© २०२३
भैरहवा, २४ मङ्सिर ।
स्वास्थ्य बिमा कार्यक्रम, जसको उद्देश्य नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु थियो, त्यही कार्यक्रम भैरहवास्थित भीम अस्पतालमा भने बिरामीका लागि सास्ती बनेको छ ।
सरकारले लाखौँ नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन ल्याएको यो सुविधा अस्पतालको व्यवस्थापकीय कमजोरी र झन्झटिलो प्रक्रियाका कारण बोझ बन्दै गएको गुनासो बिरामीहरूले गरेका छन् ।
अस्पतालमा स्वास्थ्य बिमा प्रयोग गरी उपचार गराउन आउने बिरामीका लागि सबैभन्दा ठुलो समस्या हो, लामो लाइन र पालो कुर्नुपर्ने बाध्यता ।
घन्टौँ लाइनमा बस्नुपर्दा पालो आउनुअघि नै बिरामीहरू थकित हुने र अझ बढी अस्वस्थ महसुस गर्ने गरेका छन् । भैरहवाकी राम कुमारी विश्वकर्माले भनिन् “बिहानैदेखि लाइनमा बसेको, दिउँसोसम्म पालो आएको छैन । सामान्य उपचारका लागि पनि यति धेरै समय कुर्नुपर्छ भने यो सुविधा कसरी भयो ? बरु घरमै बसेको भए यति सास्ती त भोग्नु पर्दैनथ्यो ।”
स्वास्थ्य बिमाको महत्त्वपूर्ण पक्ष हो, तोकिएको औषधि निःशुल्क उपलब्ध हुनु । तर, भीम अस्पतालमा भने चिकित्सकले सिफारिस गरेका कतिपय अत्यावश्यक औषधिहरू बिमा कार्यक्रमअन्तर्गत उपलब्ध नहुने गरेको बिरामीको गुनासो छ ।
अस्पतालको फार्मेसीमा औषधि नभएको भन्दै बिरामीलाई बाहिरका महँगा फार्मेसीबाट खरिद गर्न लगाइन्छ । बिरामी कमला नेपालका अनुसार अलि महँगा औषधिहरू बाहिरबाट नै खरिद गरेर ल्याउनुपर्ने बाध्यता रहेको छ । “ल्याबको लागि पनि पैसा, औषधिको लागि पनि पैसा तिर्नु परेपछि स्वास्थ्य बिमा गराएको के फाइदा ?” उनले प्रश्न गरिन “बिमा कार्ड देखाउँदा पनि काम लागेन ।
डाक्टरले लेखेको औषधि पाउन बाहिर गएर किन्नु प¥यो । बिमाले के नै सुविधा दियो त?” बिमा गरे पनि औषधिको ठुलो रकम आफैँले व्यहोर्नुपर्दा आर्थिक अवस्था कमजोर भएको उनको भनाई छ । बिमा सेवा लिनका लागि आवश्यक पर्ने कागजी प्रक्रिया र त्यसलाई पूरा गर्न लाग्ने समय पनि बिरामीका लागि अर्को ठुलो झन्झट बनेको छ ।
सामान्य सेवा लिनका लागि पनि धेरै काउन्टर चहार्नु पर्ने र हरेक चरणमा लामो समय बिताउनु पर्ने अवस्था रहेको छ । कतिपय बिरामीले सेवाग्राहीको भीड व्यवस्थापन गर्ने क्रममा कर्मचारीको बोलीचाली र व्यवहार रुखो हुने गरेको गुनासो पनि गरेका छन् ।
भीम अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको ५३ हजार ४ सय ५१ जनाले स्वास्थ्य बिमा सेवा लिएका थिए । चालु आर्थिक वर्षको साउन महिनामा ५ हजार ५०३ जना, भदौमा करिब ५ हजार ५ सय, असोजमा ४ हजार ८८३ जना र कार्तिकमा ४ हजार २७६ जनाले स्वास्थ्य बिमा सेवा लिएका छन् ।
पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय रूपैया तिरेर १ लाख सम्मको उपचार सुविधा पाउँछन् । तर मुटु रोग, क्यान्सरजस्ता जटिल र दीर्घ रोगको उपचारका लागि यो रकम अत्यन्तै अपुग हुन्छ । कतिपय अवस्थामा रोग पत्ता लगाउन गरिने परीक्षणमै रकम सकिन्छ । गरिब तथा कमजोर आर्थिक अवस्था भएका नागरिकले आफ्नै खल्तीबाट थप रकम जोड्न नसक्दा उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।
भिम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनन्त प्रसाद शर्माले अस्पतालको सेवा प्रति विपन्न मात्र नभई हुने खाने वर्गको विश्वास पनि बढ्दै गएको दाबी छ । यसको कारण अस्पतालमा चाप बढ्न गई व्यवस्थापनमा अलि असहज भएको शर्माको भनाइ छ । उनले भने “अस्पतालमा स्वास्थ्य बिमाको सेवा व्यवस्थापन गर्ने र बिरामीको चाप धान्ने पर्याप्त जनशक्ति छैन ।
सीमित जनशक्तिका कारण लाइन लामो हुने गरेको सत्य हो, यसलाई सुधार्ने प्रयास भइरहेको छ ।” औषधि अभाव हुनुमा प्रमुख कारण स्वास्थ्य बिमा बोर्डबाट अस्पताललाई समयमै भुक्तानी नआउनु रहेको शर्माको भनाई छ । “हामीले बिरामीलाई सेवा दिए पनि बोर्डबाट शोधभर्ना पाउन ढिलाइ हुँदा फार्मेसीका लागि आवश्यक औषधि खरिद गर्न आर्थिक समस्या आउँछ ।
यसले गर्दा कतिपय औषधि स्टक गर्न गाह्रो भएको छ ।” शर्माले भने “तर अब छिट्टै औषधी खरिदको लागि टेन्डर आव्हान गर्दैछौं, अनि यो गुनासो पनि सम्बोधन हुनेछ ।” गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने पवित्र उद्देश्यका साथ सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम भीम अस्पतालमा अहिले व्यवस्थापकीय कमजोरीको सिकार बनेको छ ।
लामो लाइन, औषधिको अभाव र झन्झटिलो प्रक्रियाले गर्दा बीमितहरूले सुविधाभन्दा सास्ती बढी भोगेको महसुस गरेका छन् ।