Butwal Today

तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २६ मंसिर ।

जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ ।

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको विवाद उनले सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफमा स्वीकारेका थिए । उनले सो निर्देशनलाई उच्च पदस्थ पदाधिकारीहरूसँगको राजनीतिक समन्वयमा गरिएको बताएका थिए ।

काठमाडौंका सिडिओ हुनुअघि रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख थिए । तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा प्रशासन महाशाखा प्रमुख रहँदै उनले कर्मचारीहरूलाई अध्यागमन तथा अन्य आकर्षक कार्यालयहरूमा सरुवा–बदली गर्ने क्रममा पेशागत आचरण विपरीत कार्य गरेको आरोप उठेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पठाएको विवरण अनुसार, गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुखका रूपमा रिजालमाथि भ्रष्टाचारसम्बन्धी गतिविधिमा संलग्न भएको आशंकामा अनुसन्धान जारी छ ।

सो विवरणमा गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको अस्वाभाविक मिलेमतो र डायरीबाट पुष्टि भएका दाबी गरिएको सेटिङलगायतका गतिविधिमा संलग्न व्यक्तिहरूको नाम उल्लेख गरिएको छ ।

रिजाललाई हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?