© 2026
नेपालगन्ज । बढैयाताल गाउँपालिका–९ टेसनपुरको सुकुम्वासी तथा मुक्त कमैया बस्ती अब नयाँ पहिचानतर्फ अघि बढ्न थालेको छ । वर्षौँदेखि अभाव र सङ्घर्षमा बाँचेका स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित यहाँ ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम सुरु गरिएको छ ।
कृषि उत्पादन, पोषण, वातावरण संरक्षण र जीवनस्तर सुधारलाई मुख्य आधार बनाएर दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यसहित खाद्य तथा कृषि सङ्गठन (एफ ए ओ) को समन्वयमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । मुक्त कमैया, मुक्त कम्लहरी तथा सुकुम्वासी परिवारको बसोबास रहेको ३० घरधुरीको टेसनपुरलाई नमुना गाउँका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेशमा यस्ता कार्यक्रम सुरु हुनु सकारात्मक पहल भएको बताए । उनले कृषि उत्पादन र वातावरण संरक्षणलाई एकसाथ जोड्ने अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । “विश्वभर अर्ग्यानिक उत्पादन र उपभोगबारे बहस भइरहेको बेला लुम्बिनीको एउटा गाउँलाई नमुना बनाउने प्रयास अत्यन्त प्रशंसनीय छ,” उनले भने ।
कार्यक्रममा बोल्दै नेपाल–भुटान समन्वय अधिकारी केन सिन्जुले वातावरणीय चुनौतीसँग जुध्दै गाउँलाई अर्ग्यानिक तथा पोषणयुक्त खाद्य उत्पादनतर्फ उन्मुख गराउने लक्ष्य रहेको बताए । उनले पराल जलाउने परम्परालाई निरुत्साहित गर्दै त्यही परालबाट च्याउ उत्पादन गर्ने सीप स्थानीयलाई सिकाइएको जानकारी दिए ।
च्याउ उत्पादनपछि बाँकी रहने परालबाट कम्पोष्ट मल बनाउने, पातबाट दुना–टपरी तयार गर्ने जस्ता वातावरणमैत्री गतिविधि पनि सञ्चालन भइरहेको उनले बताए । टेसनपुर नमुना कृषक समूहकी अध्यक्ष देवी घर्तीका अनुसार तालिमपछि स्थानीय महिलाहरूले एक लाख १० हजार रुपैयाँ बराबरको च्याउ उत्पादन गर्न सफल भएका छन् । “यो कार्यक्रमले आम्दानी मात्र होइन, वातावरण जोगाउने सोच पनि विकास गरेको छ,” उनले भनिन् ।
गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बढैयाताल गाउँपालिका शुद्ध तोरीको तेल, दुग्धजन्य पदार्थ र कृषि उत्पादनका कारण पहिचान बनाउँदै आएको उल्लेख गर्दै नयाँ परियोजनाले स्थानीयको जीवनस्तर अझ माथि उठाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अवसरमा कालिका साना सिकसान सहकारी संस्थालाई आधुनिक कृषि सामग्रीसहितको ‘कस्टम हाइरिङ सेन्टर’ स्थापना प्रमाणपत्र समेत प्रदान गरिएको थियो । नेपाल कृषि सहकारी सङ्घ का केन्द्रीय अध्यक्ष एकराज उप्रेतीले बर्दियाका पाँच सहकारी संस्था एफएओ नेपालसँग साझेदारीमा जोडिएको जानकारी दिए ।
उनले कृषिजन्य, दुग्धजन्य तथा मासुजन्य उत्पादनका लागि उपलब्ध ऋणको ब्याजदर लुम्बिनी प्रदेशमा ७ प्रतिशत रहेको उल्लेख गर्दै बागमती प्रदेशसरह ६ प्रतिशत ब्याजदर लागू गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

