अध्यक्षले सिधै फाइदा लिइरहेको तर त्यसको सम्पूर्ण बोझ भने कार्यालय सहयोगी जस्ता तल्लो तहका कर्मचारीले उठाउनु परेको अवस्था छ । पेस्की लिने बेलामा अध्यक्षको निर्देशनमा साना कर्मचारीको नाममा चेक काटिन्छ । चेक साटिने वित्तिकै सो रकम अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्तिले लिन्छन् र आफुखुसीले खर्च गर्छन् ।
खर्चको बिल भरपाई वा प्रमाण जुटाउन अध्यक्षले चासो दिँदैनन् । नियमअनुसार पेस्की फर्छ्यौट गर्ने दायित्व कर्मचारीको हुने हुँदा, बिल नहुँदा उनीहरूलाई आर्थिक दायित्व सरेर अन्यायमा पर्ने गरेका छन् ।
नाम नबताउने सर्तमा एक कर्मचारी भन्छन्, “हाम्रो नाममा लाखौँको पेस्की लिइन्छ, तर खर्च गर्ने अधिकार हामीलाई हुँदैन । अहिले फछ्र्यौटको दबाब आउँदा हामीलाई समस्या परेको छ । अध्यक्षले यस विषयमा कुनै चासो देखाएका छैनन् ।”
कर्मचारीहरूका अनुसार उनीहरूले यस अघिकै लेखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सबै समस्या सुनाउँदै फछ्र्यौटका लागि कागजात पेस गरेका थिए । तर तत्कालीन लेखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कागजात नमिलेको बताउँदै उक्त पेस्की फर्छ्यौट गर्न मानेनन् ।
रोहिणी गाउँपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले पेस्की फर्छ्यौट प्रक्रियामा गएको बताए । उनले भने “केही केही पेस्की फछ्र्याैट भएको छैन । केही केही प्रक्रियामा छन् । यो केही समयपछि अब विधि प्रक्रिया सम्पूर्ण पुरा भए भने फर्छ्योट हुन्छ ।” उनले ३ महिनामा वा चालु आर्थिक वर्षको अन्तिम सम्ममा फर्छ्यौट हुनुपर्ने नियम रहेको बताए ।
यदि समयमै पेस्की फर्छ्योट हुन सकेन भने, सम्बन्धित लेखा उत्तरदायी अधिकृत र लेखा अधिकृत ले कारण देखाएर अर्को वर्ष त्यसको दायित्व सार्न सक्ने व्यवस्था रहेको अघिल्लो अधिकारीहरूबाट त्यो नगरिएकोले पेस्की फछर्यौटमा कठिनाइ आएको जिकिर गरे । “अब यी प्रक्रियामा गएका छौँ केही समयमा पेस्की फर्छ्यौट होला,” उनले भने ।
यसले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५० मा पेस्कीको रकम तोकिएको म्यादभित्र फर्छ्यौट गर्ने प्रावधानको ठाडो उल्लङ्घन भएको छ ।
यसै गरि सोही नियमावलीको दफा ५१ मा पेस्की रकम असुल गरिनेबारे उल्लेख छ । “सरकारी रकम पेस्की लिने सरकारी कर्मचारी वा अन्य जुनसुकै व्यक्तिले यस नियमावलीमा तोकिएको स्वादभित्र पेस्की फर्स्योटको लागि आवश्यक कागजात पेस नगरेमा त्यस्तो पेस्की रकममा म्याद नाघेको मितिले वार्षिक दश प्रतिशतको दरले ब्याज समेत लगाई असुल गरिनेछ ।” भन्ने उक्त दफामा उल्लेख रहेको छ ।
गाउँपालिकामा कार्यरत कार्यालय सहयोगीहरू हैरानी बेहोरिरहेका छन् । थोरै तलबमा काम गरिरहेका उनीहरू एकै पटक धेरै रकम फर्छ्यौट गर्न नसकेपछि तनावमा रहेका छन् ।
रोहिणी गाउँपालिकाको यो पेस्की प्रकरणले गाउँपालिकाभित्रको आर्थिक सुशासन, पारदर्शिता र जबाफदेहिता माथि गम्भीर प्रश्न खडा गरेको छ । सार्वजनिक निकायमा जनताको करबाट उठेको रकमलाई यसरी गैर जिम्मेवार ढङ्गले प्रयोग गर्नु र कानुन विपरीत फर्छ्यौटमा उदासीनता देखाउनु दण्डनीय कार्य भएको सरोकारवालाको भनाइ छ ।
यस विषयमा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको भूमिका शङ्काको घेरामा परेको छ । आफू अनुकूल रकम खर्च गर्ने र फर्छ्यौटको जिम्मा साना कर्मचारीलाई बोकाउने प्रवृत्तिले गाउँपालिकामा भ्रष्टाचार मौलाएको सहजै अनुमान लगाउन सकिन्छ ।
गाउँपालिका अध्यक्ष विद्या यादवले पनि रकम आफूले प्रयोग गरेको स्वीकार गरेका छन् । गाउँघरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दा पेस्की लिइएको बताए । आफ्नै उपस्थितिमा ती कार्यक्रमहरूमा आर्थिक सहयोग दिएको पनि उनले जनाए ।
केही कर्मचारीहरूले कागजात बुझाइसकेका छन् र उनीहरूको फर्छ्योट हुने प्रक्रियामा रहेको यादवले बताए । “समयमै कागजातहरू नबुझाए पनि, अहिले लेखामा प्रमाणहरू बुझाइसकिएको छ । अब केही दिनमै ती पेस्कीहरूको फर्छ्योट हुनेछ,” यादवले भने ।
रोहिणी गाउँपालिकाले उपलब्ध गराएको जानकारी अनुसार पेस्की लिएका पवन कुमार गौडको ५ लाख रुपैयाँ यसै महिनामा फर्छ्यौट भएको छ भने अन्यको हकमा यो अझै “कागजात मिलाउने प्रक्रिया” मै रहेको छ ।
