© २०२३
गुल्मी, २१ मङ्सिर ।
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार गत वर्ष गुल्मीमा २५ करोड ७८ लाख ६९ हजार पाँच सय रुपियाँको सुन्तला उत्पादन भएकोमा यस वर्ष २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएको छ ।
न्यौपानेका अनुसार अनुसार यस वर्ष ३२ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको हो । जिल्लामा ६०३ हेक्टर क्षेत्रफलमा लगाइएका सुन्तलाका बिरुवाले पाँच हजार १७ मेट्रिक टन उत्पादन दिएका छन् भने प्रतिकिलो सुन्तलाको मूल्य सरदर ४० रुपियाँ कायम गरिएको छ ।
यस वर्ष सुन्तला उत्पादनमा कमी आउनुको कारण फूल तथा फल लाग्ने समयमा बेमौसमी वर्षा हुनु, फल झर्ने समस्या, कृषकहरूले बगैँचा व्यवस्थापनमा ध्यान नदिनु, रोग कीराको प्रकोप, जीर्ण बगैँचा र गाउँघरमा बगैँचा व्यवस्थापन गर्न र काँटछाँट गर्नका लागि जनशक्तिको अभाव पनि रहेको उनको भनाइ छ ।
जिल्लामा उत्पादित सुन्तला केही जिल्लामै खपत हुने गरेको छ भने अन्य बुटवल,नारायण र पोखरा निर्यात हुने गरेको छ । जिल्लाका नयाँ गाउँ, पिपलधारा, लुम्छा, भाडगाँउ, बिरबास, राजा, बलेटक्सार र लम्सराङमा बढी सुन्तला उत्पादन हुने गरेका छन् ।
जिल्लामा गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापनमा सुधार गर्ने, बिरुवाहरूको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतिमा कलमी बिरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने कार्य गरिएको कार्यालयले जनाएको छ ।
यस्तै प्रभावकारी रूपमा रोग कीराको व्यवस्थापन गर्ने, उत्पादन क्षेत्र थप निर्माण गर्दै जाने, फल टिपाई, ग्रेडिङ,भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सुधार गर्दै लाने गरी आफूहरूले योजना बनाएको कार्यालयले जनाएको छ ।
यसका साथै स्थानीय तहका कृषि प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्ने कार्य तय गरेको न्यौपानेले बताए ।