Butwal Today

कालीगण्डकी नदिमा पुल निर्माण : पाँच वर्षमा चालिस प्रतिशत मात्रै काम

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

गुल्मी, २० कार्तिक ।

पाँच वर्षमा सक्नुपर्ने पुलको काम पाँच वर्ष बित्नै लाग्दा  पनि ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर दुई अर्वेनी गुल्मी र स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर पाँच सेतिवेनी जोड्नेगरि कालीगण्डकी नदिमा मोटरेवल पुलको निर्माणमा ढिलाइ भएको हो ।

२०७८ साल असार ३१ गते सडक विभाग, पुल महाशाखा काठमाडौँ र रायमाझी राजेश्वरी जेभी गुल्मीबिच २०८३ भदौ १८ गते सम्पन्न गर्ने गरी  ११ करोड ८६ लाख ४५ हजार ९७० रुपियाँमा सम्झौता भएको थियो ।

सम्पन्न गर्ने मिति नजिकिँदै गर्दा पनि कामले तीव्रता पाउन सकेको छैन । तोकिएको समयमा काम सम्पन्न गर्न सक्ने अवस्था भने नरहेको निर्माण व्यवसायीका प्रतिनिधि भिषण गिरीले बताएका छन् । कालीगण्डकी नदिमा वर्षायाममा पानीको बहाव बढ्ने र हिउँद लागेसँगै कालीगण्डकी जलविद्युत परियोजनाले ड्याम थुनेर विद्युत् उत्पादन गर्ने भएकाले पनि वर्षमा मुस्किलले चार महिना मात्रै काम गर्न सक्ने अवस्था रहेकाले कामले तीव्रता पाउन नसकेको उनको भनाइ छ । सुरुको दुई वर्ष पुलको डिजाइनमै समय लागेको र पछिल्लो समय मात्रै काम गर्न पाएको गिरीले बताए ।

समयमै पुल निर्माण नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेरै बाइकको यात्रा गर्न बाध्य भएको कालीगण्डकी १ हर्मिचौरका तीलक रानाले गुनासो गरेका छन् । समयमै पुल निर्माणको काम सकिएमा वारी गाडी राखेर पारी शिला शालीग्रामको दर्शन गर्नका लागि जानुपर्ने अवस्थाको अन्त्य हुने शिला शालीग्रामको दर्शन गर्नका लागि जानेहरूले बताएका छन् ।

निर्माण व्यवसायी भागवत गिरीका अनुसार विगतका वर्षहरूमा समयमै भुक्तानी नपाएका कारण कामले तीव्रता नपाएको बताएका छन् । यस वर्ष उक्त पुल निर्माणमा थप बजेटको व्यवस्था भएकाले कामले तीव्रता पाउने बताए । तोकिएकै समय अवधिमा काम सक्न भने नसकिने उनको भनाइ छ ।

उक्त पुलको लम्बाई एक सय मिटर र चौडाइ भने फुटपाथसहित ११ मिटरको रहने छ ।  उक्त पुल निर्माण पश्चात् गुल्मी,स्याङजा र पर्वतबिचको सम्बन्धलाई थप नजिक बनाउने विश्वास यहाँका स्थानीयहरूले लिएका छन् ।