© २०२३
भैरहवा, २१ मङ्सिर ।
जिल्लाको मर्चवार क्षेत्रमा आँखाका बिरामीहरूको संख्या भयावह देखिएको छ । मझगावाकी साथिया खातुनको आँखामा मोतिया बिन्दु छ ।
शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आयोजना गरेको शिविरमा लुम्बिनी नेत्रालयका डाक्टर दिपेन्द्र यादवले उनलाई तत्काल शल्यक्रियाको सुझाव दिए । मोतिया बिन्दुको उपचार गाउँका विपन्नका लागि १० देखि १५ हजार रुपैयाँको ठुलो खर्च हो, तर रोटरी क्लबले त्यो समस्या हल गरिदिएको थियो, उपचार निःशुल्क थियो ।
तर, आँखाभरि आँसु लिएर साथियाले शल्यक्रिया गर्न मानिनन् । “श्रीमान् भए यस्तो समस्या भोग्नु पर्दैन्थ्यो, तर अहिले घरमा कसैले टेर्दैनन्,“साथियाले गुनासो गरिन् ।
उनको समस्या मोतिया बिन्दुको रोग मात्र थिएन, न त पैसाको अभाव नै ।
उनको वास्तविक समस्या थियो शल्यक्रियापछिको हेरचाह र स्याहार दिने कोही नहुनुको एक्लोपन । यो मर्मस्पर्शी घटनाले देखाउँछ कि स्वास्थ्य सेवामा पहुँच पु¥याउनु मात्र पर्याप्त छैन; विशेष गरी एकल र वृद्धहरूका लागि उपचारपछिको सामाजिक तथा भावनात्मक साथ पनि उत्तिकै महत्त्वपूर्ण छ ।
साथियाको समस्या त एउटा प्रतिनिधिमूलक घटना मात्र हो । आँखाकै भयावह समस्या लिएर बाचिरहेका यस्ता धेरै बिरामीहरू मर्चवारमा रहेको भेटियो । डाक्टर दिपेन्द्र यादवका अनुसार मर्चवार क्षेत्रमा स्वास्थ्य समस्याको विकराल रूप देखिएको छ ।
शिविरमा आएकामध्ये ९० प्रतिशतभन्दा बढी बिरामीहरूमा मोतिया बिन्दु र केहीमा टेरिजियम (मासु पलाउने) को समस्या पाइएको छ । शिविरमा ६ सय जना भन्दा बढीले आँखा जाँच गराएका छन् । जसमा अधिकांशमा मोतिया विन्दुको समस्या देखिएको छ ।
सदरमुकाम भैरहवामै लुम्बिनी रण अम्बिका आँखा अस्पताल, लुम्बिनी नेत्रालय लयागत आधा दर्जन बढी सुविधा सम्पन्न र विश्व विख्यात समेत रहेका आँखा अस्पतालहरू छन् । जहाँ बर्सेनि हजारौँ बिरामीहरूले उपचार पाइरहेका छन् ।
तर सदरमुकाम नजिकै रहेको मर्चवारमा यत्रो मोतिया विन्दुको समस्या हुँदा पनि सरोकारवालहरूको निगाह पुग्न सकेको छैन । यसमा डाक्टर दिपेन्द्र यादव मोतिया बिन्दुको उपचार खर्च १०–१५ हजार पर्ने र गाउँलेका लागि ठुलो रकम हुने हुँदा उनीहरू निःशुल्क शिविरको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
यस सँगै दुर्गम क्षेत्र र खराब सडकका कारण गाउँका मानिसहरू मुख्य स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्नु पनि एउटा कारण रहेको उनको भनाई छ । डाक्टर यादवले मोतिया बिन्दु ५० देखि ६० वर्ष उमेर समूहमा बढी देखिएको र ५५ वर्षभन्दा माथिका बिरामीहरूलाई शल्यक्रिया अनिवार्य रहेको बताए ।
महिलाहरूमा भने यो समस्या अलि बढी देखिएको छ, जसको कारण उनीहरू सङ्कोच वा परम्परागत चलनका कारण घर नजिकैको शिविरमा मात्र आउनु हुन सक्ने रहेको उनको अनुमान छ ।
