Butwal Today

कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

नवलपरासी, २६ मङ्सिर । 

सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगर (पण्डितपुर) मा पुरातत्त्व विभागको टोलीले आफ्नो १ महिने उत्खनन कार्य सम्पन्न गरि फर्केको छ ।

उत्खननमा भेटिएको प्राचीन बस्तीका भग्नावशेषलाई खुल्ला नै राख्ने गरि स्थानीय प्रशासन तथा स्थानीय सरकारको आग्रहमा खुल्ला नै राखेर फर्केको हो । प्रमुख जिल्ला अधिकारी सहितको स्थानीय अधिकारीहरूसँग छलफल गरि भेटिएका भग्नावशेषलाई आउने पर्यटकले देख्ने गरि अवस्थामा राख्न सबैले निर्णय गरेका थिए ।

उक्त स्थान प्राप्ति गर्नका लागि अधिग्रहणका आवश्यक प्रक्रिया पुरा गरि अधिग्रहण गर्ने र घामपानीले जोगाउन नगरपालिकाले ट्रस हाल्ने सहमति अनुसार उत्खनन टोलीले फेला पारेको भग्नावेश खुल्ला छाडेर गएको पुरातत्त्व क्षेत्रका जानकार स्थानीय नारद यादवले बताए । विगत तिन दशकदेखि सो क्षेत्रमा भूभौतिक सर्वेक्षण,उत्खनन अन्वेशष गर्ने र पछि ती स्थानलाई पुनः पुरेर पुरात्व विभागका उत्खननकर्ता जाने गरेका थिए ।

यस पटक करिब ५ कट्ठा क्षेत्रफलमा फैलिएको इनार सहितको कुशाणकालिन बस्ती तथा भवनको भग्नावेश भेटिएको छ, उनले भने, स्थानीयले पनि पटक पटक उत्खनन गर्ने र पुर्ने कार्यले एक प्रचार हुने गरेको र प्रचार प्रसारले यो क्षेत्रमा पर्यटक, बौद्ध तीर्थयात्री,अनुसन्धानकर्ता आउने तर केही नभेटाएर फर्कने गरेका छन् ।

यो गुनासो सम्बोधन गर्नका लागि स्थानीय सरकार र स्थानीय प्रशासन मिलेर संरक्षण गर्ने गरि उक्त नम्बरी जग्गा खरिद वा अधिग्रहण गरेर भेटिएका भग्नावशेष खुल्ला नै राख्ने सहमतिको निर्णय समेत लिएर विभागको टोली फिर्ता गएको छ ।

जग्गा अधिग्रणपछि विभागको टोली पुनः संरक्षण कार्यका लागि प्राविधिक टोली आउने उनको भनाई थियो । पुरातत्त्व विद भास्कर ज्ञवालीको नेतृत्वमा कात्तिक २४ गते पुगेर २५ गते देखी उत्खनन कार्य सुरु गरेको थियो ।

उत्खननले भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्त्विक बस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको पुरातत्त्व अधिकृत ज्ञवालीले देखाएका थिए ।

मङ्सिर १ गते देखि त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्त्व विषयमा अध्ययन गर्ने र ब्यवहारिक तालिम लिन ३५ जना विद्यार्थीहरू समेत उत्खनन कार्यमा सहभागी भएका थिए । उनीहरू मङ्सिर १६ गते नै फर्केका थिए ।

रामग्राम नगरपालिकाले चाह्यो र लगानी गर्न तयार रह्यो भन्ने यो इनार सहितको पुरातात्त्विक पहिचानका क्षेत्रका स्थान सुरक्षा ब्यवस्थापन गरि खुल्ला राख्न सकिने पुरातात्त्विक ज्ञवालीले बताएका थिए ।

सोही अनुसार नै जिल्ला प्रशासन कार्यालय र नगरपालिका उक्त स्थान खुल्ला राख्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता अनुसार विभागले भेटिएको भग्नावशेष स्थल खुल्ला राखेर फर्केको बताउँदै यादवले भने, खुल्ला राखिने भए पछि आउने पर्यटकलाई अवलोकन गर्न सहज हुने देखिएको छ ।

विगत वर्षमा पनि पुरातत्त्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले विगत वर्षमा नै भूभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । सो स्थान कोलिय राजाहरूको राजधानी तथा बुद्धको जन्म दिइने महामायाको जन्म स्थल हो ।

भगवान् गौतम बुद्धको जन्म दिइने आमा महामाया,पालन गर्ने प्रजावती गौतमी,सिद्धार्थको बुद्धत्व (ज्ञान) प्राप्तिमा सहज सहयोग गर्ने उनकी पत्नी यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुँदा संसारका बौद्ध मार्गीका लागि एक महत्त्वपूर्ण स्थान हो ।

कोलिय गणराज्यको महत्त्व बौद्ध मार्गीका लागि ठुलो छ । कोलिय राजाहरूकै स्थापना गरिएको रामग्राम स्तूप अहिले संसारकै लागि एक मात्र मौलिक स्तूप रहेको छ ।  सो स्तूप अहिलेसम्म मौलिक रूपमा बचाई राख्नका लागि कोलियहरूको ठुलो योगदान हुनु पर्छ ।

तत्कालीन मगध सम्राट अशोकले अन्य ७ वटा स्तुपको उत्खनन गर्न सक्नु र कोलियले स्थापना गरेको रामग्राम स्तूप उत्खनन नगरि मौलिक रूपमा छाडि दिइनुको पनि कुनै आध्यात्मिक रहस्य नै भएको हुनु पर्छ । यस क्षेत्रको खोज हुँदै जाँदा अहिले चक्रीय प्रणालीमा प्राचीन सहर बसालिएको पुरातात्त्विक अनुसन्धान तथा भूभौतिक सर्वेक्षणले देखाएको छ ।

बुद्ध जन्मनु पूर्व कालका यहाँ भेटिएका समाग्रिको समय परीक्षण (कार्बन डेटिड्ड) ले देखाएको समेत पुरातत्त्व टोलीले जानकारी गराएको थियो । इसा पूर्व ६ सय पुराना प्राचीन बस्तुहरूले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ ।

राजधानी क्षेत्रका अन्तोनगर र बाह्रय नगर गरि विभिन्न बस्तीहरू ६० बिघा क्षेत्रफलमा फैलिएको अनुमान पुरात्व टोलीले गरेको छ । गणराज्यको सीमा उत्तरमा चुरे पहाड, पूर्वमा अनोमा (हालको गण्डकी) नदी, पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सीमासम्म फैलिएको थियो ।

यो गणराज्य भित्र विभिन्न १२ वटा नगर (निगम) हरू रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान् बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ । रोहिणी नदी पश्चिममा रहेको शाक्यहरूको कपिलवस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्ठरोग लागेको थियो । उनी पनि कुष्ठरोग निको पार्न यसै कोल वृक्षको बन क्षेत्रमा आएकी थिइन् ।

उनको पनि कुष्ठरोग निको भएको थियो । कोल वृक्षको जङ्गलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो ।

सो सम्बन्धले कोलिय र शाक्यहरू विच विहबारीको सम्बन्ध निरन्तरता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोदनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोदनको दोस्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिइन् ।

महामायाकै कोखबाट शुद्धोदनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात् एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्ड पानीको विवाह पनि शाक्य राजा शुद्धोदनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् ।

तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात् ज्ञानको खोजीमा सिद्धार्थले गृह त्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक् सम्बुद्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?