© २०२३
भैरहवा, ०२ मङ्सिर ।
नेपालमा रोकिएको सडक उपभोग दस्तुर सङ्कलन रुपन्देही जिल्लाबाट पुनः सुरु भएको छ ।
सडक बोर्ड नेपालले रुपन्देहीको भैरहवा–भुमही सडक खण्ड मा स्थापना भएको सङ्कलन केन्द्रबाट सोमबारदेखि दस्तुर सङ्कलन पुनः सुरु गरेको हो ।
यस अघि ठेक्का लगाएर दस्तुर सङ्कलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर सङ्कलन गरिरहेको छ । सडक बोर्ड ऐन, २०५८ को दफा ६’ र ’४’ को अधीनमा रही “सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१” बमोजिम दस्तुर सङ्कलन गरिएको बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले जानकारी दिए ।
उनले अहिले भैरहवा–भूमही सडक खण्डमा सुरु गरिए पनि अबको केही दिनमै अन्य ३ स्थानबाट पनि दस्तुर सङ्कलनको काम सुरु गरिने बताए । “२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद्कै निर्णय अनुसार टोल ट्याक्स उठाउने निर्णय भएको थियो, टोल ट्याक्स पनि डिजिटाईलज माध्यमबाट उठाउने कुरा हो ।
सोही अनुसार भैरहवाबाट यसको सुरुवात गरेका छौँ ।” केसीले भने “यो सडक खण्ड छोटो रहेको र भन्सार विन्दु पनि रहेको हुँदा यहीँबाट सुरु गर्ने निर्णयमा पुगेका हौं ।”
उनले भैरहवा भन्सारबाट निस्केका ओभर लोड गाडीहरूले सडक बिग्रेको कारण त्यसको अनुगमन पनि गर्ने र सो गाडीहरूले बिगारेको बाटो यहीँबाट उठेको करबाट मर्मत गरिने बताए ।
उनले भैरहवाबाट सुरु गरेको सडक दस्तुर सङ्कलन अब वीरगन्ज–पथलैया, धरान विराटनगर र नारायणगढ–मुग्लिङ्ग बाटोमा पनि सुरु गरिने बताए । यससंगै नाग ढुङ्गा सडक खण्डमा पनि सवारी साधनबाट “रिड” गर्न मिल्ने “आरएफआईडी” प्रविधि जडान गरी दस्तुर सङ्कलन गरिने उनले बताए ।
सङ्कलित रकमको कम्तीमा दुई तिहाइ (२÷३) रकम सोही सडक खण्डको मर्मत सम्भारको लागि उपयोग गरिने कार्यकारी निर्देशक गणेश बहादुर केसीले बताए ।
दस्तुर सङ्कलनलाई व्यवस्थित गर्न बैङ्किङ प्रणालीको विद्युतीय माध्यम बाट गरिएको र भुक्तानी नगदको साथै क्युआर कोडबाट पनि गर्न मिल्ने उनले जानकारी दिए