यस क्षेत्रमा मोतिया बिन्दुका बिरामी धेरै हुनुको मुख्य कारण उचित स्क्रिनिङको कमी पनि रहेको डाक्टर यादवको भनाई छ । “यो समस्या कम गर्न माथिल्लो तहबाट उचित स्क्रिनिङ हुनुपर्छ । सुरुमा चस्माले काम गर्न सक्ने भए पनि यसको स्थायी उपचार भनेको लेन्स प्रत्यारोपण गरी मोतिया बिन्दुलाई निको पार्नु नै हो ।”
लुम्बिनी नेत्रालयकै अर्का डाक्टर हिरा शाहका अनुसार लुम्बिनी प्रदेशमै मात्र ३० हजार बढी बिरामीहरूमा मोतिया विन्दुको समस्या देखिएको छ । अझ प्रदेशमा पनि रुपन्देही जिल्लाको लुम्बिनी र मर्चवार आसपासका क्षेत्रमा यो समस्या अझै भयावह देखिएका उनको भनाई छ ।
उमेर बढ्दै जाँदा यो समस्या देखिने भएकोले मोतिया विन्दुलाई निर्मूल पार्न गाह्रो भए पनि सचेतना र परीक्षण मार्फत यसको न्यूनीकरण भने गर्न सकिने शाहको दाबी छ ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले आफ्नो क्लबले १० औँ स्थापना दिवसको अवसर पारेर यो कार्यक्रम गरेको बताए ।
उनले आफू अध्यक्ष भएपछि नै यस क्षेत्रमा २५० जनाको मोतिया बिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको बताए । मर्चवार क्षेत्रलाई बजार नजिकै भएर पनि सुविधा नपुगेको विकट ठाउँ भएकाले छनोट गरिएको उनको भनाइ छ ।
तर, अहिलेको कार्यक्रम हेर्दा एउटै क्षेत्रबाट नै २५० जनाभन्दा बढी मानिस मोतिया बिन्दुको समस्याबाट पीडित देखिएका छन्, जसले समस्याको भयावहतालाई स्पष्ट पारेको उनले बताए । अध्यक्ष शर्माले यस समस्याको विकरालतालाई जोड दिँदै नेपाल सरकारको पनि तत्काल ध्यान जान आवश्यक रहेको बताए ।
रोटरी क्लबले पहिले पोलियो उन्मूलनलाई प्राथमिकता दिएकोमा अब मोतिया बिन्दु निवारण/न्यूनीकरणलाई लक्षित गरेको उनले बताए । आफूलाई समाजसेवीको रूपमा चिनाउने राम गणेश पालले यस शिविरको अत्यन्तै महत्त्व रहेको भन्दै भने “शिविरमा धेरै मानिसको उपचार गर्नु भनेको उनीहरूलाई नयाँ जीवन दिनु हो ।
मोतिया बिन्दुले पीडित र आर्थिक रूपमा कमजोर मानिसहरूका लागि यहाँ निःशुल्क सेवा उपलब्ध भएकाले धेरैले उपचार गराउने अवसर पाएका छन् । पहिले अज्ञानता वा टाढाको कारण उपचारबाट वञ्चित भएकाहरूलाई यो शिविरले ठुलो सहयोग पु¥याएको छ ।”
यो शिविरले दुर्गम र आर्थिक रूपमा विपन्न समुदायमा मोतिया बिन्दुको उच्च दरलाई उजागर गरेको छ, जसको समाधानका लागि सरकारी प्रयास, उचित स्क्रिनिङ, र रोटरी जस्ता सामाजिक संस्थाहरूको सहयोग अनिवार्य देखिन्छ ।
मर्चवारको यो कथाले हामीलाई सम्झाउँछ कि केवल औषधि वा उपकरणले मात्र स्वास्थ्य समस्याको समाधान हुँदैन । जबसम्म साथिया खातुन जस्ता र विपन्न तथा एक्ला मानिसहरूलाई उपचारपछिको सहारा र स्याहार पुग्दैन, तबसम्म उनीहरूको आँखामा खुसीको ज्योति फर्कन मुस्किल हुनेछ ।