© २०२३
गुल्मी, १४ मंसिर ।
गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी साधन वर्षौदेखि प्रयोगविहीन अवस्थामा थन्किदै जाँदा पनि जिम्मेवार निकाय मौन देखिएका छन् । यिनको संरक्षण, नविकरण वा उचित व्यवस्थापनबारे पटक–पटक पहल गर्ने कुरा मात्रै दोहोरिए पनि ठोस काम भने अहिलेसम्म भएको छैन ।
जिल्ला समन्वय समिति (जसस) गुल्मीको परिसरमा चारवटा ल्यान्डरोभर गाडी वर्षौदेखि नचलाइ थन्किएका छन् । गाडीहरूमध्ये बा १ झ ६६८० र बा १ झ ६६८१ मात्र कार्यालयको अभिलेखमा दर्ता छन्, तर यी दुवैको पनि लामो समयदेखि नविकरण रोकिएको पाइएको छ ।
बाँकी दुईमध्ये एक गाडीको नम्बरे प्लेट नभएको र अर्कोको अवस्था बुझ्नै नसकिने गरी बिग्रिएको समितिका कर्मचारीहरू बताउँछन् ।
जिल्ला दुरसञ्चार कार्यालयको भवन अगाडि वर्षौँदेखि डोजरको भग्नावशेष छ, जसको स्वामित्वबारे अहिलेसम्म कोही पनि दाबी गर्न आएको छैन । कार्यालयका कर्मचारीहरूलाई ‘निल्नु न उकेल्नु’ बनेको यो डोजर दुरसञ्चार कार्यालय स्थापना हुँदैदेखि उही रूपमा थन्किएको हो ।
२०७८ वैशाखमा जिल्लामा रहेका प्रयोगविहीन सवारी साधनको अवस्था बुझ्न तत्कालीन शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो ।
समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदनले चार गाडी र ३८ मोटरसाइकल उपयोगविहीन रहेको पुष्टि गरेको थियो । तर प्रतिवेदन बुझाएको वर्षौँ बित्दासमेत त्यसको आधारमा कुनै व्यावहारिक कार्यान्वयन नभएको देखिन्छ ।
गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लामा थन्किएका धेरैजसो सवारी वाग्मती प्रदेशअन्तर्गत दर्ता भएका हुन् ।
उनले भने, “प्रदेशले नै नीति बनाएर व्यवस्थापन गर्नुपर्छ । जिल्लाबाट तत्काल केही पहल गर्न सकिने अवस्था छैन ।”
जसस गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले कार्यालय परिसरमा रहेको सवारीसाधनको नविकरण र मर्मत सम्भारका लागि आर्थिक स्रोत अभाव प्रमुख चुनौती भएको बताए ।
उनका अनुसार, “यी गाडी धेरै वर्षदेखि नविकरणविहीन छन्। स्थानीय तह वा जिल्ला स्तरबाट व्यवस्थापन सम्भव छैन । संघीय सरकारले विशेष व्यवस्था गरेर मात्रै समाधान दिन सक्छ ।”
समयमै मर्मत तथा पुनःप्रयोगका उपाय अगाडि सार्न नसक्दा राज्यका लाखौँ–करोडौँ बराबरका सवारी साधन क्षेत्रमा नै क्षतिग्रस्त हुँदै नष्ट भएका छन् ।
तर, सम्बन्धितत निकायको बेवास्ता र ढिलासुस्तीका कारण यसका लागि जिम्मेवार को ? भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।