© 2026
समाचार सारांशमा
गुल्मीमा देशकै नमुना तीन मुखे पुल निर्माणको कार्य सम्पन्न भए पनि हस्तान्तरण भने अझै हुन सकेको छैन ।
निर्माण कार्यको लागत रु. ९ करोड ८८ लाख २६ हजार ३३२ थियो ।
निर्माण जिम्मा नयाँ बाटो, रुबिना, मना जेभीले पाएका थिए ।
गुल्मी २१ मङ्सिर ।
गुल्मीमा देशकै नमुना तीन मुखे पुल निर्माणको कार्य सम्पन्न भए पनि हस्तान्तरण भने अझै हुन सकेको छैन । २०७१ साल मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमुना तीन मुखे पुलको निर्माण कार्य तीन वर्ष पहिले सम्पन्न भएको हो ।
अहिले उक्त पुल सञ्चालनमा रहेको भए पनि सम्बन्धित कार्यालयलाई हस्तान्तरण भने भएको छैन । गुल्मी, स्याङ्जा, र पाल्पाको सङ्गम स्थल रिडी क्षेत्रको काली गण्डकीमा तीन जिल्लालाई जोडने गरी देशकै नमुना झोलुङ्गे पुल निर्माणको जिम्मा नयाँ बाटो, रुबिना, मना जेबीले पाएको थियो ।
२०७१ साल असार १० गते तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी ९ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो, रुबिना, मना जेबी र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन पुलचोकबिच सम्झौता भएको थियो ।
तीन पटक सम्म म्याद थप गरी कार्य सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रेमनारायण बस्यालका अनुसार निर्माण व्यवसायीहरूको आन्तरिक विवाद र कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका कारण हस्तान्तरण हुन नसकेको बताएका छन् ।
उनीहरूको आन्तरिक विवाद समाधान नभएसम्मका लागि हस्तान्तरणको प्रक्रिया रोकिएको उनको भनाइ छ । कार्यालयको तर्फबाट करिब ४० प्रतिशत रकम पनि भुक्तान हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
तीन वर्ष पहिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने योजना भएकोमा निर्वाचन आचार संहिताका कारण उक्त कार्य रोकिएको थियो ।
देशकै नमुना तीन मुखे पुललाई दीर्घकालीन रूपमा सञ्चालन गर्नका लागि तीन वटै स्थानीय तहको समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ । तीन जिल्लाका तीन वटै स्थानीय तहहरूसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गर्ने गरी आफूहरू लागेको कार्यालयले जनाएको छ ।
पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका एक रिडी ,स्याङ्जाको काली गण्डकी एक कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली जोडेको छ । काली गण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७.४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दुरीमा रहेको छ । पुलको मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न बराबर दुरी रहेको छ ।
उक्त पुल अवलोकनका लागि देशका विभिन्न स्थानहरूबाट यहाँ आउने गरेको स्थानीय चुडामणी तिमिल्सिनाले बताएका छन् । विशेष गरी नयाँ वर्ष,असारे ठुला एकादशी, हरिबोधनी एकादशी र मकरसंक्रान्तीको समयमा पुल अवलोकन र भिडियो बनाउनेहरूको घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।
तत्कालीन नेपाल सरकारका मुख्य सचिव लीलामणी पौडेल र गुल्मी क्षेत्र नम्बर दुईका सांसद चन्द्र भण्डारीले उक्त पुलको शिलान्यास गरेका थिए ।